Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

बिचौलियाको चंगुलमा ललितपुर मालपोत र जनप्रतिनिधि, कित्ताकाटमा शालिकरामको करोडौं चलखेल !

आवरणमा लेखापढी सहितका पात्र


ललितपुर । देशको सबैभन्दा बढी राजश्व संकलन हुने मालपोत कार्यालयका रुपमा परिचित ललितपुर मालपोतमा निक्कै धेरै व्यथितिहरु छन् । कार्यालयलाई केही सुधार गर्ने प्रयत्न भएपनि यहाँ सामान्य नागरिक भन्दा बढी पँहुच लेखापढी व्यवसायी अर्थात बिचौलियाहरुकै छ । मालपोत कार्यालयका कर्मचारिहरु प्रत्यक्ष रुपमा कुनैपनि लेनदेनमा संलग्न नदेखिएपनि लेखापढी मार्फत हुने गैह्र कानुनी असुली भने निरन्तर चलिरहेको छ ।

ललितपुर महानगरपालिकाका केही वडा र गोदावरी नगरपालिकाका क्षेत्र अहिले प्लटिङका हब बनिरहेका छन्, प्लटिङ मार्फत जग्गा टुक्राउन र बिक्रिवितरणको दाखिलामा नापी र मालपोतको ठूलो हात हुने गर्छ । तर स्थानीय तहबाट सम्याउन, खेतीयोग्य जमिन विकासका नाममा राजश्यक दाखिला गरेर अनुमती लिइएको भएपनि अधिकांश जग्गाहरु ध्माधम प्लटिङ मार्फत टुक्र्याइएका छन् । उपत्यका विकास प्राधिकरणको अनुमती बाहेकको कित्ताकाट सरकारले रोक्का राखेको समयमा कसरी भैरहेको छ प्लटिङ र जग्गा टुक्राउने काम ? मालपोत कार्यालय यसमा नाजवाफ छ ।

यसरी भैरहेको छ, ललितपुर मालपोतमा कित्ताकाट र जग्गा दाखिलाको काम
हुन त कतिपय अवस्थामा कित्ताकाटमा झगडिया खडा गराएर अदालतको साहारा लिइएका छन् । कुनै न कुनै कानुनी आधारलाई टेक्न खोजिएको छ । तर ललितपुर मालपोत भित्रको वास्तविकता अर्कै छ । यहाँ जग्गा बैना गरेर प्लटिङ मार्फत टन्न कमाएकाहरु सक्रिय छन् । उनीहरुले लेखापढी व्यवसायी र केही अधिकृत, खरदारहरुलाई प्रभावमा पारेर यो सबै काम भैरहेको छ । नाम सार्वजनिक नगर्ने सर्तमा मालपोतकै पूर्व कर्मचारिहरु जग्गा कित्ताकाट धन्दामा ठूलो आर्थिक खेल भएको स्विकार गर्छन ।

कतिपय जग्गा व्यवसायीहरु नै वडा कार्यालयदेखी नगरपालिका मालपोतसम्मलाई पैसा खुवाएर काम गर्नुपरेको स्विकार गर्छन । एउटा टुक्रा जग्गा बराबर एक लाखदेखी २ लाख सम्म खर्च गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरुले स्विकार गरेपनि मालपोत कार्यालय भने गैह्रकानुनी आर्थिक चलखेललाई सकभर लुकाउन खोज्छ । अन्यथा सम्याउने मात्रै अनुमति लिइएका जग्गा कसरी टुक्रिए त ? अनि घडेरि विकास गरेर कसरी धमाधम बिक्रिवितरण र नामसारी कसरी भए ? यसको जवाफ मालपोत कार्यालयका कुनैपनि अधिकारि दिन सक्दैनन् ।

