एकैदिन १० हजारबढीमा कोरोना संक्रमण,अझै कठिन अवस्था झेल्नुपर्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपन
दैनिक २० हजारसम्म संक्रमित भेटिने

काठमाडौं । एकैदिन नेपालमा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८ सय २८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो । ५ सय ६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ । हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ८ लाख १७ हजार ५ सय ४७ जना निको हुँदा ११ हजार ६ सय २४ जनाले ज्यान गुमाएका छन् ।
अझ संक्रमण मंगलबार भन्दा बढी हुने प्रक्षेपन गरिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरिएको हो । प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक संक्रमण पुष्टि हुनेको संख्या उच्च हुनेछ । दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुने आकलन गरिएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले नेपालमा कोभिड–१९ को अवस्थाबारे प्रतिवेद पेस गर्दै सो तथ्यांक सार्वजनिक गरेका हुन् । यो एक महिनामा लक्षण सहितको संक्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन सक्ने मन्त्रालयले जनाएको छ ।
अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुनेछ । त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आकलन गरिएको छ । दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन पनि मन्त्रालयले राम्रो तयारी गरेको डाक्टर पौडेलको भनाई छ । प्रदेश १ मा दैनिक कुल ४ हजार ८२, मधेस प्रदेशमा कुल ३ हजार ७ सय ७८, वाग्मती प्रदेशमा १२ हजार ४ सय २४, गण्डकी प्रदेशमा २ हजार १२४, लुम्बिनी प्रदेशमा कुल ४३४०, कर्णाली प्रदेशमा कुल ३१२ र सुदूरपश्चिम प्रदेशमा कुल ४३६ सिलिण्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता अभिवृद्धि गरिएको दाबी छ ।
समितिको बैठकमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताए । तर, भिडभाड र स्वास्थ्य मापदण्ड पूरा नगरे लकडाउन गर्नैपर्ने परिस्थिति आउने सक्ने उनको भनाई छ । स्वास्थ्य सचिव पोखरेलले एक /दुई दिनमा पीसीआर परीक्षणको शुल्क समायोजन गर्ने पनि जानकारी दिएका छन् । सरकारी ल्याबमा परीक्षण गर्नेलाई निःशुल्क गराउने पनि उनले जानकारी दिए । बैठकमा समितिकी सभापति जयपुरी घर्तीले भने भीड नियन्त्रणका लागि अन्य निकायसँग आफूहरूले छलफल गर्ने बताएकी थिइन् ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेको भन्दै समितिलाई स्वास्थ्य मन्त्रालयले गुहारेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक जोखिम भत्ता अर्थ मन्त्रालयसँग माग गर्नुपर्नेमा ६ महिनादेखि दिन नसकेको भन्दै अर्थ मन्त्रालयसँग समन्वय गरिदिन समितिलाई आग्रह समेत गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #१० हजार २ सय ५८ जनामा संक्रमण, #कोरोना संक्रमण, #स्वास्थ्य मन्त्रालय
ताजा खबर
- १प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- २असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
- ३संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ
- ४धरौटीमा छोड्ने आदेशपछि राणाः राज्यले फसाउन खोज्यो अदालतले बुझ्यो
- ५अमरेशलाई आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो
तपाईको कमेन्ट लेख्नुहोस्