नायक पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १४ वर्ष कैद सजायको माग
काठमाडौं । बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । बलात्कारको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता भएको बताइएको छ ।
अभिनेता पल शाहसँगै उनका म्यानेजर कृष्ण जोशीमाथि पनि सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ । जोशीले बालिका बलात्कार प्रकरणमा मतियारको भूमिका खेलेको भन्दै उनलाई पलमाथि हुने सजायको आधा सजाय मागदाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो । अभिनेता पलमाथि जबरजस्ती करणीको कसुर स्थापित हुने यथेष्ट आधार र प्रमाण पेश गरिएको प्रहरीले दाबी गरेको छ ।
साक्षीको बयान, घटना विवरण कागज, वारदातस्थलमा रहेको पुष्टि हुने प्रमाण, अभियुक्त र आरोपीबीचको संवादको कल डिटेल्स आदिलाई प्रमाणका रूपमा प्रस्तुत गरिएको छ । अभिनेता पल शाहले भने हालसम्म पनि पीडित बालिकासँग प्रेम वा यौन सम्बन्ध केही नरहेको भन्दै जबरजस्ती करणीको अभियोग झुट्टा रहेको बयान दिँदै आएका छन् । गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा अभिनेता पल शाहविरुद्ध उजुरी दर्ता भएको थियो ।
तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको थियो । त्यसपछि शाह फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका थिए । मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #तनहुँ जिल्ला अदालत, #पल शाह, #बालिका बलात्कार
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्