Techie IT
  • २९ असार २०८२, आईतबार
KhojPatrika

महंगीले आकाश छुँदा पनि सरकार निद्रामै, दलका नेताहरुको टालटुले जवाफ


काठमाडौं । आम नागरिकको भान्सा थेग्नै नसक्ने गरि महंगो हुँदा पनि सरोकारवाल पक्ष जिम्मेवार नभएको भन्दै नागरिक आक्रोशित छन् । तर सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन् । अहिले बजारमा नेपाली उपभोक्ता वस्तु र सेवा दुवै क्षेत्रमा दिन दुगुना र रात चौगुना ठगिइरहेका छन् । एउटा उपभोक्ता बजार गएर घर र्फकदा आफू लुटिएको महसूस गर्दै घर र्फकनु परेको छ ।

उपभोक्ता बजारमा हुने अखाद्य वस्तुको उत्पादन, बेचबिखन, भण्डारण, गुणस्तरहिन सामानहरूको बिगबिगी, उपभोक्ताको अनुहार हेरेर कायम मूल्य, विषादी र एन्टीवायोटिक प्रयोग गरिएका फलफूल तरकारी र माछामासु उपभोग गर्न बाध्य छन् । पानी, दूध, बिस्कुट, चामल, तेल लगायत दैनिक अत्यावश्यक खाद्यवस्तु ढुक्कका साथ प्रयोग गर्न सक्ने अवस्था छैन ।

गुनासो सम्बोधन गर्ने संयन्त्र नहुँदा बजारमा वस्तु र सेवाप्रदायकको मनोमानी बढ्दै गएको छ । तर सरकारले उपभोक्ताको हितमा के कस्ता नीति बनाउने, मूल्यवृद्धि, अभाव र कालोबजारी कसरी रोक्ने भनेर सोच्नसमेत सकेको छैन । संगठित व्यवसायीको मारमा असंगठित उपभोक्ता परेका छन्। गैरजिम्मेवार नियामक निकायको कारण वजारमा उपभोक्ता अपहेलित हुनु परेको छ ।

राज्य संयन्त्रसँग मूल्य नियमन, विश्लेषण र निर्धारण गर्ने संयन्त्र नहुँदा राज्यको सम्पूर्ण अङ्गहरूमा बिचौलिया हावी भएका छन् । उपभोतmाहरु दिन २ गुणा रात चौ गुणा ठगीरहदाँ पनि सरकार टुलुटुलु हेरिरहको गुनासो छ उपभोक्ता अधिकारवादीको । नेपालको संविधान २०७२ को धारा ४४ ले प्रत्याभूत गरेको मौलिक अधिकार–छनोट, सुनुवाई, प्रतिष्पर्धा, गुणस्तरीय वस्तु र सेवा, शिक्षा, स्वाथ्य आदि उपभोक्ताका अधिकार हुन् । तर विडम्बना अहिले उपभोक्ताले यो अधिकार प्रयोग गर्न पाएका छैनन् ।

उपभोक्ताको अधिकार खोसिएको छ । राज्यले स्वच्छ बजार विपरीतका कार्यक्रमलाई निरुत्साहित गर्न बजारलाई पूर्ण रुपमा स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउने ठोस पहलकदमी नहुँदा वस्तु र सेवा प्रयोगकर्ता आहत छन् । गैरजिम्मेवार व्यवसायीक क्रियाकलापको कारण बजार अराजक बन्दै गएको छ । यसको सम्पूर्ण मार उपभोक्ताले व्यहोर्नु परेको छ । उपभोक्ताका यस्ता गम्भीर समस्या समाधान गर्नका लागि सरकार कहिले ब्यूझिने ? उपभोक्ताको अधिकार कहिले सुनिश्तिन हुने ? धेरैले धेरै समयदेखि प्रश्न गरिरहेका छन् ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अखाद्य वस्तु, #कालोबजारी

तपाईको कमेन्ट लेख्नुहोस्