Techie IT
  • ९ असार २०८१, शनिबार
KhojPatrika

राजनीतिभित्र झाँगिदै अवसरबाद, फण्डा र स्टन्टबाजी, हराउँदै सिद्धान्त, निष्ठा र इमानको राजनीति

भाइरल हुने नाममा भड्काउँदै समाज, किन मौन राज्यका निकाय ?


काठमाडौं । भन्नलाई त भनिन्छ राजनीति सेवा हो । तर कुनै पेशा, ब्यवसायमा लागेर सफलताको उचाई चुमेका वा सफल बन्न खोज्ने ब्यक्तीहरुको अन्तिम रोजाई किन हुन्छ त राजनीति ? यो अति महत्वकांक्षाले राजनीतिलाई कतै शक्ति आर्जन गरेर सम्बन्ध विकाससँगै आर्थिक उपार्जन गर्ने गराउने उद्योगका रुपमा त विकास गरिदै छैन ? धेरै प्रश्नको घेरामा अहिलेका राजनीतिज्ञहरु छन् । लोकतान्त्रिक व्यवस्थामा कुनै दल वा दलमार्फत उठेका उम्मेदवार मन नपरेमा अर्को दलको प्रतिनिधिलाई बैकल्पिक पात्रका रुपमा छान्ने अधिकार नागरिकमा हुन्छ । तर नेपालका पछिल्ला निर्वाचनमार्फत पार्टी पद्धती, बिचार र सिद्धान्त भन्दा व्यक्तिलाई आदर्शवान र शक्तिशाली बनाउने होडको विकास भएको छ । गत बैशाखको स्थानीय तह निर्वाचन होस वा मंसिरको प्रदेश र संघीय निर्वाचन । यी दुई निर्वाचनले नेपाली राजनीतिमा नया अभ्यासको विकास गरेका छन् ।

दलीय राजनीति भन्दा बाहिरका दुई पात्र महानगर र उपमहानगरको बागडोर सम्हाल्ने हैसियतमा पुगेसँगै देशैभर स्वतन्त्रहरुको होड चलेको छ । काठमाडौं महानगरका मेयर बनेका बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङ चुनाव जितेदेखी यतिबेलासम्म पनि कुन न कुनै कारण चर्चामै छन् । दलीय राजनीति र विगतमा गरेका कुनै काम विशेषको लोकप्रियता बिनै स्थानीय सरकार सञ्चालनको हैसियतमा पुगेका यी प्रतिनिधि पात्रले राजनीतिक बितृष्णाको प्रतिशोध उदांगो मात्रै पारेको छैन, जबजस्त नेपाली राजनीतिमा नयाँ अभ्यासको थालनि गरेको छ । फेरीएको राजनीतिक संस्कारले युवाहरुलाई समेत राजनीतिमा स्थापित गराउँदैछ । हुनत, आशा गरिएका र पुराना नेताहरुको विकल्प ठानिएका नवयुवाहरुले पनि नागरिकमा उब्जिएको चरम निरासामा आशा भर्न सकेका छैनन ।

सामाजिक सञ्जालमा मर्यादा भुलेर अभिव्यक्त हुने बिचारले उब्जाएको बिवाद होस वा जनश्रमदानको लोभलाग्दो अभ्यास यी बिबिध कारणले धरानका हर्क चर्चामा छन् । तर, मेयर हर्कले सम्हालिएर नगरवासीमा देखिएको राजनीतिक निरासालाई आशामा बदल्न सकेका छैनन । जनश्रमदान मार्फत अस्थायी रुपमा भएपनि खानेपानीको जोहो गर्न सफल मेयर साम्पाङ नगरवासीको चाहाना भावना अनुसार चल्न भन्दा चर्चा र फण्डाको पात्र बन्ने होडमै बढि सक्रिय देखिदैछन् । यता, अबैद्य संरचना हटाउने, सयौँ बर्ष पहिले भुमिगत बनाइएको टुकुचा खोला बाहिर निकाल्छु भन्दै चलाइएको डोजर अभियान र फुटपाथ ब्यापारमाथीको धरपटबाट चर्चामा आएका मेयर बालेनप्रतिको आशा र क्रेज विस्तारै निरासामा परिणत हुँदैछ । चुनाव अघि गुमनाम जस्तै रहेका मेयर बालेन सामाजिक सञ्जाल, युट्युबको स्टन्टका कारण अहिले आशा भर्ने भन्दा निरास बनाउने पात्र बन्दैछन् । विवेकशिल साझाबाट राजनीति गरिरहेका उद्योगी व्यवसायी गोपाल हमाल हर्क र बालेन जस्तै स्वतन्त्र बनेर धनगढी उपमहानगरको मेयर बनेपनि चर्चा र फण्डमा सक्रिय देखिएका छैनन ।

