Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

माओवादी केन्द्रमा जनार्दन महासचिवको बलियो दाबेदार,बर्षमान र पम्फालाई मनाउने प्रयास


काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन, मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेसँगै नेतृत्व चयनतर्फ केन्द्रित हुनेछ । महासचिव र अध्यक्षका रुपमा झन्डै साढे ३ दशक पार्टीको नेतृत्व हाँकीसकेका प्रचण्डले यसपटक पनि अध्यक्षमा निरन्तरता पाउने पक्का छ । तर, पदाधिकारीको अन्य पदमा भने अहिलेसम्म पनि नेताहरु बीच रस्साकस्सी चलि नै रहेको छ । आफ्नै राजनीतिक गुरु मोहनविक्रम सिंहलाई पाखा लगाउँदै पार्टीको नेतृत्वमा आएका पुष्पकमल दाहाल प्रचण्डले झन्डै साढे ३ दशकदेखि आफ्नै नेतृत्वमा फरक फरक नामका दलहरु हाँकेका छन् ।

माओवादी केन्द्र र नेकपा एमालेको एकतापछि पनि उनी नेकपाका दुई अध्यक्ष मध्ये एक रहे । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा समेत उनलाई अध्यक्षमा चुनौती दिनसक्ने नेता कोही देखिएका छैनन् । त्यसैले अब घटीमा ५ वर्ष माओवादी केन्द्रमा उनकै शासन चल्नेछ । उता अध्यक्षपछि शक्तिशाली कार्यकारी पद, महासचिवमा जनार्दन शर्माको सम्भावना बढ्दै गएको छ । महासचिवमा शर्मालाई टक्कर दिनसक्ने नेता वर्षामान पुन अहिले उपचारका लागि चीनमा छन् ।

गत असोजमा नै उपचारका लागि थाइल्यान्ड गएका पुन थप उपचारका लागि अहिले चीन पुगेका हुन् । पुनले अध्यक्ष प्रचण्डलाई महासचिव बन्ने आफ्नो चाहना सुनाइ सकेका छन् । तर, पुनको स्वास्थ्यावस्थाका कारण प्रचण्ड भने शर्मालाई नै महासचिव बनाउने सोचमा पुगेको बताइन्छ । यद्यपि उनले पुनलाई यो महाधिवेशनमा नै पदाधिकारी चयन नगर्ने सोचाइ रहेको बताएका थिए । तर, माओवादीको विधान अनुसार महाधिवेशनले केन्द्रीय कमिटी बनाउँछ भने केन्द्रीय कमिटीले पदाधिकारीको टुंगो लगाउँछ ।

त्यही कारण पार्टीभित्र बढ्दै गएको दबाबका सामु उनले पुनलाई पर्खने सक्ने अवस्था छैन । प्रचण्ड निकट नेताहरुका अनुसार उनले पम्फा भुसाललाई समेत महासचिव बनाउन सक्ने सम्भावना छ । कुनै बेला आफूलाई छाडेर रामबहादुर थापासँगै वैद्य समूहमा लागेकी भुसालले नेकपा विघटन भएपछि आफूसँगै बादल पक्षका धेरै नेता कार्यकर्तालाई नेकपा एमालेमा प्रवेश गर्नबाट रोकेकी थिइन् । महिला भएको आधारमा मात्र नभएर विगतमा गरेको सहयोगका कारण पनि प्रचण्डले भुसाललाई महासचिव बनाउन सक्ने झिनो सम्भावना छ । तर, अहिले जनार्दन शर्मा नै महासचिवका बलियो दाबेदार देखिएका छन् ।

माओवादी केन्द्रले विधानमा १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको छ । उता वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने पक्का छ । उपाध्यक्षमा बाँकी ६ जना कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल, देव गुरूङ, हरिबोल गजुरेलको सम्भावना बलियो छ । बाँकी उपमहासचिव, सचिव र कोषाध्यक्षको चयनमा भने प्रचण्डले ठूलो टाउको दुखाइ गर्नु पर्ने अवस्था छैन । यी पदहरुमा उनले युवा नेताहरुलाई अघि सार्ने बताइन्छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्