स्थानीय तहको चुनावलाई लिएर कांग्रेसभित्र दुई धार, बैशाखमै निर्वाचन गर्नुपर्ने अधिकांशको मत

काठमाडौं । सत्तारुढ गठबन्धनले निर्वाचन ऐन संशोधन गरेर वैशाखका लागि प्रस्तावित स्थानीय तहको निर्वाचन सार्न लागेको भन्दै नेपाली काँग्रेसको संस्थापन इतर समूहले रोष प्रकट गरेको छ । सोमबार संस्थापन इतर समूहको नेताहरु शेखर कोइराला, महामन्त्री गगन थापा, अजुननरसिंह केसी, डा. चन्द्र भण्डारी, डा. रामशरण महात, डा. मिनेन्द्र रिजाल लगायतको भर्चुअल बैठकले पार्टीको संस्थागत र नीतिगत निर्णयभन्दा बाहिर गएर सत्तागठबन्धनको निर्णय लाद्ने काम पार्टी सभापति शेरबहादुर देउवाले गरेको आरोप लगाउँदै पाँच दलीय गठबन्धनले कांग्रेस पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । यसलाई आफूहरुले नस्विकार्ने नेता अर्जुननरसिंह केसी बताउछन् ।
सरकार सञ्चालनमा बाधा अड्काउ फुकाउनका लागि बनाइएको समन्वय समितिबाटै सबै निर्णय गर्न खोजेकोप्रति कटाक्ष गर्दै संस्थापन इतर समूहले गठबन्धन सुपर पार्टी नभएको स्पष्ट पारेको छ । त्यसलाइ नमान्ने जानकारी दिदै संस्थापन इतर समुहका नेताहरुले काँग्रेसमा विधिहीनता हुन नदिने दाबी गरे । सभापति देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेकोले अबिलम्ब केन्द्रीय कार्यसमितिको बैठक बोलाई केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न संस्थापन इतरको माग छ ।
सभापति देउवा पक्षका नेताहरुले भने संस्थापन इतर समूहको निर्णयलाई चुनौती दिँदै जिम्मेवार नेताहरुले समस्या उत्पन्न गर्नु भन्दा समाधानको विकल्पसहित आगाडि आउनुपर्ने बताएका छन् । सभापति देउवा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत मिलाउँदै सरकारको काममा बढी ब्यस्त रहनुपरेको हुनलो पार्टीको काममा कम समय दिनुपर्ने बाध्यता आइपरेको उनीहरुको तर्क छ । निर्वाचनबारे संविधान र कानुन बाझिएको विषयलाई पार्टी भित्रका सबै नेताहरु मिलेर कसरी हल गर्ने भन्नेतिर एकसाथ अगाडि बढ्नुपर्ने संस्थापन पक्षको धारणा छ ।
अचानक स्थानीय निर्वाचनको विकल्प खोज्ने गठबन्धनको निर्णय पार्टी र लोकतन्त्रका लागि घातक हुने असन्तुष्ट नेताहरूको भनाइ छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जाने कि गठबन्धनसहित जानेलगायतका विषयमा छलफल गर्न पनि तत्काल पार्टी बैठक बोलाउन नेताहरूको माग छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #स्थानीय तहको निर्वाचन
तपाईको कमेन्ट लेख्नुहोस्