अहिलेसम्म पनि गुमनाम रहेका हमाल लोकप्रियताको होडमा भन्दा नागरवासीको काममा ब्यस्त भएको दाबी गरिरहेका छन् । जनकपुरमा कांग्रेसले टिकट नदिएको असन्तुष्टि पोख्दै स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार साह सुडी समेत चर्चाको फण्डा भन्दा बाहिर छन् । कांग्रेसका बागी उम्मेदवार बनेर महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा विजयी प्रह्लादकुमार क्षत्री, कांग्रेसकै बागी बनेर जुम्लाको चन्दननाथ नगरपालिका प्रमुख बनेका राजुसिंह कठायत पनि फण्ड र चर्चाको पात्र बनेका छैनन । बैतडीको डिलासैनी गाउँपालिकामा पनि स्वतन्त्रको होड देखिएपनि चर्चाको फण्डा अहिलेसम्म देखिएको छैन । बैशाखको स्थानीय तह निर्वाचनमा १३ जनाले स्वतन्त्र बनेरै पालिका प्रमुख जित्दा चार जना उपप्रमुख÷उपाध्यक्ष, १ सय ३६ वडाध्यक्ष र २ सय ३२ वडा सदस्य विजयी भएका थिए ।

यहि जितले स्वतन्त्र, राजनीतिक वितृष्णामा शक्ति आर्जन गर्नेहरुको होड देशभर बढ्यो र प्रदेश अनि संघीय निर्वाचनमार्फत धेरैले सांसदका रुपमा बाजी मारे । केही विगतकै ठूला दलको बिकल्प बनेर उदाउँदा केहीले आफूलाई बैकल्पिक राजनीतिक शक्ति, देशमा ब्याप्त भ्रष्टाचार, कामचोर प्रबृत्तिको अन्त्य गर्ने गराउने शक्तिका रुपमा उभ्याइरहेका छन् । मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समेत स्वतन्त्र र बैकल्पिक राजनीतिको अभ्यास केही हदसम्म अनुमोदन भयो । पार्टीगत टिकट बितरणमा असन्तुष्ट बनेर स्वतन्त्र बनेका ५ जना निर्वाचन मार्फत अनुमोदित भए । नयाँ दलका रुपमा पहिलो पटक चुनावी अभियानमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जना उम्मेदवारले प्रत्यक्ष चुनाव जित्दा लोकप्रिय मतका आधारमा समानुपातिक भोटबाट थप १३ जनाले पहिलो पटक संसद छिर्ने सौभाग्य पाए । यसरी संसद यात्रा तय गरेका मध्ये अधिकांश पत्रकारीता, शिक्षा, स्वास्थ्य, बैदेशिक रोजगारी लगायतका विभिन्न अभियानमा जोडिएका अभियन्ताहरु नै बढी छन् ।

सभापति रवि हुन वा डा. तोसिमा कार्की अनि शोभित गौतम यी अभियान र फण्डाबाट राजनीतिमा उदाएका वनयुवाहरु हुन् । कतिपयले त पत्रकारितामा देखाएको स्टन्ट, पुराना नेता र राजनीतिमा बढ्दै गरेको वितृष्णालाई आफ्नो पक्षमा पार्न गरिएको भद्धा गालिगलौँजको बलमा उदाएका रविकै क्रेजमा रास्वपाको अस्वभाविक राजनीतिक हौसियत बनेको दाबी गरिरहेका छन् । यता, संघीय लोकतान्त्रिक गणतन्त्र नै मान्य नहुने हिन्दु राष्ट्र र राजा चाहिन्छ भन्दै फरक सिद्धान्त जनतामा फस्केको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत पछिल्लो निर्वाचनमार्फत आफूलाई बलियो शक्तिका रुपमा उभ्याउने अवशर पाएको छ । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देनसँगै ७ जनाले प्रत्यक्षतर्फ चुनाव जित्दैगर्दा अधिकांश पार्टीमा क्रियाशिल नेताहरु नै छन् । तर चुनाव अघि सडक अभियानलाई राप्रपामा समाहित गरेका जुम्लाका ज्ञानेन्द्र साही यही भिडमा मिसिएर संसद छिर्ने भाग्यमानी बनेका छन् । भ्रष्टाचार र अनियमितताको एकएक पोल खोल्छु, घुसोखोरी कर्मचारी नेताहरुमाथी अनुसन्धान र कारबाही हुनुपर्छ भन्दै सडकमा कुर्लीने साही अहिले सदनमा छन् ।

