Techie IT
  • १२ वैशाख २०८१, बुधबार
KhojPatrika

हरेक चुनावमा फेरिन्छ दलीय हैसियत, एउटै दल दोहोरिएर लगातार कहिल्यै पहिलो बन्दैन !


काठमाडौं । नेपालको ६४ वर्षिय संसदीय इतिहासमा ८ वटा निर्वाचन भएका छन् । तर, जनताले कुनै पनि राजनीतिक पार्टीलाई लगातार दोहो¥याएर ठूलो दल बनाएको इतिहास छैन । सत्तामा पुगेका दलका नेताहरुले गर्ने काम कारवाहीदेखि उनीहरुले उठाउने जनजिविकाका सवालमा ध्यान नदिदा सधैं चुनावमा पहिलो र दोस्रो दल अदल बदल भइरहेको देखिन्छ ।

२०१५ फागुन ७ गते भएको पहिलो संसदीय निर्वाचनमा प्रजातन्त्र स्थापनाका लागि सशस्त्र संघर्ष गरेको दल नेपाली कांग्रेसले दुई तिहाइ अर्थात् १ सय ९ सिटमध्ये ७४ सिट जित्यो । जसबाट संसदीय दलको नेता विपी कोइराला २२ औं प्रधानमन्त्री बने । तर, जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गर्दै २०१७ मा राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था लागू गरे ।

३० बर्षसम्म राजाले नै ब्यक्ती छनोट गर्दै सत्तामा पु¥याउने र सरकार ढाल्ने खेल भइरहे । २०४६ मा प्रजातन्त्र पुर्नस्थापना भएपश्चात् २०४८ बैशाख २९ गते निर्वाचन भयो । जहाँ प्रजातन्त्र ल्याउन कांग्रेसले निर्वाह गरेको भूमिकाको कदर गर्दै संसदको २०५ मध्ये १ सय १० सिट जिताएर जनताले बहुमतको सरकार बनाउन म्याण्डेट दिए ।

एमालेलाई ६९ सिट जिताए । तर, कांग्रेसभित्रको गुटगत लडाईका कारण कार्यकाल नै पूरा नगरी २०५१ म संसद विघटन भयो । एउटा दलभित्रको किचलो र ब्यक्तीगत इगोमा संसदमाथि प्रहार गरेको यो पहिलो घटना हो । कांग्रेसभित्रको किचलोलाई जनताले रुचाउने कुरै भएन । जसका कारण २०५१ कार्तिक २९ मा भएको निर्वाचनमा नेकपा एमालेले ८८ सिट ल्याएर पहिलो बन्दा कांग्रेस ८३ सिटमा खुम्चियो ।

नदीका दुई किनारजस्ता कहिल्यै नमिल्ने कांग्रेस–कम्युनिस्ट र कांग्रेसी कलहबाट वाक्कदिक्क बनेका मतदाताले तीन वर्षअघि ४ सिटमा सीमित राप्रपालाई २० सिटमा जिताएर सत्ताको चाबी हातमा पु¥याइदिए । मनमोहन अधिकारीको नेतृत्वमा पहिलो निर्वाचित वामपन्थी सरकार बन्यो तर, ८८ सिट जितेको एमाले सरकार ९ महिना पनि टिकेन । तोकिएको मध्यावधि चुनाव रोकेर सर्बोच्चले संसद पुर्नस्थापना गराइदियो र प्रधानमन्त्री बने शेरबहादुर देउवा । देउवालाई आफनै दलका दुई सांसद अनुपस्थित भएपछि डेढ बर्षमै सरकार ढल्यो ।

नेकपा माओवादी सशस्त्र युद्ध चरम विन्दुमा पुगेका बेला २०५६ मा दुई चरणमा बैशाख २० र जेठ ३ गते निर्वाचन हुँदा ५१ मा खुम्चिएको कांग्रेसले फेरि १ सय ११ सिट ल्याएर पहिलो दल बन्यो । एमाले ७१ र राप्रपा ११ सिटमा खुम्चिए । कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको कांग्रेसले ९ महिना मात्रै सत्ता चलाउन दियो ।

माओवादीको नेतृत्वमा भएको सशस्त्र संघर्ष उत्कर्षमा पुगेका बेला राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेपछि प्रत्यक्ष शासन सुरु गरेसँगै अन्ततः सात दल र माओवादीले संयुक्त आन्दोलन गर्दा ज्ञानेन्द्र सत्ताच्युत मात्र भएनन्, विघटित संसद् पुनःस्थापना भयो ।अन्तरिम संविधान मार्फत २०६४ चैत २८ गते भएको निर्वाचनमा एकीकृत नेकपा माओवादीले १ सय २० सिट ल्याएर पहिलो दल बन्दा कांग्रेस ३६ र एमाले ३३ सिटमा खुम्चियो ।

पहिलो संविधानसभाबाट संविधान नबनेपछि २०७० मंसिर ४ मा भएको दोस्रो संविधानसभामा दलहरुको हैसियत अदलबदल नै भयो । कांग्रेस १ सय ५ सिट जितेर पहिलो बन्दा एमाले ९१ र ६४ मा पहिलो बनेको माओवादी २६ सिटमा खुम्चिएर तेस्रो बन्यो । देशमा नयाँ संविधान बनेपछि संघीयता कार्यान्वयनको सुरुवातको रुपमा हेरिएको २०७४ को निर्वाचनमा फेरि प्रमुख दलको हैसियत फेरियो । ७० मा दोस्रो बनेको एमाले माओवादी केन्दसँगको तालमेलमा ८० सिट जित्दै पहिलो बन्यो ।

अघिल्लो चुनावमा पहिलो दल कांग्रेस लज्जास्पद हारसहित २३ सिटमा खुम्चियो । माओवादी केन्द्रले भने एमालेको तालमेलमा सिट संख्या बढाएर ३६ स्थानमा जित हासिल गरेपनि तेस्रोमै सिमित रह्यो । यो मंसिर ४ मा भएको निर्वाचनमा समेत अघिल्लो परिणाम फेरबदल भएको छ । कांग्रेस पहिलो दल बन्दा एमाले दोस्रो र माओवादी तेस्रो हुँदैछन् ।

केही नयाँ दल समेत यो निर्वाचनबाट प्रबेश पाएका छन् । यो ८ वटा निर्वाचनमा लगातार एउटै दल पहिलो बनेको रेकर्ड छैन् । सत्तामा पुगेका दलहरुमा देखिने आन्तरिक किचलो र मतदातालाई बाँडेको आश्वासन पूरा गर्न नसक्दा दलको हैसियत सधैं फेरिने गरेको छ । तर, मतदाताले गरेको दण्डितबाट सुध्रिनुपर्ने दलका नेता कहिल्यै सच्चिएको देखिदैन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #६४ वर्षिय संसदीय इतिहास, #दलीय हैसियत, #हरेक चुनाव

तपाईको कमेन्ट लेख्नुहोस्