Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

लम्की स्किनले २७ हजारबढी पशुचौपाय मरे, गाउँमा किसान रुदैं, सरकारी संयन्त्रको ध्यान अन्तै


काठमाडौं । यतिबेला लम्पी स्किन रोगका कारण किसान निक्कै पीडित छन् । समयमै सरकारी निकायले चासो नदिदा लम्पी स्किन रोग नेपालका ७७ जिल्लामै पुगेको छ । दुख सुख गर्दै हुर्काएका पशुचौपायमाथि रोगले आक्रमण गरेपछि किसान सरकारसँग हारगुहार गरिरहेका छन् । तर, राज्यका निकाय भने रोग फैलिएको महिनौ बित्दा समेत कानमा तेल हालेर बसेका छन् भन्दा फरक पर्दैन । एकातिर बर्षभर खानका लागि धान रोप्ने चटारोमा रहेका किसानलाई अर्कोतिर पशु चौपायमा लाग्ने रोग लम्पी स्किनले निक्कै तनाव दिएको छ ।

सरकारी बेवास्ताका कारण समयमै रोग नियन्त्रण हुन नसक्दा ७७ जिल्लामै फैलिएको छ । धान रोप्ने समयमा गोरुलाई संक्रमण हुँदा रोपाई समेत प्रभावित बनेको छ । मनसुनको प्रभावमा ढिलो रोपाई भनिएपनि अधिकांश जिल्लामा लम्पी स्किनका कारण गोरुहरु संक्रमित हुँदा अहिलेसम्म ५३ प्रतिशत मात्रै रोपाई सकिएको छ । लम्पी स्किन रोग क्याप्रिपक्स नामक भाइरसको सङ्क्रमणका कारणले गाईभैँसीमा लाग्ने रोग हो । यो रोगको कारण पशुको दुध र मासुको उत्पादन घट्ने, तुहिने तथा मृत्युसमेत हुने भएकाले यो रोगले पशुपालनसँग अन्तर्निहित ग्रामीण अर्थतन्त्र धराशायी बनाउने सम्भावना छ ।

यो चार महिनाको तथ्याङक हेर्ने हो भने संकलित डाटा मात्रै ८ लाख पशु चौपायहरु संक्रमित भएका छन् भने २७ हजार बढीको मृत्यु भएको छ । कतिपय किसानले त रोगबारे जानकारी नै नपाउँदा पशुचौपाय मरिरहेका छन् । किसानको दुख र पीडाको बोलीले महिनौसम्म संसदमा स्थान पाएन । कहिले राजीनामा माग्दै संसद अवरुद्ध त कहिले राजनितिक बिषयले नै आरोप–प्रत्यारोपमा समय बित्यो । गरिव र निमुखा जनताको आवाज सरकारको कानमा नपर्दा धेरै पशुपालन गरिरहेका किसान मर्कामा परेका छन् ।

शुक्रबार बल्ल–तल्ल लम्पी स्किन रागेबारे संसदमा दरो आवाज उठ्यो । सांसदहरुले प्राथमिकताका साथ सभामुख मार्फत सरकारलाई घच्घच्याएपछि सभामुख देवराज घिमिरेले पनि सम्बन्धि मन्त्रीको ध्यानाकर्षण गराएका छन् । आगामी बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाललाई रोगथामका लागि सरकारले गरेका कामबारे संसदमा जानकारी गराउन रुलिङ नै गरेका छन् ।

गत बर्ष कोशी प्रदेशका १३ वटा पशु मरेकोमा पछिल्लो समय यसको प्रभाव देशभरि नै फैलिएर ८लाखभन्दा बढी सङ्क्रमित भएको तथ्याङक छ । नेपाल पशु चिकित्सा परिषद्ले नेपाल सरकारलाई दिइएको परामर्शमा नेपालमा लम्पी स्किन रोगका कारण २७ अर्ब २२ करोड ५० लाख बराबरको आर्थिक क्षति भएको तथ्याङक छ । समयमै सरकारले नियन्त्रण गर्न नसके करिब २५ लाख २६ हजार पशुमा यसको सङ्क्रमण फैलिने र १ लाखभन्दा बढी गाईभैँसी मर्ने आँकलन गरिएको छ । जसको कारण नेपालको ग्रामीण अर्थतन्त्र र खेतीप्रणाली तहस–नहस हुने देखिन्छ ।

कुल गार्हस्थ उत्पादनको करिब ११.५ प्रतिशत हिस्सा पशुपालनले ओगटेको छ । पछिल्लो सरकारी प्रतिवेदनले नेपालमा ७४ लाख गाईगोरु र ५१ लाख भैँसी रहेको बताउँछ । ७४ लाख गाईमध्ये १२ लाख दुहुना गाई छन् भने बाँकी दुध नदिने गाई र गोरु छन् । कतै औषधि पुगेको छैन् भने कतै चिकित्सक नै अभाव छ । ग्रामीण अर्थतन्त्र धराशायी पार्ने गरी फैलिएको लम्पी स्किन रोगको संवेदनशीलता अझै नबुझ्ने हो भने निक्कै संकट पैदा हुने देखिन्छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #२७ हजारबढी पशुचौपाय मरे, #लम्पी स्किन

तपाईको कमेन्ट लेख्नुहोस्