पशुपति धर्मशालामा प्रवेश गर्न नदिइएपछि प्रेम आलेले पठाएको सरकारी टोलीले गेटमै लगायो ताला

काठमाडौं । पशुपतिको नेपाल भारत मैत्री धर्मशालामा सरकारी टोली परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले अवरोध गरेका छन् । गेट नै लगाइदिएपछि धर्मशालाभित्र प्रबेश गरेका ब्यक्ती भित्रै र सरकारी टोलीसहित पुगेका सञ्चारकर्मी गेट बाहिरै रोकिए । गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबिच गेटमा केहीबेर भनाभन भएको थियो । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरिरहेका थिए । तर, सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो प्रपर्टी हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए । तर, बतास समूहले गेट नै बन्द गरेर भित्र प्रबेश गर्न नदिएपछि सरकारी प्रतिनिधि टोली सडकमै भौतारिए । झण्डै साढे दुई घण्टासम्म पनि धर्मशालामा प्रबेश गर्न नदिएपछि सरकारी टोलीले गेटमा ताला लगाएर फर्किएको छ ।
सरकारी टोली र बतास समूहको भनाभन र अवरोधपछि होटेलभित्र रहेका सेवाग्राही समेत मर्कामा परेका थिए । सरकारी टोलीलाई अवरोध गर्दा कर्मचारीमाथि नै बतास समूहले अन्याय गरेको पाइएको छ । साढे दुई महिनादेखि कर्मचारीलाई तलब नदिनेदेखि कर्मचारीलाई कामबाट समेत निकालिएको भन्दै उनीहरुले गुनासो गरेका थिए । सम्झौता अनुसार काम नभएको भन्दै कोषले चैत १७ गते बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर, बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो ।
सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ । तर भवन खाली गरिएको छैन । सरकारी प्रतिनिधिसहितको टोली शुक्रबार होटलमा ताला लगाउन आएको भन्दै बतास समूहले गेटमै रोकेको हो । संस्कृति पर्यटन तथा नागगरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा सरकारी प्रतिनिधिलाई धर्मशालामा पुगेका हुन् । होटल सञ्चालकले हुलहुज्जत गर्दै मिडिया बोकेर आएको भन्दै भित्र अवलोकन गर्ने भए समय लिएर आउन जवाफ दिइरहेको छ । स्थानीय जनप्रतिनिधिले मुचुल्कामा सही गर्न मानेका छैनन् ।
पशुपति क्षेत्र काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा पर्छ । सो वडामा सत्तारुढ नेपाली कांग्रेसले जितेको छ । संघीय सांसद पनि कांग्रेसकै गगनकुमार थापा छन् भने प्रदेश सांसद कांग्रेसका नरोत्तम वैद्य छन् । तर, सत्तापक्षकै जनप्रतिनिधिले सहयोग नगरेको पर्यटनमन्त्री आलेको दुखेको छ । पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीको सुविधाका लागि भारत सरकार र पशुपति क्षेत्र विकास कोषबीच धर्मशाला निर्माणको सम्झौता भएको थियो । २०७५ भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा धर्मशालाको उदघाटन गरेका थिए ।
पशुपतिनाथको मन्दिर सञ्चालन र सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी पशुपति क्षेत्र विकास कोषको हो । तर, कोषका तत्कालिन पदाधिकारीले आफूखुसी मनोमानी गरेर धर्मशाला बतास समुहलाई होटेल आनन्द सञ्चालन गर्न सम्झौता गरेका थिए । सोही सम्झौता रद्ध गरी धर्मशालाबाट बतास समूह हटाउन मन्त्री आलेले दौडधुप गरिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बतास समूह, #सरकारी टोली, #सरकारी प्रतिनिधि
तपाईको कमेन्ट लेख्नुहोस्