Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

चार सय ५० अर्बको कर्जा विस्तार र १ सय ५० अर्बको निक्षेप संकलन हुँदा बजारमा तरलता अभाव


काठमाडौं । चालु आर्थिक वर्षको सुरुदेखि नै काम गर्नका लागि तरलता अर्थात नगद रकमको अभाव झेलेकाहरु अहिलेपनि उही समस्याभित्र नै छन् । सरकारले खर्च गर्न नसक्नु, उच्च अंकको कर्जा विस्तार र बढ्दो आयातलाई यसको कारण देखाइएको छ । काम गर्नेका लागि अझैपनि पैसा पाइदैन । बैंकहरुले चेक साटेर नगद दिने अवस्था छैन । राष्ट्र बैंकले भने अब अवस्था सहज बन्दै जाने दाबी गरेको छ । चार सय ५० अर्बको कर्जा विस्तार र १ सय ५० अर्बको मात्र निक्षेप संकलन हुँदा बजारमा तरलता अभाव भएको नेपाल राष्ट्र बैंकले पटक पटक स्पष्ट पार्दै आएको छ ।

त्यस्तै उच्च अंकको आयात पनि तरलता अभावको अर्काे प्रमुख कारण हो । मासिक औसतमा १ सय ७० अर्बको आयात भइरहेको तथ्याँकले देखाउँछ । अर्काे विदेशबाट आउने रेमिट्यान्स रकम घट्दो क्रममा हुँदा पैसा कम भित्रिरहेको छ । वैदेशिक लगानी सामान्य बढेपनि त्यो बढाइको खासै अर्थ छैन । खर्च गर्न नसकेर ढुकुटीमा २ सय ९१ अर्ब रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । पर्यटन सेवा व्यवसाय नकारात्मक छ । निर्यात बढ्न सकेको छैन । वैदेशिक अनुदान सहायता रकम खर्च गर्नै सकेको छैन ।

दातृ संस्थाबाट स्विकृत भएको ऋण पनि खर्च हुन सकेको छैन । यी यावत कारण चालु आर्थिक वर्षको सुरुदेखि नै तरलताको अभाव देखिएको छ । यसले ब्याजदर वृद्धिसँगै अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ । अवस्था लम्बिरहे उद्योग व्यवसायको उत्पादन लागत बढेर जाने र त्यसले अन्ततः मूल्यवृद्धिमा पनि चाप पर्ने देखिएको छ । राष्ट्र बैंकले पनि तरलतामा परेको दबाब अझै निराकरण भइ नसकेको स्विकार गरेको छ । तर, यसको व्यवस्थापनमा केन्द्रीय बैंकले पहल थालेको भन्दै अब अवस्था सहज बन्दै जाने दाबी गरेको छ ।

मुख्य कुरा सरकारको ढुकुटीमा भएको पैसा खर्च गर्नुपर्नेछ । विदेशबाट आउने रकमलाई सहज ढंगबाट नेपाल भित्र्याउने बाटो तय गर्ने हो भने तरलता समस्या छिट्टै समाधान हुने अर्थविद्हरुको राय छ । निजी क्षेत्रका अनुसार नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले लिएको संकुचित नीतिका कारण पनि यो समस्या आएको छ । यसको दीर्घकालीन समाधान चाहीँ विकास खर्चको उल्लेख्य हिस्सा तत्कालै बजारमा आउनु र थप निक्षेप आकर्षण नै हो ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चालु आर्थिक वर्ष, #तरलता

तपाईको कमेन्ट लेख्नुहोस्