स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको घोषणाः सरकारी सेवा सुविधा नलिने
पुस–माघसम्म ३ करोड २३ लाख कोरोना खोप आउछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।
राज्यमन्त्री श्रेष्ठले आफू व्यवसायिक पृष्ठभूमीको भएपनि समाजसेवाको उद्देश्यले राजनीतिमा आएको र स्वार्थ नबाझियोस् भन्नका लागि व्यवसायिक आवद्धताबाट राजीनामा दिने समेत बताए । उनी लिटिल एन्जल्स स्कूल, प्राइम कमर्सियल बैंक, सिराइचुली होटल लगायत विभिन्न व्यवसायिक संस्थामा आवद्ध रहेका छन् ।
त्यस्तै, राज्यमन्त्री श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने बताएका छन् । चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने उनले बताए । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उनले जानकारी दिए । चीनको सिनोफार्म कम्पनीसँग ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ । अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र आफू आएपछि सम्झौतामा हस्ताक्षर भएको छ ।
उनले मोर्डनाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी गरेको बताए । अमेरिकी कम्पनी जोनसन एण्ड जसनसको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । १२ देखि १८ वर्ष उमेर समूहलाई हुने फाइजरको ६० लाख खोप खरिद प्रक्रिया प्रारम्भ रहेको राज्यमन्त्री श्रेष्ठको दाबी छ । हालसम्म ९७ लाख खोप आइसकेको र कोभ्याक्स कार्यक्रममार्फत पनि १ करोड १३ लाख डोज खोप आउँदा ५ करोड २२ लाख ८२ हजार खोप उपलब्ध हुने राज्यमन्त्री श्रेष्ठको भनाई छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राज्यमन्त्री उमेश श्रेष्ठ
तपाईको कमेन्ट लेख्नुहोस्