Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

भक्तपुरको ‘चुनदेवी खाद्य स्टोर’ मा छापा, १४ लाख बराबरको अखाद्य वस्तु नष्ट


काठमाडौं । भक्तपुर नगरपालिका–१ चुनदेवीमा रहेको ‘चुनदेवी खाद्य स्टोर’ मा छापा मारेर १४ लाख रुपैयाँ बराबरको खाद्यान्न नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले स्टोरमा रहेका विभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरी नष्ट गरिएको हो ।

अनुगमनका क्रममा म्याद गुज्रेको, घुन तथा किरा परेको, कुहिएको चामल, दाल र तेल बिक्री वितरण हुँदै आएको समेत पाइएको छ । व्यापारी महेश ठकुल्लावटको गोदाममा राखिएका खाद्यान्नमध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरी पुनः प्याकेजिङ गरी बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको छ ।

उपभोक्ताले दिएको उजुरीका आधारमा अनुगमन गरिएको र व्यापारीले गोदामघरमै मेसिन राखेर बोरामा कुहिएका, घुन र किरा परेका चामललाई मेसिनमा राखेर किरा, घुन छुट्याएर, चामललाई पुनःसेतो बनाएर विभिन्न नामका बोरामा प्याकिङ गरेर बजारमा पठाउने गरिएको पाइएको छ । अनुगमन टोलीले गोदाम घरबाट ६ घण्टा लगाएर १ सय १९ क्विन्टल चामल, ९ क्विन्टल ७५ किलो दाल र ६ सय ३६ लिटर तेल जफत गरी भक्तपुर नगरपालिकाद्वारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरेको थियो ।

जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नुपरेको र अरु व्यापारीलाई यस्ता गल्ती नगर्न सचेत गराएका छन् । म्याद गुज्रेको सामान पुनःबिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको र नियमानुसार तीन लाख रुपैयाँ जरिबाना गरिएको छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चुनदेवी खाद्य स्टोर

तपाईको कमेन्ट लेख्नुहोस्