Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च,तोलाको १ लाख ५ हजार ५ सय पुग्यो


काठमाडौं । नेपाली संस्कार, रितिरिवाज र व्यवहारअनुसार आवश्यक पर्ने पँहेलो धातु सुनको मूल्यवृद्धि भएर बुधबार नेपाली बजारमा तोलाको १ लाख ५ हजार ५ सयमा नयाँ रेकर्ड बनायो । अन्तर्राष्ट्रिय बजारमा अत्याधिक मूल्य बढेको र सुन किन्न चाहिने डलरको पनि भाउ बढेपछि नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड बनाएको हो । यसअघि २०७७ साउन २३ गते सुनको मूल्यलृ १ लाख ३ हजार ५ सय रुपैयाँमा नयाँ रेकर्ड बनाएको थियो । यो रेकर्ड पहिलेको तुलनामा २ हजार रुपैयाँले बढी हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस २ हजार ५६ डलरसम्म पुगेको छ ।

२०७७ साल साउन २३ गते अन्तर्राष्ट्रिय बजारमा २ हजार ८० डलरमा पुगेर सुनको मूल्यले रेकर्ड बनाएको थियो । रुस–युक्रेन युद्धका कारण विश्वयापीरुपमा पेट्रोलको अभाव भएपछि सबै वस्तुको मूल्यवृद्धिमा दबाबसहित शेयर बजार र अन्य लगानीका क्षेत्र नराम्ररी प्रभावित बनेपछि अहिले सुरक्षित लगानीको साधन एवं सम्पति सुनमा लगानी गर्न मानिसहरु आकर्षित भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार तेजरत्न शाक्यले बताए । युद्धका कारण बजारमा सुन, डलर र पेट्रोलियम पदार्थको मूल्यले दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको छ ।

पेट्रोलियम कच्चा आयलको मूल्य १ सय ३१ डलर नाघेर रेकर्ड बनाइसकेको छ । महँगीएर मंगलबार १ डलरको बिक्रीदर १ सय २३ रुपैयाँ ४४ पैसासम्म पुगेर नयाँ रेकर्ड बनायो । अन्तर्राष्ट्रिय शेयर बजार सहित लगानीका क्षेत्रहरु खस्किरहेका छन् । रुस–युक्रेन युद्धले विभिन्न कारण विश्व बजारमा महंगी बढ्दै जाँदा आम नागरिकको दैनिकी थप कष्टकर बन्दै जाने देखिन्छ । सम्पति जोड्न सुनमा लगानी गर्नु नेपालीको पुरानो चलन हो । सामाजिकरुपमा जन्म, छैठी, न्वारन, कर्मकाण्ड, विवाह, मृत्युसम्ममा सुनको प्रयोग र सुनपानी दिने नेपाली संस्कार नै हो ।

मूल्यले रेकर्ड बनाएपछि क्रयशक्ति कम भएका सर्वसाधारणले सुन किन्न नसक्ने र संस्कर रितिरिवाज नै परिवर्तन हुने हो कि भन्ने चिन्ता पनि थपिएको छ । सुनको मूल्य बढेपछि वैशाखमा शुभकार्य गर्न खोजेकाहरु चिन्तामा छन् । उपभोक्ताले थोरै सुन किनेर चलाउनुपर्ने बाध्यात्मक अवस्था आइसकेको छ । यता यति नै बेला नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा संचितिले छ महिना र केही दिनका लागि मात्र वस्तु तथा सेवा आयात धान्ने अवस्था भएपछि सुनको आयात कोटा आधा कटौती गरी दैनिक १० किलोमा झारेको छ ।

राष्ट्रको संकटका बेला सुन नलगाएर राष्ट्रलाई सहयोग गर्नु सबैको कर्तव्य भएपनि वैशाख लागेपछि हुने सिजनका बेला भने राज्यले कोटा बढाएर सहयोग गरिदिनुपर्ने व्यवसायीहरु बताउँछन् । व्यवसायीका अनुसार सिजनका बेला नेपालमा दैनिक ५० किलो सुनको माग हुने गर्दछ । यता अर्थशास्त्रीहरुले सुनको भाउ उकालो लाग्दा बजारमा अवैध कारोबार र मिसावट एवं ठगीका घटना बढ्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पेट्रोलियम पदार्थ, #मूल्यले रेकर्ड, #सुनको मूल्य

तपाईको कमेन्ट लेख्नुहोस्