Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
KhojPatrika

चोलेन्द्रको नाम बेचेर केपी ओपिसी सिमेन्टको बद्मासी, गुणस्तरहिन सिमेन्ट बजारमा छ्याप्छाप्ती


काठमाडौं । धादिङको नौबीसेमा उत्पादित केपी सिमेन्ट उद्योगले उपभोक्तामाथि चरम बद्मासी गरिरहेको छ । उद्योगले गुणस्तरहिन ओपीसी सिमेन्ट धमाधम बजारमा पठाएर उपभोक्तामाथि बद्मासी गरिरहेको हो । बलिया र महत्वपूर्ण संरचना निर्माणमा प्रयोग हुने ओपीसी सिमेन्टको गुणस्तरमा बारम्बार समस्या देखिएपनि राज्यका कुनै निकायको ध्यान पुगेको छैन । सिमेन्टबाट उत्पादित केपी ओपीसी सिमेन्ट फुट्ने र चर्किने समस्या रहेको उपभोक्ताले बारम्बार गुनासो गरिरहेका छन् ।

अझ पछिल्लो समय नेपाली सेनाकै ब्यारेक बनाउँदा भवन भत्काउनुपर्ने अवस्था आएपछि केपी ओपीसी सिमेण्टको बद्मासी झनै छताछुल्ल भएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशीमा रहेको नेपाली सेनाको २६ नम्बर बाहिनीले ब्यारेकभित्र सैनिक आवासीय भवन बनाउन गत आर्थिक वर्षमा ठेक्का आह्वान गर्यो । ठेकेदार कम्पनी ब्राइट–डायना जे.भी. कन्ट्रक्शनले ठेक्का पाए । २०७९ असार मसान्तसम्म ठेक्का सक्ने गरी सम्झौता भएकोमा केपी ओपिसी सिमेन्टकै कारण निर्माण भएको भवन पनि भत्काउनु परेको छ ।

निर्माण कम्पनीले ७ सय ५० बोरा केपी सिमेन्ट खरिद गरेर ५ लाख रुपैयाँ भूक्तानी पनि गरेका थिए । २०७८ चैत २९ गते २५० बोरा, चैत ३० गते २५० बोरा र २०७९ बैशाख १ गते २५० बोरा गरी केपी सिमेन्ट इन्ड्रस्टिजबाट ठेकेदार पक्षले ५ लाखको सिमेन्ट कुनै डिलर्स वा हार्डवायर पसलबाट उक्त परिमाणको सिमेन्ट खरिद गरको नभई सिँधै कम्पनीमा अर्डर गरेर खरिद गरेका थिए । तर, ७५० मध्ये २६५ बोरा सिमेन्ट प्रयोग भइसकेको र ४८५ बोरा सिमेन्ट बाँकी रहेको अवस्थामा कुनै सिमेन्टको बोरामा ग्रेड नै उल्लेख नभएको, कुनैमा ग्रेड मेटिएको, कुनैमा केरमेट गरिएको र कुनैमा ३३ ग्रेड मात्रै उल्लेख भएको भेटिएपछि ब्यारेकभित्र खैलाबैला नै मच्चियो ।

बैशाख ७ गते नेपाली सेनाले ४ सय ८५ बोरा सिमेन्ट फिर्ता गरिदियो । सेनाले ठेकेदार पक्षसँग छलफल गरेर कम गुणस्तरका निर्माण सामग्री प्रयोग भएको भवन नबुझ्ने भनेर भवन पनि भत्काउनुपर्ने सर्त राख्यो । त्यसपछि सिमेन्ट कम्पनीका प्रतिनिधिको समेत उपस्थितमा भवन भत्काइएको छ । भवन भत्काउने बेलामा सिमेन्ट उद्योगका प्रतिनिधिले क्षतिपूर्ति दिने बताएका थिए । तर, अहिले केपी ओपिसी सिमेन्टका प्रतिनिधिहरु भागिरहेका छन् । क्षतिपूर्ती दिन्छु भन्ने प्रतिबद्धता जनाएको केपी ओपिसी सिमेन्टका सञ्चालकले अहिले भने धाक धम्की दिइरहेका छन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नाम समेत लिएर ओपिसी सिमेन्टका सञ्चालक तथा सिमेन्ट उत्पादक संघका महासचिव समेत रहेका केशव उप्रेतीले धम्की दिइरहेका छन् । पहिलो तल्लाको स्ल्याब ढलानका लागि किनेको सिमेन्ट नै गुणस्तरहीन भएपछि भवन नै भत्काइएको छ । सिमेन्ट उत्पादक संघका महासचिव समेत रहेका केशव उप्रेतीकै उद्योगले बदमासी गरेपछि उपभोक्ता हित संरक्षण मञ्च अदालत जाने तयारी गरिरहेको छ । केपी ओपिसी सिमेन्ट उद्योग, उद्योगका सञ्चालक उप्रेतीसहित सीईओ गौरव राणा र म्यानेजर योगेश न्यौपानेलाई विपक्षी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ताको प्रक्रिया सुरु गरिएको छ ।

क्षतिपुर्ती दिन्छु भन्दै बारम्बार झुक्याउने र बिभिन्न स्थानमा बोलाएर दुख दिने गरेको ठेकेदार कम्पनीका सञ्चालकले बताएका छन् । सिमेन्ट उत्पादक संघको बलमा उपे्रतिले उपभोक्तामाथि ज्यादती गरेको गुनासो बढेको छ । बारम्बार विवाद र उपभोक्तामाथि छलकटप गर्दै आएको केपी ओपीसी सिमेन्ट धमाधम बजारमा अहिले पनि बिक्रीवितरण भइरहेको छ । सानो परिमाणमा सिमेन्ट उत्पादन गर्ने उपकरणजडित केपी सिमेन्ट उद्योगबाट एउटै भट्टीबाट दुईथरि सिमेन्ट उत्पादन गरिएका कारण यसको गुणस्तरमा समस्या आइरहेको छ । तर, सरोकारवाला निकाय गुनासो आउदा पनि तै चुप मै चुप लागिरहेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी ओपिसी, #केपी ओपिसी सिमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्