Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

अझै लोकसेवाले रोकेको शाखा अधिकृतको परीक्षा तत्काल नहुने


काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको लोकसेवा आयोगको शाखा अधिकृतको लिखित परीक्षा तत्काल शुरु नहुने देखिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले गत माघ १२ गते कर्मचारी समायोजन र शाखा अधिकृतको दरबन्दी संख्यासम्बन्धी विवाद टुंगाए पनि आयोगले परीक्षा शुरु गर्न नसकिने निष्कर्ष निकालेको थियो ।

आयोगलाई विपक्षी बनाइएका करिव ३५ वटा मुद्दामध्ये २५ वटा मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासबाट टुंगिएपनि अरु केही मुद्दा अझै बाँकी छन् । पछिल्लो पटक कोरोना महामारीको तेस्रो लहरका कारण सर्वोच्च अदालतले सेवा कटौती गरेर केही सीमित प्रकृतिका मुद्दामा मात्रै सुनुवाई गरिरहेको छ ।सर्वोच्च अदालतमै विचाराधीन अरु मुद्दा नटुंगिएको भन्दै लोकसेवा आयोगले गतवर्ष नै प्रारम्भिक परीक्षा लिएको शाखा अधिकृतको दोस्रो चरणको परीक्षा शुरु गर्न नसक्ने निष्कर्ष निकालेको छ ।

गत माघ १२ गते सर्वोच्च अदालतले कर्मचारी समायोजनलाई कानूनसम्मत ठहर्‍याउँदै समायोजन भएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा फर्काउन नपर्ने फैसला गरेको थियो । त्यसक्रममा उसले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुको सिट सुरक्षित राख्नु भनी जारी भएको अन्तरिम आदेश खारेज हुने निर्णय सुनाएको थियो । अनि रोकिएका परीक्षासमेत सञ्चालन गर्नू भनेको थियो । त्यो मुद्दाको हकमा आदेश आएपनि अरु मुद्दा विचाराधीन भएको भन्दै लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षा तत्काल अघि नबढाउने योजना बनाएको हो ।

सर्वोच्च अदालतमा विचाराधीन केही मुद्दाका कारण गतवर्ष र यसवर्षको शाखा अधिकृतको परीक्षा प्रक्रिया अवरुद्ध भएको छ । गतवर्ष शाखा अधिकृतको प्रारम्भिक परीक्षा दिएर उतीर्ण भएका करिब १० हजार परीक्षार्थी करिव दुई सय पदका लागि प्रतिस्पर्धामा छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण उनीहरुको परीक्षा रोकिएको हो । पूर्ण इजलासले गत माघ १२ गतेको फैसलामा संयुक्त इजलासमा विचाराधीन उस्तै प्रकृतिका विवादवारे केही बोलेको छैन ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #शाखा अधिकृत, #सर्वोच्च अदालत

तपाईको कमेन्ट लेख्नुहोस्