Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

सर्वसम्मत अध्यक्ष हुने ओलीको चाहनामा झट्का,रावल र भुषाललाई वास्ता नगर्दा अन्तत् चुनाव


काठमाडौं । केही वर्षदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वैधानिक बाटोको सट्टा आफैँले खनेको अहम्को मार्गमा हिँड्न थालेका छन् । केही नेताले उनको हरेक गल्तीमा साथ दिँदै आएका छन् त केहीले भने उनले बसालेका गलत नजिरलाई सही मार्गमा फर्काउने प्रयास गर्दै आएका छन् । १० औँ महाधिवेसनबाट विधानले परिकल्पना नै नगरेको सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको योजना अहिले असफल भएको छ । केही नेताको प्रयासले ओली र उनका सहयोगी लोकतन्त्रको बाटोमा हिँड्न बाध्य भएका छन् ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेसनले चयन गर्ने पदाधिकारी र केन्द्रिय सदस्यमा अध्यक्ष केपी शर्मा ओलीले चाहेकोभन्दा अर्को व्यक्ति आउन सक्ने अवस्था छैन । यो महाधिवेसनमा सहभागी अधिकांश प्रतिनिधि अध्यक्ष ओलीको इशारालाई भगवानको आदेश झैँ मान्छन् । यो महाधिवेसन चौथो दिनसम्म आउँदा यो दाबी सत्य साबित भएको छ । अध्यक्षमा आफूसहित सारा पार्टी संरचनालाई आफू अनुकल बनाउन सक्ने हैसियत राख्दा समेत १० औँ महाधिवेसनमा ओलीको अहम्को भने हार भएको छ ।

अध्यक्षमा फेरि एक पटक दोहरिँदा उनी जति खुसी हुनेछन्, आफ्नो अहम्को हारको पीडाले उनलाई झनै सताउने छ । १० बुँदे समझदारीमा ठगीएका भीम रावलसहित केही नेताले उनीविरुद्ध चुनावी बिगुल फुकेपछि ओलीले नचाहेको मतदानको प्रक्रिया प्रवेश गर्न एमाले बाध्य भएको छ । पार्टीमा एकलौटी कब्जा जमाएका ओलीले बसाल्न खोजेको अलोतान्त्रिक परिपाटीको विरोधमा खुलेका नेताहरु पार्टी अध्यक्षको दम्भ धेरै दिन नटिक्ने दाबी समेत गर्छन् ।

नेतृत्व चयनका लागि भनेरै करोडौँको खर्चमा आयोजित १० औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय कमिटी र पदाधिकारी सर्वसम्मत चयन गर्न ओली र उनका सहयोगीले निकै समय खेर फाले । विधानको प्रावधानलाई लत्याउने अनेकौँ प्रयास गरे । सर्वसम्मत नेतृत्वको सूची पनि तयार पारे । तर, अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुषाल तथा सचिवमा टंक कार्की र भीम आचार्यको उम्मेदवारीले अलोकतान्त्रिक बाटोमा हिड्न खोजेको नेकपा एमाले लोकतान्त्रिक पद्धतिमा फर्कन बाध्य बनेको छ । उनीहरु जित हारभन्दा पनि पार्टीलाई लोकतान्त्रिक पद्धतिमा फर्काउन आफ्नो उम्मेदवारी सही रहेको तर्क समेत गर्छन् ।

विद्रोहको स्वरसहित दिइएको उम्मेदवारीका कारण ओलीले तयार पारेको सर्वसम्मत नेतृत्वको सूची अन्ततः उनको प्यानलको सूचीमा परिणत भएको छ । नतिजा आउँदा चुनावमा ओलीले रोजेका सबैको जित हुने भने लगभग पक्का छ । तरपनि ओलीले जितको अनूभूति गर्न नसक्ने तर्क पनि गरिँदै छ । किनकी सर्वमान्य अध्यक्ष बन्ने उनको चाहनामा केही नेता बाधक बने, जसले ओलीको अहम्मा चोटिलो प्रहार समेत गरेको छ । तरपनि, ओली निकट नेताहरुले भने चुनावी प्रक्रियालाई सहजरुपमा लिइरहेका छन् ।

पार्टी लोकतान्त्रिक धारमा फर्कँदा उनीहरु खुसी नै देखिएका छन् । एमालेको यो महाधिवेसनमा सहभागी अधिकांश प्रतिनिधि ओलीका वफादार पात्र मात्रै छन् । यस्तो अवस्थामा विद्रोह गरेर महाधिवेसनलाई मतदानसम्म लगेका नेताहरु चुनावी प्रक्रियामा त हार्लान् तर पार्टीलाई लोकतान्त्रिक प्रक्रियामा हिँडाउन सक्नुलाई उनीहरुको जितका रुपमा व्याखा गर्नै पर्छ । तर जे जस्तो घटना घटे पनि एउटा लोकतान्त्रिक मुलुकको राजनीतिक दल अलोकतान्त्रिक बन्न सक्दैन र बन्न मिल्दैन भन्ने सन्देस भने एमालेको १० औँ महाधिवेसनले दिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१० औँ महाधिवेसन, #अध्यक्ष केपी शर्मा ओली

तपाईको कमेन्ट लेख्नुहोस्