Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

उपत्यकामा दुई सातादेखि उठेन फोहोर,सिसडोलको मुखैमा बिग्रीएको सडक बनाउन ध्यानै दिइएन


काठमाडौं । काठमाडौँ महानगरपालिकाले १५ दिनदेखि फोहोर मैलाको व्यवस्थापन गर्न नसक्दा शहर नै दुर्गन्धित बनेको छ । काठमाडौंको फोहोर व्यवस्थापन गरिने सिसडोलको मुखकै सडक बिग्रिएको कारण काठमाडौं उपत्यकामा फोहोर संकलन हुन सकेको छैन । सामान्य अवस्थामा फोहोर लिएर दैनिकजसो २ सय वटा ट्रिपर सिसडोल जाने गर्दथे । तर, पछिल्ला दिन बल्लतल्ल २५ देखि ५० जति ट्रिपरले फोहर लैजाने गरेका छन् । अहिले काठमाडौँ उपत्यकामा दैनिक १ सय टन भन्दा बढी फोहोर थुप्रिने गरेको छ । दैनिक यति धेरै फोहोर बढ्दै जाँदा उपत्यका नै फोहोरको डंगुरमा परिणत हुने अवस्था देखिएको छ । कोरोना महामारी संक्रमणको जोखिमका कारण नागरिकले अनेकौ सास्ति भोग्नु परेको छ । त्यसैमा सडकमा आवात–जावत गर्ने मानिसहरुलाई निक्कै सास्ती भएको छ ।

काठमाडौं महानगरपालिकाले गत सोमबार सूचना नै जारी गरेर शहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको थियो । तर, यतिबेला सडक पेटीमा फोहोर छरिएको अवस्थामा देखिन्छ । काठमाडौं उपत्यकावासी सडक छेउ र घरभित्रै फोहोर बाध्य भइरहेका छन् । पसल तथा कार्यालयको फोहोरले पनि सडक दुर्गन्धित बनेको छ । झरी मौसम भएकाले बाटोमा थुपारिएका फोहर समेत बगेर छरपस्ट हुन थालेपछि झनै समस्या पैदा भएको छ । फोहोर ब्यवस्थापन गर्ने स्थान र सडकको अवस्था हेर्ने हो भने तत्कालै काठमाडौ उपत्यकाको फोहोर उठ्ने सम्भावना देखिदैन । काठमाडौँमा फोहर संकलन नहुने समस्या नयाँ भने होइन । वर्षायाम लागेसँगै काठमाडौँको फोहर मैलाको दुर्गन्धित डंगुर गल्ली र सडकमा देखिनु नयाँ विषय होइन । महानगरको बाहनाबजी मात्रै होइन सिसडोलमा पनि हुने पटक–पटकका आन्दोलनले फोहोर संकलन गर्न सधैं समस्या पर्ने गरेको छ ।

उपत्यकामा विद्युत प्राधिकरण र सडक विभागले बेहाल बनाएको हिलाम्य सडकमा हिँड्दा त्यसै पनि सजिलो छैन । त्यसमाथि नउठाएको फोहर र लगातारको झरीका कारण यत्रतत्र छरिएर दुर्गन्ध फैलिइरहेको छ । निरन्तरको वर्षाले सडक, चोकमा फालिएका फोहर कुहिएर दुर्गन्ध बढेको छ । कुहिएका फोहरले घर भित्रै रोग जन्माउने खतरा पनि बढेको छ । जथाभावी फालिएका फोहोर वगेर घर घरमा छिरेको छ । यही कारण हैजा जस्ता संक्रामक रोग फैलिन सक्ने खतरा बढेको छ । सहरी विकास मन्त्रालयले पनि लामो समयदेखि संचालनमा ल्याउने भनेको बन्चरेडाँडाको ल्याण्डफिल्ड साइट सुचारु गर्न सकेको छैन । सो स्थान हस्तान्तरण गर्नासाथ उपत्यकाको फोहोर बन्चरेडाँडामा पठाइने दाबी महानगरले गरेको पनि बर्षौ भयो । फोहोरमैला व्यवस्थापनको अधिकार कानुन त स्थानीय तहमा रहेपनि उपत्यकाको फोहोर व्यवस्थापन गर्नबाट स्थानीय सरकारहरु भाग्दै आएका छन् । सरकार फोहोरलाई व्यवस्थित गरेर व्यवस्थापन गर्नुपर्ने दायित्वबाट बिमुख बन्दा उपत्यकावासीहरु विभेदसँगै फोहोर फाल्न चर्को मुल्य तिर्न बाध्य छन् ।

अझ कतिपय स्थानमा त दोहोरो पैसा तिनुपरिरहेको छ । केही ठूला कम्पनीहरुको मात्रै बाहुल्यता भएको उपत्यकाको फोहोर व्यवस्थापनबाट राम्रो आम्दानी हुने देखेपछि, हिजो छि फोहोरको काम भन्नेहरु नै अहिले कम्पनी र संघ संस्थाका नाममा आफूले कुनै टोल, वडा वा नगरको फोहोर व्यवस्थापन गर्न पाउनुपर्ने भन्दै हानाथाप गरिरहेका छन् । तर, महानगरले फोहोर ब्यवस्थापनको स्थान नै नबनाइदिदा सधैंको झमेला हुँदै आएको छ । उपत्यकाका लाखौँ उपभोक्ताले फोहोरको व्यवस्थापनका लागि खर्चिने पैसाको हिस्सा निक्कै ठूलो छ । एउटा सामान्य परिवाले समेत अहिले आफ्नो फोहोर व्यवस्थापनका लागि ४ सय रुपैयाभन्दा माथी खर्च गर्नुपर्ने परेको छ ।

पछिल्लो आँकडा अनुसार काठमाडौं उपत्यकामा करिब ८ लाख घरधुरी छन् । विभिन्न व्यवसायीक कम्प्लेक्स, विद्यालय, कलेज, अस्पताल लगायतको संख्या समेत जोड्दा उपत्यकामा मासिक पाँच अर्बभन्दा बढी फोहोर व्यवस्थापन वापतको शुल्क उठ्ने अवस्था छ । नीजि क्षेत्रले ७५ प्रतिशत फोहोरको व्यवस्थापन गर्दासमेत मासिक तीन देखी चार करोडसम्म उपभोक्ताबाट पैसा उठ्नसक्ने अवस्थाको आँकलन गरिदैछ । अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरहरुमा नीजि क्षेत्रका ८० भन्दा बढी कम्पनी तथा संघ संगठनले आफूखुसी फोहोर संकलन र व्यवस्थापन गर्दै आएका छन् ।

काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको तथ्यांक छ । कुल फोहोरलाई औसतमा बर्गीकरण गर्दा करीब ६३ प्रतिशत जैविक फोहोर, ११ प्रतिशत प्लाष्टिकजन्य, ९ प्रतिशत कागजजन्य, ५ प्रतिशत शीसाजन्य, ०.५ प्रतिशत धातुजन्य फोहोर हुनेगरेको छ । थोरै बाहेक यी सबै प्रकारका फोहोरलाई पुनःप्रयोग गरेर उपयोगमा ल्याउन वा आर्थिक लाभ लिन सकिन्छ । तर, महानगर मोनोरेल, मेट्रो रेलका गफ गर्दा फोहोर ब्यवस्थापन समेत गर्न सकिरहेको छैन । यो नै दुर्भाग्य र लज्जाबोध हो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #फोहोर मैलाको व्यवस्थापन

तपाईको कमेन्ट लेख्नुहोस्