Techie IT
  • १९ असार २०७९, आईतबार
KhojPatrika

सहकारी बैंकको लगानी र कारोबार नै अपारदर्शी,अध्यक्ष उप्रेतीसँगै सञ्चालकले यसरी मच्चाउँदै छन लुटको खेती


काठमाडौं । उत्कृष्ट वित्तीय सेवाको नारा बोकेर अघि बढिरहेको राष्ट्रिय सहकारी बैंक यतिबेला चरम तरलता ब्यहोर्नुपर्ने अवस्थामा आइपुगेको छ । हुन त अहिले बैंक, सहकारी सबैले तरलता अभावको सामना गरिरहेका छन् । जसमध्ये पनि सहकारि बैंकमा ठूलो समस्या देखिएको छ । सहकारीका अध्यक्ष केवी उप्रेती, अन्य केही सञ्चालक र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईको मनोमानीका कारण सहकारी बैंक नै धारासायी हुने अवस्थामा आएको भन्दै कतिपय सञ्चालकहरु नै चिन्तित बन्न थालेका छन् ।

सदस्यहरुको दीगो विकासका लागि नवीनतम प्रविधिसहित प्रतिस्पर्धी एवम् गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्ने लक्ष्य राखेको यो बैंक अहिले प्रतिस्पर्धाका लागि अर्को बैंक आउनबाट रोक्ने अभियानमा सक्रिय बनिरहेको छ । बैंक र सदस्यहरुमा संस्थागत सुशासन कायम गर्ने–गराउने दाबी गर्ने राष्ट्रिय सहकारी बैंकका कतिपय गतिबिधिले सहकारी अभियानको संस्थागत विकास र सुशासन भन्दा पनि कमाउ धन्दामा सक्रिय भएको देखाएका छन् । राष्ट्रिय सहकारी बैंकले यतिबेला मागेजति ऋण प्रवाह गर्न त सकेको छैन नै बचतको पैसा फिर्ता माग्न पुगेका कतिपय सहकारीहरू नै बारम्बार फर्किनुपर्दा आजित भएको गुनासो गरिरहेका छन् । कम्युनिस्ट समर्थकको बाहुल्यता, उनीहरुकै नजिककाहरुले बढी ऋण पाउने चर्चा सहकारी बैंकका कारोबारबाटै पुष्टि भैरहेको छ ।

बैंकको वासलत अनुसार २ अर्ब ८७ करोडको शेयर पुँजी छ । कुल निक्षेप नै ६६ अर्व ३४ करोड बढी देखिएको छ । ३५ अर्ब ९१ करोड कर्जा तथा सापट लगानी भएको यो सहकारी बैंकमा तरलताको अभाव चरम देखिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सहकारीहरूले करोडौँ पैसा राखेका छन् । सहकारी बैंकमा १३ हजार ७ सय १२ वटा सहकारीहरु जोडिएका छन् । यी सहकारीमा लाखौं शेयर सदस्य र बचतकर्ता छन् । बैंकका पदाधिकारीको कमाउ धन्दाका कारण सहकारी अभियानमा जोडिएका लाखौँ नागरिकको अर्बौ पैसा डुब्ने चिन्ता बढ्न थालेको छ ।

बैंक डुब्ने अवस्थामा पुगेको आशंका पछि सहकारीहरूले पैसा फिर्ता माग्ने क्रम बढेपनि अध्यक्ष के.वी. उप्रेती र कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइँले पैसा फिर्ता दिन अस्वीकार गरेको आरोप लाग्न थालेको छ । बैकको तरला १५ प्रतिशतभन्दा बढी हुनुपर्नेमा ५ प्रतिशत पनि छैन । अध्यक्ष उप्रती मात्रै नभएर कार्यकारी अधिकृत गुरागाइँ समेत बित्तिय क्षेत्रका माहिर खेलाडी भएको र उनीहरुको गलत नीति, व्यवस्थापनका कारण सदस्य सहकारीहरू समस्यामा परेको नाम सार्वजनिक नगर्ने सर्तमा कतिपय सञ्चालकहरु नै स्विकार गरिरहेका छन् ।

