Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

फेरि बढ्यो कोरोना संक्रमण,चौथो चरणको त्रास,सर्वसाधारणले माक्स लगाउनै छाडे


काठमाडौं । जेठको अन्तिम साता २ प्रतिशत सम्म झरेको कोरोना संक्रमणको दर अहिले ९ प्रतिशत भन्दा माथि पुगेको छ । अस्पतालहरुमा समेत परिक्षण गरेकाहरुमा संक्रमण पु्ष्टिहुनेको संख्या पुनः बढ्दै गएको छ । जसअनुसार अस्पतालका आइसियु तथा भेन्टिलेटरमा बिरामी बढ्दै गएका छन् । यता विज्ञहरुले संक्रमण फेरि बढ्न सक्ने दाबी गर्दै सचेत गराएका छन् । सोमबार एकै दिन करिब ५ महिना यताकै सबै भन्दा धेरै ४ सय ५७ जना कोरोना संक्रमित भेटिए । अर्थात परिक्षण गराइएको मध्ये ९.८२ प्रतिशतमा संक्रमण देखियो ।

मगंलबार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत माघ ८ गते नेपालमा कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । जुन नेपालमा ओमिक्रोन भेटिए यताकै सबैभन्दा उच्च थियो । फागुन महिनाबाट विस्तारै घट्दै गएको कोरोना संक्रमण पुनः बढ्न थालेको हो । विज्ञहरुले कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरेका छन् ,तर असार २७ गते परिक्षण गराइएको मध्ये १ सय ६८, जनामा कोरोना संक्रमण पुष्टि भएर संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुग्यो र सोमबार त संक्रमणदर करिब १० प्रतिशत पुगेको छ ।

जनस्वास्थ्य विज्ञ डा.सुन्दरमणी दिक्षितले पछिल्लादिनमा जनस्वास्थ्यको मापदण्डको वेवास्ताका कारण संक्रमण बढेको बताउछन् । संक्रमण पुरानै अबस्थामा पनि फर्कनसक्ने दिक्षितको भनाइ छ । अहिले फैलिरहेको ओमिक्रोन र ओमिक्रोनको सब भेरियन्ट बिए फाइभले जटिलता नदेखिए पनि धेरै जनामा संक्रमण फैलिदा अस्पतालमा भर्ना हुनेको संख्या बढ्ने र मृत्यु समेत हुनसक्ने उनको भनाइ छ । संक्रमितको संख्यासँगै दैनिक रुपमा सक्रिय संक्रमितको संख्या पनि बढ्दो क्रममा छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित भएर ८ जना भर्ना भएका छन् । २ जना आइसियुमा उपचारत छन् । सोही अस्पतालमा केही समय अगाडि परिक्षण गरिएको मध्ये कोरोना संक्रमण पुष्टि हुनेको संख्या शुन्य थियो तर सोमबार र मगंलबारको परिक्षणमा संक्रमणदर १२ प्रतिशत भन्दा माथि पुगेको छ । त्यस्तै अन्य अस्पतालहरुमा समेत बिरामीको चाप बढ्दै गएको छ । असार २९ गतेबाट एक हजार माथि पुगेको संक्रिय संक्रमितको संख्या मगंलबारसम्म १ हजार ९ सय ८२ पुगेको छ ।

करिब अढाई महिनासम्म कोरोना मृत्यु शून्य रहेकामा पछिल्लो दुई दिनमै संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका संक्रमितमा दीर्घरोग पनि नभएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका दुवै जनाले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । मन्त्रालयले बढ्दै गएको जोखिमलाइ मध्ये नजर गर्दै अस्पतालहरुलाइ तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

जनस्वास्थ्यको मापदण्ड पालना गर्न कोरोना विरुदको खोप लगाउन मन्त्रालयको अपिल छ । कोरोना भाइरस विरुद्ध पहिलो दोस्रो र मात्रा खोप लगाएको ३ महिना पुगिसकेकाहरुले खोपको तेसा्रे मात्रा लगाउन आग्रह गरेको छ । अहिलेसम्म २३.७२ प्रतिशतले मात्रै खोपको अतिरित्त मात्रा लगाएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्