नागरिकता विधेयक प्रमाणिकरणले राजनीतिमा तरंग, कतै खुशी कतै आन्दोलन !
काठमाडौं । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । संघीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक २०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर राष्ट्रपति भण्डारीले भने असन्तुष्टिको ८ बुँदासहित संसद्मै फिर्ता पठाएकी थिइन् ।
दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर २०७९ भदौ २० गते दोस्रोपटक प्रमाणिकरणका लागि पठाइएको भएपनि तत्कालिन राष्ट्रपति भण्डारीले फिर्ता पठाइदिएकी थिइन् । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाललगाएतका नेताहरुले भेटेर विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति पौडेललाई आग्रह गरेका थिए । त्यसलगत्तै राष्ट्रपति पौडेलले विज्ञहरुसँग समेत छलफल गरेका थिए ।
विधेयक प्रमाणिकरण भएपछि सत्तारुढ दलसहित मधेशकेन्द्रीत दलले स्वागत गरेका छन् । अब नागरिकताविहिनहरुले नागरिकता पाउने बाटो खुलेको उनीहरुको भनाई छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपतिको कदमको आलोचना गरेको छ । नागरिकता विधेयक प्रमाणिकरण गरेको विरोधमा काठमाडौंमा प्रदर्शन समेत भएको छ । नेकपा एमालेको भातृ संगठनहरुले प्रदर्शन गरेका हुन् ।
विधेयक प्रमाणिकरण भएसँगै २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने वंशजका आधारमा नेपालको नागरिकता पाउने व्यवस्था गरेको छ । कानुन नहुँदा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा बढी नागरिकताबाट वञ्चित भएको तथ्यांक छ । विधेयकमा नेपालभित्र फेला परेको बाबु आमा पत्ता नलागेको नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिकता पाउने व्यवस्था समेत गरिएको छ ।
त्यस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता पाउने बाटो खुलेको छ । विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेलगायतका व्यवस्था समेत विधेयकमा रहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दोस्रो पटक विधेयक हुबहु, #नागरिकतासम्बन्धी विधेयक, #विद्यादेवी भण्डारी
ताजा खबर
- १कोप सम्मेलनमा वन मन्त्रालयका कर्मचारीको रजाँई,विदेश जान लामै लिष्ट
- २दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय
- ३रवि लामिछानेलाई १० दिन हिरासत राख्न अदालतको अनुमति
- ४उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग
- ५नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन
तपाईको कमेन्ट लेख्नुहोस्