अर्कोतर्फ बैंकले तजविजका आधारमा विनाधितो १० अर्बभन्दा माथि लगानी गरेको पाइएको छ । नाम गोप्य राख्ने सर्तमा बैंककै एक कर्मचारिले हरेक ऋण प्रवाहमा कमिशनको खेल हुने गरेको पार्टीगत झुकाब र निकटता भएकाहरुलाई मागेजति ऋण प्रवाह र अन्यलाई मागेको भन्दा थोरै मात्र ऋण प्रवाह हुने गरेको खोज पत्रिकासँग बताए । कुल कर्जा लगानी ३५ अर्व ९१ करोड माथि रहेकोमा लघुबित्त कर्जा मात्रै २ अर्व ३४ करोड रहेको छ । यस्तै, घर घडेरी खरिद तथा भवन निर्माण कर्जाका नाममा १ अर्व ३ करोड लगानी भएको देखिन्छ ।

आफू निकटका ब्यवसायीहरुलाई गुडविलका नाममा अध्यक्ष उप्रेति र उनको समूहले ब्यवसायी किस्ताबन्दी कर्जा ३ अर्व ७७ करोडभन्दा बढी निकासा गरेको देखिन्छ । यी बिभिन्न शिर्षकका कर्जामा समेत कमिसनको खेल हुने गरेको सहकारीकर्मीहरु बताउछन् । यसको नियमन र लगानीको अवस्था बारे एकिन गर्न कसैले चासो दिएको देखिदैन । राष्ट्रिय सहकारी बैंक र हाम्रो सगरमाथाको दुबैको अध्यक्ष एउटै व्यक्ति उप्रती छन्, उनले विगतमा आफ्नै सहकारीलाई बिना धितो करोडौँ कर्जा प्रवाह गरेर विभेदको सुरुवात गरेपनि सञ्चालक कसैले पनि बिरोध गर्ने हिम्मत गरेनन ।

सहकारीलाई ऋण दिन नमिल्ने नियम उल्लंघन गरेर ऋण लगानी, नक्कली वासलत बनाइएको आरोप समेत सहकारी बैंकका अध्यक्ष र सञ्चालकमाथी लाग्दै आएको छ । पछिल्लो वासलतबाट सहकारी बैंको अवस्था सकारात्मक सूचकमा अघि बढेको देखिएपनि सञ्चालकको भित्रि खेल भने निक्कै डरलाग्दो छ । जसका कारण संस्थागत हित भन्दा व्यक्तिगत उन्नती बढी देखिएको छ । चरम व्यथिति झांगिएको सहकारि क्षेत्रलाई सुधार्नुपर्ने अभियन्ताहरु गुमनाम देखिदा स्थानीय सरकार, प्रदेश सरकार सहकारी विभाग र नेपाल राष्ट्र बैंक नियमन र सुधार भन्दा व्यथितिको लाभमै रमाइरहेका छ । वित्तिय क्षेत्रमा सञ्चालकले मच्चाएको मनोमानीले करोडौँ सहकारी सदस्य र बचतकर्ताको भविश्य अन्यौल बन्दा पनि नियामक निकायहरु चुप बस्नुले यहाँ सबैको सेटिङका बिक्रिति मच्चाइएको त छैन भन्ने प्रश्न समेत उठाएको छ ।
सञ्चालकको आचरणमाथी नै बारम्बार उठिरहेको छ प्रश्न
काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिबारी र राष्ट्रिय सहकारी बैंकका कार्यकारी अध्यक्ष के.वी. उप्रेती केही वर्ष अघि मात्रै भ्रष्टाचार आरोपमा अनुसन्धानको दायरामा तानिएका थिए । सिभिल होम्स प्रालिका अध्यक्ष रहेका हाउजिङ व्यापारी तथा पूर्वसांसद इच्छाराज तामाङ (अहिले हिरासतमा रहेका) माथि पनि छानबिन भएको थियो । सिभिल ग्रुपका नाममा रहेको सुनाकोठीको जग्गा भित्रको २ रोपनी १ आना १ दाम ३ पैसा पर्ति जग्गा मध्येको कित्ता नम्बर १७१ सहित आवासीय समाजको स्वामित्वमा भएको जग्गा धितो राखेर इच्छाराज तामाङले २०७५ साउनमा २० मा ९ करोड १६ लाख रुपैयाँ सहकारी बैंकबाट कर्जा लिदा अध्यक्ष उप्रतीको बद्नियतपूर्ण भुमिका देखिएको थियो ।