महालेखाले समेत औँल्यायो भ्रष्टाचार
अर्कोतिर केही समय अघि मात्रै पनि महालेखा परिक्षकको प्रतिवेदनले मलपोत कार्यालय ललितपुरमा भएको गम्भिर प्रक्रितिको अपचनको काण्ड सार्वजनिक गरेको थियो । ललितपुरस्थित एक डेभलोपर्सले आफ्नो स्वामित्वमा रहेको इमाडोलस्थित वडा नम्बर ५ को कित्ता नम्बर ९ को १ हजार २४० वर्गमिटर जग्गा ५ करोड १८ लाख ४० हजारमा एक व्यक्तिलाई निःसर्ग गरि ५ दिनपछि पुनः सोही सञ्चालक भएको अर्को कम्पनीले उक्त व्यक्तिबाट सो जग्गा १५ करोडमा खरिद गरिएको छ । पहिलो कारोबारमा २५ प्रतिशत आयकर आकर्षित हुने हुँदा न्यून मूल्यांकनमा आफ्नै कम्पनीले खरिद गरेको देखिएको छ । संस्थाको निसर्गमा ९ करोड ८१ लाख ६० हजार घटी थैली कायम हुँदा २५ प्रतिशतले हुने आयकर २ करोड ४५ लाख ४० हजार छुट भएकाले यस सम्बन्धमा छानविन गरेर कर दायित्व एकिन गर्न भनिएको छ ।

आवरणमा लेखापढी सहितका पात्र, मुख्य खेलाडी प्रमुख मालपोत अधिकृत नै
आवरणमा लेखापढी व्यवसायी र मालपोतका लो प्रोफाइलका कर्मचारिहरुको खेल जस्तो देखिएपनि ललितपुर मालपोतमा आर्थिक लेनदेनको व्यथिति प्रमुख मालपोत अधिकृतकै कारण मौलाएको कतिपय कर्मचारिहरु नै स्विकार गर्छन । लेखापढी व्यवसायी र जग्गा कारोबार गर्नेहरुले हाम्रो स्टिङ अप्रेशनमा कमिशन र घुष बिना कामै नहुने स्विकार गरेका छन् । उनीहरुले वडादेखी मालपोतसम्म बुझाउनुपर्ने गैह्र कानुनी रकमको फेहरिस्ता नै बताएका छन् ।

१६ महिनादेखी प्रमुख मालपोत अधिकृतका रुपमा ललितपुर मालपोतमा शालिकराम आचार्य कार्यरत रहेका छन् । उनी आएसँगै एकाएक ललितपुरमा जग्गा कित्ताकाट बढेको छ । प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यसँगको लेनदेन नमिलेकै कारण मालपोतमा कार्यरत मालपोत अधिकृत कुमार आचार्यलाई सरुवा गराएको कर्मचारि बृत्तमा चर्चा चलिरहेको छ । कुमार यस्ता कर्मचारि हुन जो बिचौलियासँग पैसासँगै बारम्बार महंगा रक्सि समेत मागेर सताउने गर्थे, हाल उनी कपिलवस्तुमा कार्यरत छन् । आचार्यले कर्मचारि सरुवाको अधिकार आफूमा नभएको दाबी गरेपनि यो आरोप मात्रै नभएर वास्तविकता भएको बताइरहेका छन् ।

हामीले ललितपुर मालपोतको व्यथिति र प्रमुख मालपोत अधिकृत आचार्यमाथी लाग्दैआएको आरोप बारे बुझ्दा यी सबै मिथ्या आरोप भएको जवाफ दिए । तर कानुनले बर्जित गरेको जग्गा कित्ताकाटको भेल किन आयो भन्ने बारे भने फाटवालासँग बुझ्नुपर्ने भन्दै जवाफ दिनबाट तर्किए । आखिर ललितपुर मालपोतमा लेनदेन बिनै कित्ताकाट भैरहेको छ त ? जग्गा कित्ताकाट लगायतका लेनदेनमा जग्गा कारोबारी, लेखापढी, कर्मचारि, वडा अध्यक्ष, नगरप्रमुख, उपप्रमुख क—कस्को हात छ, तथ्यसहितको तेस्रो श्रृङखला छिट्टै आउनेछ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्लटिङका हब, #मालपोत कार्यालय, #ललितपुर मालपोत, #लेखापढी व्यवसायी

तपाईको कमेन्ट लेख्नुहोस्