दलहरुको समानुपातिक मतपरिणामको अंकगणित, कसले कति ल्याउला ?

काठमाडौं । चुनाव नजिकिएसंगै राजनीतिक दल र तिनका उम्मेदवारहरुले आफुले जित्ने आकलन र दावी गरीरहेका छन् । कुन क्षेत्रमा कस्ले बाजी मार्ला भनेर अंकगणित पनि बिभिन्न कोणबाट प्रस्तुत भैरहेका छन् । प्रत्यक्ष तर्फको १ सय ६५ सिटमा दलहरुले जित्ने आआफ्नै अंकगणित गरीरहँदा ११० सिटको समानुपातिक तर्फको अंकगणित कस्तो रहँला ? प्रतिनिधिसभा प्रत्यक्षतर्फको १सय ६५ सिटमा जित्ने संख्याबारे दलहरुको आआफ्नै दाबी छ । प्रत्यक्षमा ९१ सिटमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले ८५ भन्दा बढी सिट जित्ने दावी गरीरहेका छन् । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १ सय सिट जित्ने दावी गरेका छन् ।
एमालले प्रत्यक्ष र समानुपातिकमा गरेर एकल बहुमत १५० सिट जित्ने दाबी गरीरहेका छन् । नेकपा माओवादी,एकीकृत समाजवादी लगायतका दलहरु पनि अघिल्लो निर्वाचनमा भन्दा यो पटक आफुहरुको सिट संख्या धेरै जित्ने दाबी गरीहरेका छन् । प्रत्यक्षमा अलग–अलग गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका दलहरुले ०७४ को समानुपातिक मत र गत वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार बनाएर आफ्नो पार्टीले समानुपातिकतर्फ पाउन सक्ने मतको आकलन गरेका छन् । गठबन्धनका कारण प्रत्यक्षतर्फ उम्मेदवार नभएका क्षेत्रमा समानुपातिक मत तान्न कांग्रेस, माओवादी र एकीकृत समाजवादीले तल्ला कमिटीलाई परिचालन गरेका छन् ।
कांग्रेसले यो पटक ४० प्रतिशत समानुपातिक मत ल्याउने दावी गरेको छ । एमालेले भने समानुपातिकका लागि छुट्टै संयन्त्र परिचालन गरेको छैन । माओवादी केन्द्रले पनि यो पटक समानुपातिक मतको सख्या बढाउने लक्ष्य लिएको छ । ७४ सालको निर्वाचनमा १५ दशमलव ३ प्रतिशत मत ल्याएर समानुपातिकमा १७ सिट जितेको माओवादीले यो पटक त्यसको दोब्बर मत बढाउनेगरी तयारी गरेको जनाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई भने नयाँ दल भएका कारण थ्रेसहोल्ड कटाउन चुनौती छ । तर एकीकृत समाजवादीका नेताहरुले भने आफुहरुले १५ लाख भन्दा बढी मत समानुपातिकमा ल्याउने दाबी गर्दैआएका छन् ।
यता राजेन्द्र लेङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो पटक समानुपातिक उच्च महत्वकांक्षा देखाएका छन् । २०७४ को निर्वाचनमा थ्रेसहोल्ड समेत कटाउन नसकेको राप्रपाले यो पटक अध्यक्षमा लिङ्देन आएपछि भने समानुपातिकमा ठूलो दल बन्ने दाबी गर्न थालेका छन् । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यो पटक सबै दललाई पछि पादै समानुपातिकमा ३०–३५ लाख मत ल्याउने महत्वकांक्षा देखाएका छन् । ७४ को निर्वाचनलाई हेर्दा समानुपातिकमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेको समेत साढे ३१ लाख माथि मात्रै मत आएको थियो । त्यस्तै अन्य पार्टी, जसपा,लोसपा,जनमोर्चा लगायतका पार्टीहरुले पनि समानुपातिक यो पटक आफ्नो मत दोब्बरले बढाउने दाबी गरीरहेका छन् ।
०७४ मा प्रतिनिधिसभातर्फ समानुपातिक अंकगणित के थियो ?
समानुपातिक तर्फ पाएको जम्मा मत ८५ लाख ४८ हजार ५९ मत
१. नेकपा एमाले–
पाएको जम्मा मत – ३१ लाख ७३ हजार चार सय ९४
प्रतिशत– (३७.१ प्रतिशत
पाएको सिट– ४१ सिट
२. नेपाली कांग्रेस
पाएको मत – ३१ लाख २८ हजार तीन सय ८९
प्रतिशत– ३६.६ प्रतिशत
पाएको सिट– ४० सिट,
३. नेकपा माओवादी
पाएको मत– १३ लाख तीन हजार सात सय २१
प्रतिशत– १५.३ प्रतिशत
पाएको सिट– १७ सिट,
४. राष्ट्रिय जनता पार्टी नेपाल
पाएको मत– ४ लाख ७२ हजार दुई सय ५४
प्रतिशत– ५.५ प्रतिशत
पाएको सिट– ६ सिट
त्यस्तै, संघीय समाजवादी फोरम नेपालले चार लाख सात हजार दुई सय एक (५.५ प्रतिशत) मत ल्याएर ६ सिट जितेको थियो । यसबाहेक तीन प्रतिशतभन्दा कम मत ल्याउने ४४ दलले नौ लाख ९६ हजार सात सय २० मत प्राप्त गरेका थिए, जुन समानुपातिकतर्फको कुल मतको १०.४४ प्रतिशत हुन आउँछ । तर, तीन प्रतिशत नकटाएकाले यो मत समानुपातिकतर्फ कुल सदर मतमा गणना हुँदैन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१ सय ६५ सिट, #११० सिटको समानुपातिक, #समानुपातिक तर्फ
तपाईको कमेन्ट लेख्नुहोस्