काठमाडौंबाट फर्किएपछि बालेन साहमाथि हर्क साम्पाङको निरन्तर प्रहार,के बुझेन चित्त ?

काठमाडौं । गत बैशाखको स्थानीय तह निर्वाचन भन्दा अघिसम्म धरान वर्तमान मेयर हर्क साम्पाङ र काठमाडौंका वर्तमान मेयर बालेन्द्र साह खासै चर्चामा थिएनन् । हर्क खानेपानी अभियान लगायतका केही अभियानमार्फत स्थानीय स्तरमा खबरदारी गर्थे भने बालेन्द्र र्यापरका रुपमा केही सिमित व्यक्तिहरुमाझ मात्रै परिचित थिए । तर, ५ महिना अघिको चुनावले चर्चासँगै परिचित बनेका यी दुई पात्र अहिले हर्क भर्सेस बालेन्द्र बारमा छन् ।
चार दिन काठमाडौं बसेर धरान फर्केदेखि नै मेयर हर्क साम्पाङ काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध खोचपेचपूर्ण स्ट्याटस लेखिरहेका छन् । उनी यतिसम्म लेख्दैछन कि सुतेर बसेका मेयर बालेन्द्रलाई आफूले ब्यूझाएका कारण महिनौँदेखी थुप्रिएको काठमाडौंको फोहोर उठेको हाबादारी दाबी गरिरहेका छन् । सरोकार नै नहुने काठमाडौं महानगर र मेयरलाई घोचपेच गर्दै केहीदिनदेखी धरानका मेयर साम्पाङले फेसबुक स्ट्याटस लेख्दै आएका छन् ।
धरानका मेयर साम्पाङले समकक्षी मित्र सम्झेर सुझाब दिएको भए स्वभाविक मान्न सकिन्थ्यो । तर उनले सामाजिक सञ्जाल मार्फत गरेको घोचपेचले दुई मेयरबीच ब्याटल बार चलाएको छ । मेयर हर्ककै समर्थकहरु अनावश्यक स्ट्याटस र घोचपेचको बिरोध गरिरहेका छन् । अति भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्रले समेत आफ्नो हैसियतले नभई तपाईकै लौरो चुनाव चिन्हमा आफूले चुनाव जितेको भन्दै साम्पाङको एउटा स्ट्याटसमा जबाफ फर्काएका थिए ।
सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्ने मात्रै नभएर भिडियो लाईभ र युट्युब अन्तबार्तामा समेत साम्पाङ काठमाडौंका मेयर बालेन्द्र साहमाथी खनिएका छन् । कहिले जनश्रमदान, कहिले खरो, टर्रो बोलीका कारण त कहिले आफ्नै मोटरसाईकलमा कार्यालय जानेआउने कामबाट चर्चामा छन्, मेयर साम्पाङ । गफ होइन काम गर्नुपर्छ भन्ने उनको फेसबुके स्ट्याटस र हावादारी गफले केही गर्लान भन्ने विश्वास भन्दा पनि बिवादित बनाएको छ ।
फेसबुकमा एकोहोरो स्टाटस लेखिरहेका साम्पाङले आफ्नो जिम्मेवारी र क्षेत्राधिकार बिर्सिएर अनावश्यक टिकाटिप्पणी गरेको भन्दै सर्वत्र आलोचना हुँदैगर्दा उनी भने रोकिएका छैनन । बरु उल्टै उही शैली र आलोचनालाई निरन्तरता दिइरहेका छन् । आफ्नो खरो सुझाब पचाउन नसकेको भन्दै फेसबुक लाईभमार्फत मेयर साम्पाङले थप घोचपेच गरेका छन ।
यता, देशकै जेठो महानगर काठमाडौंका मेयर बालेन्द्र साह मेयर साम्पाङ जस्तो उग्र देखिएका छैनन । एउटा स्ट्याटसमा जवाफ फर्काएपनि उनी हर्क साम्पाङको बारेमा कुनै पनि प्रतिक्रिया दिन हतारिएका छैनन । हतारिउन पनि कसरी पानीको उपलब्धता र फोहोरको दिर्घकालिन व्यवस्थापनलाई प्रमुख मुद्धा बनाएका बालेन्द्र फोहोरमै रुमलिएका छन् ।
महानगरवासीदेखी धरानका मेयर साम्पाङ सम्मको गाली र घोचपेचलाई सहजै पचाएका मेयर बालेन्द्र आफू केही वर्ष गाली खान तयार रहेको र ५० औँ वर्षसम्मलाई सुविधा दिनेखालको उपयोगी हुनेखालको दिगो विकासमा अघि बढ्ने प्रतिक्रिया दिइरहेका छन । धरानका मेयर साम्पाङ र काठमाडौंका मेयर बालेन्द्रको ब्याटल वार यत्तिमै रोकिने छाटकाँट देखिएको छैन । मेयर बालेन्द्र केही सान्त देखिएपनि साम्पाङको घोचपेचले उनका समर्थकलाई उग्र बनाउँदैछ ।
गफ मात्रै गर्ने राजनीतिक दलका नेतालाई स्वतन्त्रले चुनौती दिदैगर्दा यी दुई चर्चित मेयरको वारले केही सितलता दिएको छ । दिर्घकालिन काम गरेर देखाउने दाबी गर्ने बालेन्द्र र आफू जत्तिको सक्रिय कोही छैन भन्दै फूर्तीफार्ती गर्ने हर्कले स्वतन्त्रले केही गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गर्छन वा एकअर्काबिरुद्धको वाकयुद्धको राजनीतिक संस्कारकै विकासमा सघाउँछन प्रतिक्षा बाँकी नै छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #धरान फर्केदेखि, #बालेन्द्र साह, #हर्क साम्पाङ
तपाईको कमेन्ट लेख्नुहोस्