Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

देउवाले ८९ दिनपछि बनाए पूर्ण मन्त्रिपरिषद, यी हुन देउवाका सारथी


काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको ८८ दिनका दिन शेरबहादुर देउवाले मन्त्रीपरिषद्लाई पुर्णता दिएका छन् । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ समेत लिएका छन् । नेपाली कांग्रेसबाट यस अघि देउवाले आफु निकट बालकृष्ण खाँणलाई गृह र नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरिसकेका छन् । शुक्रबार मन्त्रीपरिषद्लाई पूर्णता कसैलाई पनि उपप्रधानमन्त्री बनाएका देउवाले खाँणलाई आफूपछि दोस्रो वरियतामा राखेका छन् । सरकार गठन भएको दिन कानून मन्त्रीका रुपमा सपथ लिएका ज्ञानेन्द्रबहादुर कार्की अहिले सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाइएको छ । कार्की प्रधानमन्त्री देउवाका अति विश्वासपात्र नेतामा गनिन्छन् । प्रधानमन्त्रीका रुपमा देउवाको चौथो कार्यकालमा उनी अर्थमन्त्री थिए ।

त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको रुपमा बरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता दिलेन्द्र बडुले जिम्मेवारी पाएका छन । उनी कांग्रेसको समानुपातिक सुचीबाट सांसद बनेका हुन् । रक्षा मन्त्रालयको जिम्मेवारी डाक्टर मिनेन्द्र रिजालले पाएका छन् । उनी कांग्रेस प्रतिपक्षमा रहँदा छायाँ ‘अर्थमन्त्री’ थिए । माओवादी सेनाका लडाकु समायोजन समितिको सदस्यका रूपमा ६ वर्ष काम गरेका रिजाल रक्षा मामिलाका विशेषज्ञ समेत हुन् । यसअघि संचार मन्त्री बनि सकेका रिजाल महामन्त्री शंशाक कोइरालाको सिफारिसमा मन्त्री बनेका हुन् । साढे ४ दशक लामो राजनीतिक जीवनमा महिला अधिकार र न्यायका लागि आवाज उठाउँदै आएकी उमा रेग्मी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको निर्वाचित सभापति समेत रहेकी रेग्मी २०३७ सालमा त्रिवि केन्द्रीय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएकी थिइन । उनले पटक–पटक गरी ३ वर्ष जेल जीवन बिताएकी छन् । पूर्वमहामन्त्री कृष्ण सिटौलाको खेमाबाट उमाकान्त चौधरी, खानेपानी मन्त्री बनेका छन् । माओबादी केन्द्रबाट अर्थ मन्त्रालय जनार्दन शर्मा र ऊर्जा मन्त्रालय पम्फा भुसालले सम्हालिरहेका छन । शुक्रबार गरिएको सरकार बिस्तारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा देवेन्द्र पौडेललाई चयन गरिएको छ । पौडेल २०७१ सालमा माओवादीको केन्द्रीय सदस्य बनेका थिए । २०६२ मा पोलिटव्यूरो सदस्य बनेका उनी, अहिले माओवादी केन्द्रको स्थाइ कमिटि सदस्य हुन् । उनी पहिलो पटक मन्त्री बनेका हुन ।

२०६८ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी राजनीतिक सल्लाहाकार थिए । भट्टराईले तत्कालीन एकीकृत माओवादी त्यागेर नयाँ शक्ति पार्टी गठन गर्दा पौडेलले पनि साथ दिएका थिए । तर, त्यसको १८ महिनापछि नै उनी फेरि माओवादीमै फर्किएका थिए । अहिले उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भएर काम गरिरहेका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीमा शशि श्रेष्ठ नियुक्त भएकी छन । उनी बाम विश्लेषक श्याम श्रेष्ठकी बहिनी तथा माओवादी नेता लीलामणि पोखरेलकी पत्नी हुन् । उनको घर काठमाडौँको कोटेश्वरमा छ । देउवा मन्त्रीमण्डलमा माओवादी नेता महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री बनेका छन । २०७४ को निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद गहतराजले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए ।

एकिकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरबाट निर्वाचित भएका थिए । उनले एमालेबाट चारचार पटक सांसद निर्वाचित हुँदा समेत कहिल्यै मन्त्री बन्न पाएका थिएनन् । अहिले एमालेबाट बिद्रोह गरेर एकिकृत समाजबादीमा आबद्ध भएपछि मन्त्री बन्न सफल भएका छन् । विद्यार्थी आन्दोलनबाट उदाएकी चर्चित युवा नेतृ रामकुमारी झाँक्री शहरी विकास मन्त्री बनेकी छन् । समानुपातिक निर्वाचन प्रणालीबाट २०७४ सालमा उनी प्रतिनिधि सभा सदस्यमा बनेकी हुन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट झाँक्री अध्यक्षमा निर्वाचित भएकी थिइन् । पछिल्लो समय उनी राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकका रुपमा राजनीति बृत्तमा विशेष चर्चामा छिन् ।

