Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

सहकारी सञ्चालकको बद्मासी, स्वार्थगत लगानीका कारण डुब्दै सहकारी


काठमाडौं । सहकार्य, सह–अस्तित्व, समानकार्य वा सँग–सँगै गरिने कामलाई नै सहकारी भनिन्छ । यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयास नै सहकारी हो । अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन् । त्यसैको सिकोमा समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसी हितका निम्ती आर्थिक कारोवार गर्न सहकारीलाई स्थापित गराइयो ।

अझ् गरिब, विपन्न, किसान र न्यून आय भएका व्यवसायी अनि जागिरेहरुको जिवनस्तर माथि उकास्न भन्दै सुरु भएको सहकारी अभियान यतिबेला बद्नाम बनिरहेको छ । ग्रामीण क्षेत्र अर्थात बैंकिङ पँहुचबाट बाहिर रहेका करिब ४० प्रतिशत जनतालाई सेवा दिएको खण्डमा सहकारी अर्थतन्त्रको बलियो खम्बा बन्न सक्ने आँकलनसहित सहकारी ऐन २०४८ मार्फत अघि बढेको सहकारी अभियान यतिबेला कमाउमा रमाएका सिमित सञ्चालक र स्वार्थी अभियान्ताहरुका कारण तहस–नहस भएको छ । काठमाडौं उपत्यकाका हरेक घर, चोक गल्लीमा बोर्ड झुण्डाइएका सहकारी संकटमा पर्दै गएपछि नागरिकको बचत वालुवामा पानी सरह हुँर्दै गएको छ ।

कार्यालय नै बन्द गरेर भाग्ने सञ्चालकहरु बढ्दैगर्दा अर्थतन्त्र र सहकारीको भावना र मर्म अनुसार चलेका इमान्दार सहकारीहरु समेत बद्नामसँगै आर्थिक बोझमा परेका छन् । सहकारी विभागको तथ्यांक अनुसार पछिल्लो ३० वर्षमा मात्रै देशभर ३५ हजार हाराहारिमा सहकारी संस्था दर्ता छन् । यी संस्थाहरु मध्ये केही सञ्चालनमै छैनन भने सञ्चालनमा रहेका सहकारीमा पनि समस्या पैदा भइरहेको छ । साना सहकारी मात्रै होइन चर्चित भनिएका सहकारीले समेत यतिबेला बचतकर्तालाई पैसा फिर्ता दिन सकेका छैनन् । घर–घरमा वा पसल–पसलमा गएर थोरै–थोरै संकलन गरिएको रकम अहिले दैनिक सहकारीको कार्यालयमा जाँदा समेत फिर्ता नदिएर सास्ती र पीडा दिइरहेका छन् । यो बिषय थाहा नपाएको पनि कोही छैन् ।

सर्वसाधारण मात्रै होइन ठूला भनिएका ब्यापारी, उच्च तहका कर्मचारी र उच्च तहमा रहेका पदाधिकारी पनि ठगिएका छन् । यो विषय संसदमा पनि उठेको छ । तर, संसदमा उठेको यो गम्भिर बिषयको जवाफ दिने तदारुकता कसैले देखाएको छैन् । सयौँ सहकारी टाट पल्टिएर हजारौँ हजार बचतकर्ताको अर्वौ बचत सहकारीहरुले मनोमानी गरिरहेका छन् । गलत ठाउँमा गरिएको लगानी र तरलता अभावका कारण धेरै सहकारी ताला लाग्ने अवस्थामा छन् । कानुन बिपरित घरजग्गामा ओहिरिएको लगानीले जोखिम बढाएको छ नै उल्टै विश्वास डगमगायसँगै बचतकर्ताहरु आफ्नो निक्षेप फिर्ताका लागि सहकारीमा लाईन लागिरहेका छन् ।

वरियन्टल, गुडविल, सिभिल, देउराली, लालिगुराँस, गौतमश्रीको ओरालो यात्रासँगै यतिबेला हजारौँ सहकारी समस्यातर्फ उन्मुख हुँदै सुचना जारी गर्नेदेखि कारोवार नै बन्द गर्ने अवस्थामा पुगेका छन् । यी सहकारीमा रहेका लाखौँ बचतकर्ताहरुको अर्बौ बचत जोखिममा पर्दा साथ दिने कुनै निकाय भेटिएको छैन् । अझ नियमन गर्दागर्दै कुनै कारणले बचतकर्ताको बचत जोखिममा परेमा बद्मासी गर्ने सहकारीलाई कानूनी दायरामा ल्याउन भन्दै सरकारले सहकारी ऐन, २०४८ लाई २०७४ मा संशोधन गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्यो । ऐनमै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी सहकारी संस्था खोलेर बचतकर्ताको रकम हिनामिना गर्ने सञ्चालकहरुलाई कानुन कठघरामा उभ्याउने भनिएपनि अझसम्म बचतकर्ताले राहत महसुस गरेका छैनन् ।

सहकारी डुब्नुको एउटै कारण हो सञ्चालकको मनोमानी । मकै पोल्नेदेखि गाडा चलाएरै भारी बोकेरै जम्मा गरेको पैसामा जथाभावी घरजग्गामा लगानी गर्दा सहकारी माथि उठ्नै नसक्ने गरी थला परेका छन् । सहकारीको पैसा गलत ठाउँमा लगानी हुँदा कार्यालय नै खोल्न नसक्ने गरी सञ्चालक फरार भइरहेका छन् । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय ३७ सहकारी संस्थाका वचतकर्ताले यो बर्ष मात्रै आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी दिएका छन् । दैनिक एक सय बढी बचतकर्ता उजुरी लिएर महानगरको सहकारी विभागमा पुग्ने गरेका छन् । एकातर्फ बचतकर्ताले रकम फिर्ता माग्नु र अर्कोतर्फ बैंक तथा बित्तिय संस्थाहरुले सहकारीका सञ्चालकलाई ताकेता गर्दा ढोकामा ताला लगाउनुपर्ने अवस्थामा दैनिक सहकारी थपिइरहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अर्मपर्म, #अ‍ैँचोपैँचो, #मर्दाको मलामी, #सह–अस्तित्व, #सहकारी, #सहकारी संकट, #सहकार्य

तपाईको कमेन्ट लेख्नुहोस्