Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

अनुसन्धान नै गर्दैनन् नेपालका अधिकाशं स्वास्थ्य अनुसन्धान केन्द्रहरु, सधैं आँखा छल्ने काम


काठमाडौं । नाममा अनुसन्धान केन्द्र भनेर जोडिएका स्वास्थ्य संस्थाले बर्षमा कम्तीमा २ वटा अनुसन्धान कार्य गर्नैपर्छ । त्यसको रिपोर्ट नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा बुझाउनै पर्छ । तर, नेपालमा अनुसन्धानकेन्द्रका नाममा खोलिएका त्यस्ता स्वास्थ्य संस्थाले न अनुसन्धान गर्छन । न त रिपोर्ट नै बुझाउछन् । परिषदले स्वास्थ्य अनुसन्धान केन्द्रका रुपमा खोलिएका संस्थाहरुको अनुगमन गर्दा त्यस्तो भेटिएको हो ।

परिषदका अनुसार कम्पनी रजिष्टार कार्यालयमा करिव ४ सयको हाराहारीमा स्वास्थ्यका अनुसन्धान केन्द्र दर्ता भएका छन् । तीमध्ये एक सय मात्रै सञ्चालनमा छन् । सञ्चालमा भएकामध्ये ५० प्रतिशत बढी काठमाडौँमा उपत्यकामा छन् । तर, अनुसन्धान भने प्रभावकारी छैनन् । स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नेपाल अन्य देशको तुलनामा निकै पछि देखिन्छ ।

अहिलेसम्म गरिएको अनुसन्धान न प्रभावकारी नै भएको छ न कुनै देखिने खालका प्रभावकारी अनुसन्धाननै भएका छन् । जसका कारण नेपालमा अनुसन्धानका लागि भने क्रियाशिल निकाय प्रभावहीन देखिएका छन् । अन्य देशहरुमा अनुसन्धानको पाटो निकै फराकिलो छ । कुनै पनि रोगको अनुसन्धान होस या रोगका लागि गरिने औषधी उपचारमा लगायत अन्य अनुसन्धानको पाटो निकै प्रभावकारी देखिन्छन् । तर, नेपालमा गरिने अनुसन्धानको बिषयमा सधै प्रश्न उठ्ने गरेका छन् ।

नेपालमा पनि स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि भनेर स्वास्थ्य अनुसन्धान परिषदको स्थापना भएको ३ दशक भन्दा बढी समय भैसकेको छ । तर, परिषद्को प्रभावकारीता देखिएको छैन् । सर्ने नसर्ने रोगले पारेको प्रभावको बिषयमा समेत अनुसन्धान भैरहेको भनिएको लामो समय बितिसक्दा समेत त्यसको रिपोर्ट समेत आइसकेको छैन् । नेपालमा भ्याक्सिन ट्रायल नेश्नल मेन्टल हेल्थसर्भे राष्ट्रिय गौरवको आयोजना लगायत अन्य थुपै्र अनुसन्धान भइरहेको परिषद्ले दाबी गरेता पनि अहिलेसम्म देखिनेगरि स्वास्थ्य क्षेत्रमा अनुसन्धानको नतिजा आउन सकेको छैन ।

जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री, राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, स्टेपवाइज अप्रोच टु सर्भिलेन्स सर्वेक्षण, डिसबर्समेन्ट लिङ्क्ड इन्डिकेटर्स (डीएलआई), सिकलसेल एनिमेनिया, प्रकोप अनुसन्धान र निगरानी, क्लिनिकल ट्रायल रजिस्ट्री, नसर्ने रोगहरू, वातावरणीय स्वास्थ्य, परम्परागत औषधि, सरुवा रोग लगायत केही उल्लेखनीय क्षेत्रमा परिषद्ले अनुसन्धान गरेको दाबी गरेको छ ।

सामान्य रोगहरुमा समेत प्रभावकारी अनुसन्धान हुन नसकेको अवस्थामा कोभिड महामारी जस्ता संक्रामक रोगका बिषयमा हुनै पर्ने अनुसन्धान, भ्यक्सिनका बारेमा गरिने अनुसन्धान जरुरी छ । नेपालमा स्वास्थ्य क्षेत्रको औपचारिक, संस्थागत र चरणबद्ध विकासको क्रम वि. स. २०१३ साल देखि भएको हो । तर, स्वास्थ्य क्षेत्रमा प्रभावकारी रुपमा अनुसन्धान हुन नसक्नु बिडम्वनापूर्ण मान्न सकिन्छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अनुसन्धान केन्द्र, #स्वास्थ्य अनुसन्धान परिषद

तपाईको कमेन्ट लेख्नुहोस्