काग्रेस नेता प्रदीप गिरिको निधन,यस्तो छ राजनीतिक यात्रा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप गिरिको निधन भएको छ । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो । शनिबार साँझ ९ बजेर ३० बजे गिरिको निधन भएको हो । उनको पार्थिव शरीरलाई आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ ।
विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । गिरि नेपाली कांग्रेसका नेता एवम् सांसद भन्दा बढी आमस्वीकार्य चिन्तकका रुपमा स्थापित थिए । त्यसैले उनको निधनअघि नै अनेक क्षेत्रका दिग्गज व्यक्तिहरुले स्वास्थ्य लाभसहित उनको योगदान सम्झन थालेका थिए ।
धेरैले सामाजिक सञ्जाल र कतिपयले आमसञ्चार माध्यममार्फत् स्वास्थ्य लाभको कामनामा लेख नै प्रकाशित गरिएको थियो । तर, ७५ वर्षे गिरिले मृत्युलाई जित्न सकेनन् । ‘कर्मले, लेखनले, विचारले, चिन्तनले, समयले र परिश्रमले अहिलेको समाजवादी आन्दोलनका सम्भवतः सबैभन्दा अग्लो व्यक्ति हुन्, प्रदीप गिरि’, मार्क्सवादी अध्येता एवम् एमाले नेता घनश्याम भूसाल भन्छन् ।
बौद्धिकता, राजनीतिक सक्रियता र प्रतिबद्धतालाई एकैठाउँमा राखेर हेर्दा प्रदीप गिरि जत्तिको कोही मान्छे अब बाँकी नरहेको उनी बताउँछन् । ‘प्रदीप गिरिको मृत्यु समाजवादी आन्दोलनका निम्ति ठूलो क्षति हो’ भूसाल भन्छन् । उनीप्रति देखिएको असाधारण प्रेममा गिरिको व्यक्तित्व झल्किएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । ‘सत्ताप्रति कहिल्यै मोह नराख्ने, मनमौजी र समाजवादी आन्दोलनप्रति प्रतिबद्ध व्यक्तित्व स्थापित गर्नुभयो’ शर्मा भन्छन्, ‘कसैले सानिध्य धेरै र कसैले थोरै पायौं होला । तर, हरेकले अथक योद्धा र महान् गुरु गुमायौं ।’
गिरीको राजनीतिक यात्रा
प्रतिनिधि सभा सदस्यसमेत रहेका स्वर्गीय गिरी नेपाली राजनीतिक वृत्तमा एक वौद्धिक छवी भएका नेताका रुपमा चिनिन्थे । सन् २००४ साल कात्तिक १७ गते सिराहमा जन्मिएका गिरी बाल्यकालदेखि नै राजनीतिमा होमिए । उनका बुवा मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले पनि सानैदेखि राजनीतिक रस थाहा पाएका गिरी २०१७ सालबाट सक्रिय राजनीतिमा पाइला चालेका थिए ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष गरी उनले जीवनकालमा लगभग जेल जीवन बिताए । लामो राजनीतिक यात्रामा गिरी २०२४ सालमा नेपाल छात्र संघ (बनारस) हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्यसम्म भए । २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए ।
त्यतिबेलाको व्यवस्थापिका संसदमा उनले नेपाली कांग्रेस प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए । अध्ययन, चिन्तन, मनन गदैै सधैं स्वतन्त्रता र स्वच्छन्दतामा रमाउने नेता गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए । गिरीलाई अध्ययनका साथै लेखनमा पनि उत्तिकै रुचि थियो ।
उसो त लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्र लगायतका उनका दर्जनौं पुस्तक प्रकाशित छन् । सरल, मिलनसार, गान्धीका अनुयायी, माक्र्सवादका ज्ञाता, कांग्रेस–कम्युनिष्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको र व्याख्या गर्न सक्ने वौद्धिक र तार्किक व्यक्तिलाई नेपालले गुमाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डाक्टर प्रदीप गिरि, #प्रदीप गिरिको निधन, #सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्