Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

बाल्यकालमा ओली र रावलको लगभग एउटै भोगाई,पूर्व र पश्चिमका दुईको तिक्तता र निकटता

ओली र रावलको पहिलो भेट कारागार मै


काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेसन अहिले निकै रोचक मोडमा छ । कार्यगत एकतामा सधैँ उतार चढावको सम्बन्ध राख्दै आएका केपी शर्मा ओली र भीम रावल अहिले अध्यक्षको दौडमा छन् । कुनै बेला पार्टीको आन्तरिक राजनीतिमा लोकतान्त्रिक पद्धतिको पक्षपाती ओली आज सर्वसम्मत नेतृत्वको कुरा गर्दैछन् ।

उता ओलीसँगै राजनीतिको कष्टकर दिन बिताएका रावल एमालेलाई लोकतान्त्रिक अभ्यासबाट पर लैजान नहुने कुरा गर्दैछन् । राजनीतिको मैदानमा पूर्वी नेपालको झापाबाट उदाएका केपी शर्मा ओलीलाई नेकपा एमालेमा सर्वमान्य अध्यक्ष बन्नबाट भीम रावलले रोकेका छन् । पश्चिम नेपालको अछामका रावल र ओलीको बाल्यकाल समान दुखमा बित्यो । ओलीले सानैमा आमा गुमाए भने रावलले बाबु गुमाएका थिए ।

चरम गरिबीका कारण तेह्रथुमको पहाडबाट झापा झरेका ओलीले गरिबी कै कारण पढाइलाई एसएलसीभन्दा अगाडि बढाउन पाएनन् । तर, जेहेन्दार छात्रका रुपमा परिचित रावलले पीएचडी गरेका छन् । कम्युनिस्ट पार्टीमा लागेको आरोपमा १४ वर्ष जेलमा बिताएका ओली र रावलको पहिलो भेट कारागार मै भएको थियो । २०४४ सालमा जेलबाट छुटेर राजनीतिमा सक्रिय हुन थालेदेखि नै ओलीले पार्टीमा समूह निर्माणमा ध्यान दिन थालेका थिए ।

२०५१ सालमा मनमोहन अधिकारीको सरकारमा गृहमन्त्री बनेपछि ओलीलाई एमालेमा गुट निर्माण गर्ने आधार मिलेको थियो । त्यही सरकारमा रावल पर्यटन राज्यमन्त्री थिए । एउटै सरकारमा काम गर्दा उनीहरु केही निकट आए । साथै त्यही अघि रावलले २०४७ सालको अन्तरिम सरकारका कृषिमन्त्री झलनाथ खनालको स्वकिय सचिवका रुपमा समेत कार्य गरेका थिए । सुर्य उदाउने र अस्ताउने दुई ध्रुवबाट राजनीति सुरु गरेपनि यी दुई नेता बीच विषयमा समानता पनि छ । दुवै स्पष्ट वक्ता हुन् । दुवै जना आफ्नो विचार अरुले मान्नु पर्छ भन्ने धारणा समेत राख्छन् । आफ्नो कुरामा अडिग रहन्छन् । दुवै जना आफूलाई राष्ट्रवादी छवि भएको नेताका रुपमा अर्थाउन चाहन्छन् ।

विगतमा माओवादीलाई हेर्ने दुवैको दृष्टिकोण एकै थियो । माओवादीप्रति उनीहरु लामो समयसम्म सकारात्मक देखिन सकेनन् । दुवैको कमजोरी भनेको उनीहरु सधैँ आफूलाई राजनीतिको केन्द्र बिन्दुमा राख्न चाहन्छन् । जसका लागि जुनसुकै हदसम्म ओर्लन र उक्लन तयार रहन्छन् । प्रधानमन्त्री र पार्टी अध्यक्षमा कायम रहन ओलीले माओवादीदेखि वामदेव गौतमसम्मको सहारा लिए ।

एमालेको आठौँ महाधिवेसन अघिसम्म झलनाथ खनालसँग नजिक रहेका रावल त्यही महाधिवेसनमा उपाध्यक्षको उम्मेदवार बन्न ओली क्याम्पमा प्रवेश गरेका थिए । त्यो महाधिवेशनमा खनालले केन्द्रिय सदस्य बन्न गरेको प्रस्तावलाई अन्तिम समय लतार्दै उनी ओली खेमाबाट उपाध्यक्षको उम्मेदवार बनेका थिए । तर, ओलीको प्यानलबाट उपाध्यक्षमा अशोक राई र विद्या भण्डारीले जित्दा रावल भने पराजित भए । त्यसपछि मनोनित केन्द्रिय सदस्यका रुपमा समेत उनले सपथ लिएनन् । बरु क्षेत्री खस पार्टी बनाउने अभियान थालेका थिए । तर, माधव नेपालको सरकारमा गृहमन्त्री बनने भएपछि अघिल्लो दिन नै पार्टीको केन्द्रिय सदस्यको सपथ लिएका थिए ।

नवौँ महाधिवेशसनमा माधव नेपालको प्यानलबाट उठ्दा उनी सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए । तर, केपी ओलीले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफ्नो सरकारमा उपप्रधान तथा रक्षा मन्त्री बनाएपछि रावल उनीसँग निकै नजिएका थिए । तर, एमाले र माओवादीको एकतापछि ओलीले त्यति भाउ दिन छाडेपछि उनी ओली विरोधिका रुपमा चिनिए ।

सत्तामा रहँदा सहयोगीको सधैँ प्रसंसा गर्ने ओली र रावलको स्वभाव त्यही व्यक्तिको सानो असहयोगमा समेत भड्किने गर्छ । तर, दुवै जनामा केही असमानता पनि छ । रावल धेरै अवस्थामा औपचारिक देखिछन् । तर, ओली सधैँ जसो हँसी मजाकका मुडमा देखिन्छन् । ओलीले कतिपय कुरा बिनाअध्ययन बोल्ने गरेका छन् । तर, रावल परिपक्व कुरा मात्र गर्छन् ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #केपी शर्मा ओली र भीम रावल, #झापा झरेका ओली

तपाईको कमेन्ट लेख्नुहोस्