२०६२/६३ सालको जनआन्दोलनका क्रम प्रहरीको दमनका मुखभरी रगत पोतिएको तस्वीर सार्वजनिक भएपछि पोस्टर गर्लको उपनाम पाएकी झाँक्रीले एमाले विभाजनको दिन एकिकृत समाजबादीका अध्यक्ष माधव नेपाललाई निर्वाचन आयोगमा हात समातेर डो¥याएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । २०७४ सालको आम निर्वाचनमा तनहुँमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर चर्चा कमाएका कृष्णकुमार श्रेष्ठ (किसान) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । उनि एमालेमा रहदा केपी ओली निकट मानिन्थे । महेश बस्नेत र पूर्वआईजी सर्वेन्द्र खनालले जसपाका सांसदलाई मधेसबाट काठमाडौं ल्याएको प्रकरणमा श्रेष्ठको समेत नाम मुछिएको थियो ।

केपी ओलीको समूहमा लाग्दा मन्त्री बन्ने अवसर नपाएका श्रेष्ठले एमाले र ओली दुबैलाई छोड्दा सरकारमा जाने मौका पाएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री बनेका प्रेमबहादुर आलेलाई पनि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री मन्त्री बनाइएका छ । एकीकृत समाजवादी पार्टी स्थापनामा सक्रिय भूमिका खेलेका आले बनमन्त्री हुदा आफ्ना अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका थिए । देउवाले विश्वासको मत लिँदा माधव नेपाल निकटका नेताहरुले साथ छोड्दा आले उनको सहारा बनेका थिए । त्यस्तै जनजाती कोटाबाट भवानी प्रसाद खापुङ राज्यमन्त्री बनेका छन् ।

तत्कालीन नेकपा एमालेका नेता खापुङ २०७४ को चुनावमा तेह्रथुमबाट निर्वाचित भएका थिए । २०६९ सालमा एमाले परित्याग गरेर संघीय समाजवादी पार्टीको संस्थापक महासचिव, समाजवादी पार्टीको सहअध्यक्ष हुँदै हाल जसपाको केन्द्रीय कार्यकारिणी रहेका राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । श्रेष्ठ समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । देउवा मन्त्रीमण्डलमा संघीय राजधानीको प्रतिनिधित्व गर्ने उनी दुई मध्ये एक मन्त्री पनि हुन् ।

हुनत उनी २०५५ सालमा नै आवास तथा भौतिक योजनामन्त्री समेत बनेका थिए । भारतमा जन्मिएर नेपालको राजनीतिमा सक्रिय रहेकी रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेकी छन् । उनी २०४७ सालमा नै नेपाली कांग्रेसको महिला संघको अध्यक्ष भएकी थिइन् । कांग्रेस परित्याग गरेर उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सहायक महामन्त्री र मन्त्री समेत बनेकी थिइन । जसपाबाट महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् ।

यादव २०५६ सालमा नेकपा एमालेको तर्फबाट सर्लाहीबाट निर्वाचित समेत भएका थिए । २०६२÷६३ सालको आन्दोलनपछि एमाले परित्याग गरेर उनले तराई मधेस लोकतान्त्रिक पार्टी स्थापना गर्दै महासचिव बनेका थिए । तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टीको स्थापना गरेका उनी राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य समेत थिए । जसपा भित्र विवाद चलिरहदा उपेन्द्र यादवलाई साथ दिएका उनी हाल जसपाको केन्द्रीय कार्यकारीणी सदस्य छन् ।

२०५४ सालमा राज्यमन्त्रीको जिम्मेवारी पाएका यादव २०६४ मा सिंचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्री समेत बनिसकेका छन । १७ बर्ष लामो शिक्षण पेशा छाडेर राजनीतिमा लागेका रामसहाय प्रसाद यादव वन तथा वातावरण मन्त्री बनेका छन् । बीएस्सी, बिएडसम्म अध्ययन गरेका यादव २०४७ सालमा नेपाल सद्भावना पार्टीमा आवद्ध रहेर राजनीति सुरु गरेका थिए । उनको स्थायी ठेगाना बारा जिल्लाको सिम्रौनगढ नगरपालिका हो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मन्त्रीपरिषद्लाई पुर्णता

तपाईको कमेन्ट लेख्नुहोस्