बचतकर्ताको रकम झ्वाम पार्ने गौतमश्री सहकारीका अध्यक्ष रामबहादुरलाई नै लगाइयो फुलमाला ?

काठमाडौं । बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि एकाएक फरार भएका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमलाई नै फुलमाला लगाएर स्वागत गरिएको छ । रकम फिर्ता गर्न नसकी सहकारी बन्द गरेर एक सातादेखि फरार रहेका गौतम प्रहरीको सुरक्षाबीच शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वरमा सार्वजनिक भएसँगै फुलमाला र खादा लगाएर स्वागत गरिएको थियो ।
केहीदिन अघि पैसा डुबेको भन्दै सहकारीमा रुवावासी गर्दै हिडेका मध्ये केही बचतकर्ताले गौतमलाई फुलमाला र खादा लगाएर स्वागत गरेका थिए । प्रहरीको सुरक्षा घेरामा सहकारी पुगेका अध्यक्ष गौतमलाई फुलमाला र खादाले स्वागत गरेपछि सहकारी कर्मीले भने आश्चार्य प्रकट गरेका छन् ।
गौतमले आफू भारतबाट नेपाल फर्किएको जानकारी दिएका थिए । ‘फर्किनासाथ ठूला निक्षेपकर्ता र सहकारी विभाग लगायतसँग कुरा गरें, सबैलाई भेटघाट गरें,’ उनले भने, ‘ढुक्क रहनुस्, एक पैसा तलमाथि हुने छैन । मेरो सम्पत्ति बेचेर पनि तपाईंहरुको पैसा तिर्छु ।’ एक साता फरार भएका गौतमले आफू कतै नभाग्ने बताए । उनले बचकर्तालाई नआत्तिन र आफूलाई केही समय दिन आग्रह गरे ।
विगतमा सहकारीमार्फत राम्रो ब्याजदर खुवाएको भन्दै उनले अब धेरै ब्याज दिन नसक्ने बताए । ‘तपाईंहरुले पनि केही ब्याज माफी दिनुस्, तपाईंको बचतभन्दा मेरो सम्पत्ति धेरै छ । ऋण उठ्न पनि बाँकी छ, तिर्न सक्छु ।’ अध्यक्ष गौतमले सहकारीकै भवनमा बस्ने र कहीँ नजाने प्रतिबद्धता जनाएका थिए । अध्यक्ष फरार भएपछि आइतबार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध १ हजार १ सय ४५ जना बचतकर्ताले ठगीको उजुरी दिएका थिए ।
सहकारीले करिब २५ हजार बचतकर्ताको करिब ७ अर्ब रुपैयाँ बचत परिचालन गरेको छ । बचतकर्ताहरुले करिब डेढ अर्ब रकम ठगी भएको दाबीसहित उजुरी दिएका थिए । काठमाडौं महानगरपालिका १४ स्थित कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको सहकारीको सञ्चालक तथा व्यवस्थापक कार्यालयमा ताला लगाएर भागेपछि सहकारीका बचतकर्ता गत शुक्रबार सहकारी विभागमा पुगेका थिए ।
सहकारीका अध्यक्ष रामबहादुर गौतम र उनकी पत्नी निर्मला खत्री गौतमसहित १५ जना सञ्चालक तथा कर्मचारीको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार पनि गरिएको छ । काभ्रेको धुलिखेल नगरपालिका स्थायी घर भएका संस्थाका अध्यक्ष गौतम र उनकी पत्नी निर्मला, सञ्चालक समितिकै राम गौतम, सदस्यहरू होमकुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भागवती थापा, लेखा समिति संयोजक सुनिता तिमल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा र विकास चौधरी, व्यवस्थापक रवीन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम, लेखापाल सुनिता सिंह लगायतको बैंक खाता रोक्का गर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यक्ष रामबहादुर गौतम, #गौतमलाई नै फुलमाला, #गौतमश्री बहुउद्देश्यीय सहकारी, #सहकारी बन्द
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्