यता, चेक बाउन्सदेखी ढुकुटी काण्डमा मुछिएर कारबाही भोगेका केदार मानन्धर सहित सहकारी अभियानका नाममा चरम मनोमानी गर्नेहरु नै अहिले सहकारी बैंकमा हाबी हुँदा मनोमानीले सिमा नाघेको छ । बेला बेलामा यहाँका व्यथितिहरु सहकारी विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो र अख्तियारसम्म पुगेपछि शक्ति पँहुच र पैसाको बलमा यत्तिकै तुहिने गरेका छन् । सहकारी ऐन २०७४ मा समेत अनाधिकृत रुपमा सुरक्षण बिना ठूलो रकम जमानतमा ऋण प्रदान गर्न नपाईने ब्यवस्था गरिएको छ । तर सहकारी बैंकले ३० करोडभन्दा बढी लगानी यसैगरी गरेको छ । सहकारी बैंकको क्षेत्राधिकार सहकारी सँस्थाहरुसँग वित्तीय कारोबार गर्नु हो । तर, घुमाउरो पारामा सहकारीहरु मार्फत चाहेको व्यक्तिहरुका लागि ऋण उपलब्ध गराउने काम गर्दैआएको पाइएको छ ।

हालिमुहाली गरिरहेका सहकारी बैंकका अध्यक्ष उप्रती भने भने आफूमाथी लागेका आरोप गलत भएको दाबी गर्छन । यता, सहकारी अभियन्ताहरु भने सहकारी बैंकका सञ्चालकहरुले आफ्नो सम्पती छानविनको खुला आह्वान गर्न सकेमात्रै पारदर्शीताको विश्वास गर्न सकिने दाबी गरिरहेका छन् ।
कारोबारमाथी नै उठ्दैछन गम्भिर प्रश्न
सहकारिको वासलत हेर्दा नै कागजी प्रक्रिया पुरा गरेर ठूलो रकमको हिनामिना भएको हुनसक्ने आशंक गर्न ठाउँ प्रसस्तै देखिन्छन् । वासलतको क्षेत्रगत कर्जा लगानी शिर्षकमा जम्मा ३५ अर्व ९१ करोड भएको देखाइएको छ भने सहकारी संस्थालाई दिइएको भन्ने अर्को शिर्षकमा ३५ अर्व ९७ करोड बढी लगानी भएको देखाइएको छ । यी दुई शिर्षकमा देखिएको फरक–फरक विवरणले ६ करोडको लगानी कहाँ छ ? भन्ने प्रश्न उब्जाएको छ । सहकारी सदस्यहरुबीच मात्रै आर्थिक कारोबार हुनुपर्नेमा व्यवसायीक लगानीमा समेत बैंकले हात हालेर मनोमानी गरेको देखिएको छ ।

घरघडेरी खरिद तथा भवन निर्माण शिर्षकमा  १ अर्ब ३ करोड बढी लगानी

सञ्चालकहरुले लिने भत्ता लगायतका सुविधामा समेत प्रश्न उठ्ने खालको खर्च देखिएको छ । घरभाडा र कार्यालय भाडा लगायतका दोहोरो शिर्षक राखेर समेत खर्चको दायरा बढाउन खोजिएको वासलतमा प्रष्ट देखिन्छ । उत्पादनमुलक क्षेत्रमा लगानी गर्न गराउन, सदस्यहरुको उद्यमशिलता विकास मार्फत उत्पादकत्व बढाउन भन्दा पनि कमाउन मात्रै सहकारी बैंक र सहकारीले लगानी गरेको देखिएको छ । घरघडेरी खरिद तथा भवन निर्माण शिर्षकमा गरिएको १ अर्ब ३ करोड बढी लगानीले समेत यसलाई पुष्टि गरिदिएको छ । अल्पकालिन व्यवसायिक कर्जा, किस्ताबन्दी कर्जा, व्यवसायिक किस्ताबन्दी कर्जा, हायरपर्चेज कर्जा जस्ता शिर्षकमा प्रवाह भएको ठूलो रकमको ऋण प्रवाहले समेत बैंकका गतिबिधिमाथी सोच्न सदस्य सहकारीहरुलाई बाध्य बनाएका छन् ।

हामी सहकारी अभियान र सहकारी बैंकका व्यतिथिको चिरफारको अभियानमा छौँ । सहकारी बैंकमा के कस्ता पात्रहरुको हालिमुहाली चलिरहेको छ । ऋण प्रवाहका नाममा कसरी कमिशनको खेल हुन्छ ? सहकारी बैंकसँगै सहकारीका नाममा रोडबाट उठेर करोडमा खेलिरहेका पात्रहरुको नालीबेलीसहितका थप श्रृङखलाहरु निरन्तर प्रस्तुत गर्दै जानेछौँ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केवी उप्रेती, #बद्रीकुमार गुरागाई, #सहकारी बैंक

तपाईको कमेन्ट लेख्नुहोस्