किन कमजोर बने देउवा,मन्त्रिपरिषद बिस्तारमै आलटाल,नियुक्ती खारेजमा उत्साह
काठमाडौं । राजनीतिक शास्त्रको भाषामा भन्ने हो भने नेपालका ठूला राजनीतिक दल कार्य क्षमताका आधारमा असफल भइसके । २००७ सालदेखि हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको तथा प्रजातन्त्रमा अधिकांश समय सत्तामा रहेको नेपाली कांग्रेस पछिल्ला वर्षमा विपक्षवा सरकार दुवै भूमिकामा असफल बनेको छ । त्यसमाथि मुलुक चलाउने जिम्मेवारी पाएका अरु ठूला दल समेत राजनीतिको मोर्चामा कमजोर साबित भइेके । जसले गर्दा मुलुकको राजनीतिक भविष्य नै अन्यौल ग्रस्त बनेको छ । जनताका कष्ट हेर्ने हो भने नेपालका ठूला राजनीतिक दल नागरिक दायित्वबाट विमुख हुँदैछन् ।
जनताले ब्यालेटबाट दिएको निर्देशनलाई अवज्ञा गर्नु नेताहरुका लागि शानको विषय बन्न थालेको छ । जनताको अथाह म्यान्डेट पाएर सरकारमा जाँदा नेकपा एमाले र त्यो दलका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत दम्भका कारण जनताको कदलाई होचो देखे । जनताको दुख कष्ट निवारण गर्नुको सट्टा संविधानमा रहेका छिद्रसँग खेल्ने प्रयास गरे । दुई पटक प्रतिनिधि सभाको असफल विघटन नै गरे । संविधान मास्ने ओलीको कदमको सामना गर्दै सत्तामा काबिज भएका दलहरु समेत अहिले राजनीतिको रहेक मोर्चामा असफल बनेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा चल्दा ओलीको हुँकार थियो, यो सदनले स्थायित्व पाउन सक्दैन ।
नयाँ म्यान्डेट बिना देशमा राजनीतिक स्थायित्व आउन सक्दैन भन्ने ओलीको त्यसबेलाको भनाइलाई अहिले गठबन्धनका दलहरुले सही साबित गराउँदै छन् । अबको २२ दिनपछि शेरबहादुर देउवाको सरकारले १ सय दिनपुरा गर्नेछ । तर, त्यो दिन पनि देउवाको साथमा ५ जना मन्त्री र १ जना राज्यमन्त्री मात्रै हुने सम्भावना बढ्दो छ । त्यो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल कै इतिहासमा सर्वाधिक असफल प्रधानमन्त्री समेत बन्ने छन् । वास्तवमा देउवालाई अहिले आफैँले नेतृत्व गरेको गठबन्धनका तथा विपक्षी दलको सहयोग छैन । त्यसमाथि विरोधिलाई पेलेरै तह लगाउने पुरानो बानी छाड्न नसक्दा उनी फेरि एक पटक प्रधानमन्त्रीका रुपमा असफलतातिर जाँदै छन् ।
यसै वर्ष स्थानीय तथा अर्को वर्ष प्रदेश र संघीय निर्वाचन गराउने दायित्व समेत देउवामा छ । तर, मन्त्रीमण्डललाई पूर्णता दिन नसकेका, आफ्नै दलको महाधिवेसनलाई निश्चित समयमा आयोजना गर्न नसकिरहेका देउवाले राष्ट्र र जनताप्रतिको दायित्व पुरा गर्न सक्ने विषयमा नै संसय पैदा भएको छ । गठबन्धनका दलहरुभित्र मन्त्री छान्न सकस भएकै कारण देउवाले फेरि एक पटक असफल प्रधानमन्त्रीको बोझबाट मुक्त हुन नपाउने छाँट देखिएको छ । सदनमा अवरोध गर्दै आइरहेको एमाले भने देउवा सत्तामा काबिज भएको प्रक्रियालाई नै स्वीकार गर्न तयार छैन । एमाले देउवासँग जनादेश नरहेको बारम्बार बताइ रहेको छ ।
उता सधैँ किङ मेकर बन्ने चाहना पालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादव समेत मन्त्रीको आकांक्षीको दबाब थेग्न नसकेर नेपाली राजनीतिका असफल खेलाडी बन्दै छन् । गठबन्धनका दलहरुलाई मनाएर सरकार बिस्तार गर्नु देउवाको पहिलो बाध्यता बनेको छ । तर, देउवाले बाजी मार्न सकेका छैनन् । जसका कारण मुलुकले फेरि समयभन्दा चाँडै चुनावको भार व्यहोर्नु पर्ने हो कि भन्ने संसय देखिन्छ । प्रतिनिधि सभाको यो कार्यकालमा मुलुकले विकास र समृद्धितर्फ पाइला चाल्ने चाहना राख्नु मुर्खता मात्र हुनेछ । तर, जे भएपनि कठैबरा भनाएर गठबन्धनको कठपुतली प्रधानमन्त्री बनि रहनुभन्दा विपक्षी र सत्तारुढ दललाई विश्वासमा लिएर अन्य विकल्प तर्फ लाग्नु प्रधानमन्त्रीका लागि बुद्धिमानी कार्य हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #राजनीतिक दल, #शेरबहादुर देउवा
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्