चर्को स्वरमा सडकबाट धेरैलाई चुनौँती दिएर जनमत बटुल्न सफल शाहीको आगामी राजनीतिक यात्रा समेत धेरैका लागि चासो बनेको छ । विगतमा तराई मधेशमा राम्रो जनमत पाएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीमा तराई मधेशका जनताको आशा, भरोसा र विश्वास डग्मगाउँदा विगतमा छुट्नै मधेश देशको अभियान चलाएर नेपाल जनमत पार्टी खोलेका सिके राउतले आफूसँगै ६ जनालाई संघीय संसदमा पुर्याएका छन् । हिरासतमा रहेका रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीमार्फत समेत चौधरीकी श्रीमती रञ्जितासँगै अन्य २ जनाले संसद यात्रा तय गरेका छन् । ठूला दलका नेताले जे बोल्छन ठिक विपरित गर्छन, गरे भन्ने प्रतिक्रियाबाट उब्जिएको राजनीतिक वितृष्णाले नयाँलाई अनुमोदन गर्दैगर्दा कुन बिचार, सिद्धान्त अनुमोदन भैरहेको छ भन्ने गम्भिर प्रश्न खडा भएको छ । के ठूला दलको सिद्धान्त, पार्टी नीति, बिचार र घोषणा पत्र मन नपरेर राजनीति भित्र विकल्प खोज्न थालिएको हो ? कि राजनीति भित्र बिचारहिन, योजनाहिन, चर्चा र फण्डाबाट शक्ति आर्जन गर्दै सत्ता यात्रामा पुग्ने अर्को जमातलाई उभ्याउन खोजिएको हो ? प्रश्नसँगै नयाँ सिराबाट बहस सुरु भएको छ ।

हुन त नयाँबाट नागरिकले धेरै आशा पनि गरेका छन् । अब विगतकै स्वार्थगत राजनीति नदोहारियोस, युवाहरुले विगतका स्थापित पार्टी र नेताहरुमाथी खबरदारीसँगै हस्तक्षेपकारी भुमिका खेल्न सकुन भन्ने खालको जनमत मतदाताले दिएका छन् । यहि कारण यो चुनवाबाट तीनवटा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व पाए । यी तीन पार्टीका अधिकांश नेताहरु नयाँ अनुहार छन भने पुरानै दलबाट पनि नयाँ अनुहार संसदमा पुगेका छन् । उनीहरुले सकारात्मक खबरदारी गर्ने आशा गरिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल योगेश गौचन थकाली, एमालेका ठाकुर गैर, सूर्य थापा, महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, डा. तोसिमा कार्की, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, हरि ढकाल, माओवादी केन्द्रका लेखनाथ दाहाल राप्रपाका ज्ञानेन्द्र शाही, धवल शमशेर राणा, दिपक सिंह, ध्रुवबहादुर प्रधान, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका सिके राउतको संसदमा प्रत्यक्ष चुनाव जितेर देखिएको उपस्थितिलाई आमा नागरिकले चासोका साथ हेरेका छन् ।

निरासा भित्रबाटै केही आशा पलाएको छ । नागरिकले गालीगलौँज र स्टन्टको लोकप्रियता भन्दा राजनीति भित्रको ब्यथितिको सुधार खोजेका छन् । सत्तामा पुग्न र टिक्न जायज नाजायज सबै हतकण्डा प्रयोग गर्ने, जनतालाई केवल भोट ब्याङ्क सम्झने, पार्टी सत्तामा टिकिरहन अनेक किसिमका सिन्डिकेटको सिर्जना गर्ने, परिश्रम र उत्पादनमा सहभागी नहुने तर इजी मनीको खोजी गर्ने, राजनीतिलाई सेवा होइन पेसा बनाउने जस्ता अनेक विकृति र विसङ्गति जनताले देख्ने गरी छताछुल्ल भएका विगतकै राजनीतिज्ञहरुको पदचाप यी नयाँ आशा गरिएका अनुहारहरुले पछ्याउँछन वा सुधारको थालनी गर्छन र गराउँछन अग्नि परिक्षा सुरु भएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #जनश्रमदान, #महानगर र उपमहानगर, #स्टन्टबाजी

तपाईको कमेन्ट लेख्नुहोस्