बैंकिङ फ्रडका ठूला घटनाः सञ्चालकदेखि कर्मचारीसम्मको संलग्नता !
काठमाडौं । बैंक तथा बित्तिय क्षेत्रमा लामो समयदेखि ठूला–ठूला बैंकिङ फ्रड भइरहेको विभिन्न तथ्य र अनुसन्धानले देखाएको छ । बैंक तथा वित्तिय क्षेत्रमा फ्रड हुँदा नागरिकले जम्मा गरेको रकम जोखिममा पर्ने अवस्था देखिन्छ । नेपाली बैंकिङ क्षेत्रमा विगतमा र अहिले कस्ता–कस्ता बैंकिङ फ्रड भइरहेका छन् त आज हामी तपाईहरुमाझ प्रस्तुत गर्दैछौं । केही समयअघि नेपाली बैंक तथा वित्तीय क्षेत्रमा ठूला ‘बैंकिङ फ्रड’का घटनाहरू बाहिरिए । तत्कालीन सिभिल बैंकका अध्यक्ष समेत रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सीआईबीले गत वर्ष असोजमा पक्राउ ग¥यो । तामाङको विषयमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेर विवरण सरकारी वकिल कार्यालयमा पठायो ।
तामाङले सहकारीको ५ अर्ब ६३ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो । यतिबेला सोही काण्डका कारण तामाङ थुनामा छन् । बैंकिङ क्षेत्रमै देखिएको अर्को डरलाग्दो बैंकिङ फ्रडकोे घटना हो नक्कली कागजातको आधारमा प्रवाह भएको कुमारी बैंकको १९ करोड रुपैयाँ कर्जा प्रकरण । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरणले कुमारी बैंकलाई मात्रै होइन अन्य बैंक तथा वित्तीय संस्थालाई पनि निकै झस्काएको थियो । सो प्रकरणमा तत्कालीन कुमारी बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना पनि जोडिएको भन्दै सीआईबीले अनुसन्धान गर्यो । कुमारी बैंकले पछि सो कर्जा असुल गर्न सफल त बन्यो तर बैंकका तिमिल्सिना बैंक छोड्न बाध्य भएका थिए ।
यस्तै, बैंकिङ क्षेत्रमै देखिएको अर्को डरलाग्दो घटना हो बैंकको भल्टको रकम निकालेर मिटर ब्याजमा लगानी गर्ने । सिन्धु विकास बैंकको काभ्रेको दोलालघाट शाखाका म्यानेजर सुमन खरेलले बैंकको भल्टमा रहेको रकमबाट निजी प्रयोजनका लागि मिटर ब्याजमा लगानी गरेको विषयले पनि बैंक र बैंकरको नियतमाथि ठूलो प्रश्न उठाएको थियो । प्रहरीको अनुसन्धानबाट खरेलसहित ५ जना मिलेर बैंकको भल्टमा राखिएको पैसा मिटर ब्याजमा लगाउने काम गरेको देखिएको थियो । सिभिल, कुमारी र सिन्धु विकास बैैंक मात्रै होइन महालक्ष्मी विकास बैंकले बैंकमा धितोको रूपमा राखेको ऋणीको सुनलाई नक्कली बनाएको विषयले पनि बैंकहरुको छविमाथि प्रश्नै–प्रश्न उठेको छ ।
विवादास्पद व्यक्तिहरुले समेत लगानी गरेको महालक्ष्मी विकास बैंकले कर्जा लगानी गरेको घोटालामाथि नेपाल राष्ट्र बैंकको निर्देशनपछि सिआईवीले बैंकको ललितपुरस्थित कुमारीपाटीबाट भएको लगानीमा घोटाला गर्ने तीन जना ऋणीहरुलाई पक्राउ गरेको थियो । तर, उक्त घटनाको प्रमुख पात्र र बैंकका कर्मचारी भने पक्रा परेका छैनन् । त्यस्तै, कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार बस्नेत सहित दुई जना ऋणी पनि पक्राउ परे । बैंकमा ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको आरोप उनीहरुलाई लागेको थियो । राष्ट्र बैंकले कामना सेवा विकास बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीका नाममा प्रवाहित ३१ करोड रुपैयाँ बराबरको कर्जा अपचलन भएको निष्कर्ष निकालेर सीआईबीलाई फाइल पठाएको कामना सेवा विकास बैंकका कर्मचारी मिलेर नक्कली ऋणि खडा गरेर ऋण दिएको, कतिपय बिनाधितो पनि ऋण दिएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, खोलाको बगर तथा खोल्सा जग्गा धितो राखी बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) बाट साढे २ करोड रुपैयाँभन्दा बढी ऋण प्रवाह भएको बैंकिङ कसुर मुद्दामा तत्कालीन सीईओ अजय श्रेष्ठसहित १५ जनाले कारवाही भोगेका थिए । सुरेन्द्र श्रेष्ठले तत्कालीन सीईओ श्रेष्ठ र अन्य कर्मचारीहरुलाई प्रभावमा पारी झापाको बिरिङ खोला बगरलाई धितो नक्कली धितो राखेर डेढ करोड ऋण लिएका थिए । त्यस्तै, केही वर्षअघि मात्रै कर्मचारीसहितको गिरोहले कृषि विकास बैंक, नवील बैंक लगायतका वाणिज्य बैंकको सिस्टम ह्याक गरी ५ अर्ब रुपैयाँभन्दा बढी रकम चोरी गर्ने योजना केही बैंककै कर्मचारीको सूचनाका आधारमा प्रहरीले निस्तेज पारेको थियो ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा तत्कालीन सीईओ नविन सुवेदीसहित तीनजना कर्मचारी पक्राउ परेका थिए । किस्ट बैंक ठगी प्रकरणमा तत्कालीन सीईओ कमल ज्ञवाली पक्राउ परेका थिए । सिद्धार्थ डेभलपमेन्ट बैंकबाट लिएको ऋणको सावाँब्याज तिर्न नसकेको समयमा उनीमाथि बैंकको कर्जा दुरुपयोग गरेको उजुरी राष्ट्र बैंकमा दर्ता भएको थियो । यतिबेला आयकर छलीको अभियोगमा अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथि अनुसन्धान गरिरहेको छ ।
आयकर ऐन २०५८ विपरीत काम गरेको भन्दै अनुसन्धान शुरु गरेको विभागले बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसँगै प्रमुख कार्यकारी अधिकृत सिइओ ज्योति पाण्डेसहित १४ जनाको बयान लिएको छ । बिगो र जरिवानासमेत गरी करिब नौ अर्ब रुपैयाँ तिर्नुपर्ने भएसँगै बैंकका उच्च अधिकारीहरू घटना सामसुम बनाउन दौडधुप गरिरहेका छन् । नेपाली बैंक तथा वित्तीय क्षेत्रमा बेला–बेला स–साना फ्रडहरू भइरहन्छन्, कतिपय बाहिर आउँछन् धेरै जसो त आउँदै आउँदैनन्, । तर, एकपछि अर्को डरलाग्दो ‘बैंकिङ फ्रड’का रुपमा बाहिर आएका यी घटनाहरूले केही प्रश्नहरू भने अवश्य उब्जाएको छ । नेपाली बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीको मनोविज्ञान तथा नियत, बैंकिङ क्षेत्रको ‘इन्टरनल कन्ट्रोल सिस्टम’ र नियामकको नियमन, कार्यशैली, कौशलता र भूमिकाको विषयमा भने प्रश्न तेर्सिएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #तामाङले सहकारी, #बैंक तथा बित्तिय क्षेत्र, #बैंकिङ फ्रड, #मिटर ब्याज
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्