Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

साहरा न्यौपानेलाई पशुपति विकास कोषको कोषाध्यक्ष बनाउन झलनाथ खनालको दवाव


काठमाडौं । सत्तागठबन्धन दलका नेताहरुलाई यतिबेला चिन्ता भनेकै नेता कार्यकर्तालाई कसरी राजनीतिक नियुक्ती दिने भन्ने छ । सरकार बिस्तारमा लामो समय भागबण्डा नमिल्दा ८८ दिनसम्म शेरबहादुर देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेनन् । मन्त्रीपरिषदले पूर्णता पाएसँगै अव भने मन्त्री मार्फत रिक्त रहेका सरकारी संस्थानमा कार्यकर्तालाई नियुक्ती दिन नेताहरु नै लविङमा लागेका छन् । राजनीतिले अस्तब्यस्त हुन लागेको हिन्दुधर्मालम्बीहरुको आस्थाको धरोहर पशुपतिनाथ सञ्चालन र संरक्षणका लागि बनाइएको पशुपति विकास कोषमा फेरि नियुक्तीकै लफडा बाहिरिएको छ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूनिकट सहारा न्यौपानेलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्न दबाब दिएको घटना बाहिरिएको हो । मन्त्रीमा भाग नपाएर असन्तुष्ट बनेका खनालले सहारालाई पशुपति विकास कोषमा नियुक्त गर्न दबाब दिइरहेका छन् । कोष पर्यटन मन्त्रालयअन्तर्गत पर्ने हुँदा पार्टीको विभागबाट औपचारिक सिफारिस आएपछि उनलाई नियुक्ति गरिने तयारी गरिएको छ । सहारा न्यौपाने तीनै महिला हुन् जसलाई खनालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा दुबईको राजदूत बनाउन दबाब दिएका थिए । सहारासँगै दुबई भ्रमणबाट फर्किएपछि खनालले राजदूतमा कोटा मागेका थिए ।

तत्कालिन प्रधानमन्त्री ओलीले उनको योग्यता नपुग्ने भन्दै राजदूत बनाउन अश्वीकार गरेका थिए । खनालकै सिफारिसमा सहाराका श्रीमान् शिवशरण न्यौपानेलाई तत्कालीन पर्यटनमन्त्री दीपक अमात्यले नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा नियुक्त गरेका थिए । त्यसबेला पतिलाई कार्यकारी अध्यक्ष बनाउन नमान्दा सहाराले खनालविरुद्ध नै पत्रकार सम्मेलन गर्न खोजेकी थिइन् । त्यसअघिका मन्त्री भीम आचार्यले न्यौपानेबाट निगम नचल्ने भन्दै झलनाथको दबाब अश्वीकार गरेका थिए । त्यसपछि तत्कालीन एमाले अध्यक्ष खनालले आचार्यलाई मन्त्रीबाट हटाएका थिए । न्यौपानेको निधन भइसकेको छ ।

समाजवादीको राज्य व्यवस्था विभागका नेताहरु पनि खनालको दवावले अप्ठेरोमा परेका छन् । राजकीय मामिला विभागको प्रमुखमा राजेन्द्र पाण्डे छन् । नेताहरूले सहारा न्यौपानेको नाममा आएको दबाबबारे पार्टी अध्यक्ष माधव नेपाललाई जानकारी पनि गराइएको छ । पशुपति विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त भइसकेका छन् । न्यौपानेको योग्यता नपुग्ने भन्दै नेकपा एसभित्रैबाट उनलाई नियुक्त नगर्न अध्यक्ष नेपालसमक्ष दबाब परेको छ ।

नेपालले त्यही भएर मन्त्री प्रेम आलेलाई कुनै निर्देशन दिन नसकेको समेत बताइएको छ । राजनीतिक नियुक्तीले अस्तब्यस्त हुन लागेको पशुपति क्षेत्र विकास कोषमा अझै नेताहरुले कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजिरहेका छन् । यतिबेला कोषका पदाधिकारीलाई संरचना भाडामा दिनेदेखि सुनको जलहरी राख्नेमा सुन घोटालासम्ममा भ्रष्टचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #झलनाथ खनाल, #पशुपति विकास कोष, #सहारा न्यौपाने

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं