Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

खुलेनन् दक्षिणी उत्तरी नाका, चाडपर्वमा बजारमा समान महंगो


काठमाडौं । सरकारले मंगलबार दक्षिणी सबै सीमा नाका खुला गर्ने निर्णय गरेपनि स्थानीय प्रशासनले जानकारी नै नआएको भन्दै नाका खुलाएका छैनन् । नाका खुल्यो भन्ने समाचार सुनेर सवारीसाधन लिएर नाका पार गर्न पुगेका नेपाली र भारतीय नागरिक सीमाबाटै फर्किरहेका छन् । कपिलवस्तुका दुई नाकामा सरकारी निर्णयको प्रभाव परेको छैन् । नाका खोल्ने निर्णय गरेपनि बुधबार, बिहिबार र शुक्रबार पहिलेकै जस्तो अवस्था नाकामा देखियो  । दुई नाका कृष्णनगर र मर्यादपुरमा छेउछाउबाट सर्वसाधारण आवतजावत गरिरहेपनि निजी र भाडाका सवारी साधन रोकिएका छन् ।

स्थानीय प्रशासनले माथिल्लो निकायबाट निर्देशन नआएकाले नाकामा पुरानै नियम लागू भएको बताइरहेका छन् । रूपन्देहीको बेलहिया नाका हुँदै गाडी लिएर दशगजामा पुगेका सर्वसाधारणलाई पनि फिर्ता पठाइएको छ । भारततर्फबाट गाडी, मोटरसाइकल र रिक्सा नेपालतर्फ आइरहेकामा तिनलाई भारतीय सुरक्षाकर्मीले दशगजाबाटै फर्काइरहेका छन् । केहीलाई दशगजामा पार्किङ गराइदै आइएको छ । नाकाबाट ओहोरदोहोर गर्नेको संख्या सरकारको निर्णयसँगै ह्वात्तै बढेपनि सीमा नाका पार गर्न पाएनन् । बाँकेमा पनि चल्तीका नाका खोल्ने सरकारी निर्णय कार्यान्वयनमा अन्योल देखिएको छ । नेपालगन्जको जमुनाहा नाका भएर नेपाली सवारी साधन भारत प्रवेश गर्न पाएका छैनन् । सरकारी निर्णय कार्यान्वयन नहुँदा पेट्रोलियम पदार्थ बोक्ने नेपाली गाडीबाहेक सवारीसाधन भारत चल्न पाएका छैनन् ।

नेपालगन्ज सीमासँग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा साइकल, रिक्सा र मोटरसाइकल समेत चल्न पाएका छैनन् । कृष्णनगर नाका मुलुकको ठूलो भन्सार नाकामा पर्छ । सरकारले अन्तर्राष्ट्रिय सिमानाका खोल्ने निर्णय गरेपनि पश्चिम नवलपरासीको महेशपुर नाका र छोटी भन्सारको नाका पूर्ण रूपमा खुला भएको छैन । भारतको रक्सौल सिमासँग जोडिएको वीरगन्ज नाकाबाट मानिसहरुको आवागमन यतिखेर निर्वाध सुचारु छ । पैदल हिँडेर आउजाउ गर्न दिइए पनि सवारी साधनलाई निषेध गरिदा त्यस क्षेत्रको व्यवसाय प्रभावित भएको छ । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले २०७६ चैत पहिलो सातादेखि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।

पैदल आउजाउ खुलाएपनि सवारी साधनसमेत खुलाउनेबारे सरकारले मंगलबार निर्णय गरेको थियो । नेपाल र भारत सीमा नाका नखुलेपछि सार्वसाधारण चिन्तीत बनेका छन् । तर, गृहमन्त्रालय भने नाकाका जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरिसकेको बताएको छ । स्वास्थ्य मापदण्ड पालना गरी आवात–जावतमा सहज बनाउन केही दिन लाग्ने गृहमन्त्रालयका प्रवक्ता फणिद्रमणि पोखरेल बताउछन् । अर्कोतर्फ नेपालको उत्तरी नाका ठप्प हुँदा समेत सरकारले चासो नै देखाएको छैन् ।

भौगोलिक सहजताका कारण भारतसँगका सिमा नाकाबाट निरन्तर आयात निर्यात हुँदै आएपनि चिनसँगको कारोबार ठप्प जस्तै छ । नेपाल र चिनबीच १४ सय १४ किलोमिटर लामो सीमारेखामा अहिले ६ वटा नाका सञ्चालनमा रहेपनि दुई देशबीचको द्विपक्षीय व्यापार भने दुई वटा नाकाबाट मात्रै हुन्छ । रसुवागढी र तातोपानी नाकाको स्तरोन्नति सहित थप ४ नाका हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाङथान्का र ताप्लेजुङको ओलाङचुङगोला सञ्चालनमा ल्याएर दुई देशबीचको व्यापारलाई विस्तार गर्ने भनिएको भने वर्षौ वितेको छ । आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा एक सन्देश जारी गर्दै चिनियाँ राष्ट्रपति सि जिन पिङले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणमा जोडका थिए ।

चिनिया राष्ट्रपतिको नेपाल भ्रमणसँगै नेपालमा उत्तरतर्फको ढोका थप उघ्रिने विश्वास सरकारीस्तरबाटै व्यक्त भएको थियो । तर अहिलेसम्म कुनै ठोस् उपलब्धी नेपालका लागि मिल्न सकेको छैन । अहिलेपनि बारम्बार अबरुद्ध हुने चीनिया नाकाले समस्या दिइरहेको छ । चीनसँग भएको व्यापार तथा पारवहन सम्झौता अनुसार जनवरी १ सन् २०२० देखि चीनले नेपाललाई तेस्रो देशबाट सामान ल्याउन पाउने गरी आफ्ना बन्दरगाहहरू प्रयोगका लागि खुला गरेको बारे सुचित गराएको थियो । तर, हालसम्म अन्य देशबाट आयात गरिने सामानहरू चिनियाँ बन्दरगाह र बाटो प्रयोग गरेर आउनसक्ने अवस्थाको सिर्जना नै हुन सकेको छैन ।

चिनियाँ बन्दरगाह प्रयोग गर्दा २१ दिनभित्रै सामान नेपाल आइपुग्ने ढुवानी खर्च घट्ने भनिएपनि उल्टो तातोपानी र रसुवागढी नाका बन्दहुँदा करिब एक महिना लगाएर भारतबाट सरसामान आयात गर्न नेपाली व्यवसायीहरु बाध्य हुँदै आएका छन् । २०७२ सालको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि विकल्पका रूपमा प्रयोग गरिएको रसुवागढी नाका समेत विगत लामो समयदेखी ठप्प छ । यी दुबै नाकाको झमेला र सास्तीले चीनसँगको व्यापारमा जोडिएका नेपालका व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन् । दुवै नाका ठप्प हुँदा नेपाली व्यवसायीले खरिद गरेका अर्बौं मूल्य बराबरका समान छिमेकी मुलुक चिनकै सडकमा अलपत्र छन् ।

कोरोना महामारीकै बीच चीनले अन्य देशसँग व्यापार सहजीकरणमा ध्यान दिएर व्यापार विस्तार गरिरहेपनि नेपालतर्फको नाका सहज बनाउनेतर्फ भने दुबै देशबीच उच्चस्तरमा सहमति जुट्न सकेको छैन । कोरोना महामारीसँगै नाका ठप्प हुँदा लुगा, जुत्ता र अन्य वस्तुको मूल्य पनि निकै बढेको छ । अहिले दैनिक ८–९ वटा साना कन्टेनर मात्रै केरुङ नाकाबाट आइरहेका छन् । सामुन्द्रिक क्षेत्रको आयात भारतमुखी मात्रै भएको अवस्थामा चीनतर्फको आयातले समेत विस्तार पाउने भनिदैगर्दा मुख्य उत्तरी नाका तातोपानी बिगत ६ बर्षदेखी नै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

तातोपानी र केरुङ नाकामा बारम्बार अवरोधन व्यहोर्नुपरेपनि सहज रुपमा सञ्चालनका लागि सरकारले कुटनीतिक पहल गर्न सकेको छैन । सरकारको बेवास्ताका कारण समेत चीनतर्फको आयात बढी भएका लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्स सरसामान, तयारी फर्निचर लगायतको व्यवसायमा जोडिएका व्यापारिहरु सबैभन्दा बढी मारमा परेका छन् । व्यवसायीले आफ्नै पहलमा नाका खुलाउन पहल गरेपनि सरकारको तर्फबाट दिर्घकालिन पहल कहिले हुने अझै अनिश्चित देखिएको छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, पर्यटन, राजनीति, समाचार
ट्याग : #सीमा नाका खुला

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं