दोस्रो तहका नेताको दवावमा मिल्न खोज्दै ओली–नेपाल, अझै कहाँ अड्किएको छ गाँठो
काठमाडौं । लामो बिवाद र रस्साकस्सीपछि सत्तारुढ दल नेकपा एमालेका दुई खेमाका नेताहरु एकताको प्रयासमा निरन्तर जुटिरहेका छन् । कार्यदलस्तरमा भैरहेको एमाले एकताको प्रयास निष्कर्ष नजिक पुगेको भनिदै गर्दा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको मन भने अझै मिल्न सकेको छैन । मंगलबार साँझबाट एमाले एकताका लागि अध्यक्ष ओली पक्षका कार्यदल सदस्यहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल अनि माधव समूहका कार्यदल सदस्यहरु भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट निरन्तर संवादमा छन् । तीनदिनको वार्तापछि दुबैतर्फका सदस्यहरु निष्कर्ष नजिक पुगेको दाबी गरिरहेका छन् । तर ठोस सहमति कहिले हुन्छ एकिन रुपमा भन्न सकिरहेका छैनन् ।
पार्टीभित्रका युवा नेताहरु भने नेतृत्वले फुट्नेभन्दा जुट्ने निर्णय गर्न दबाब दिँदै छन् । यस कारण पनि अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल मिल्न तयार हुन्छन् भन्ने आँकलन गरिदैछ । झन्डै डेढ महिनादेखि निष्क्रिय कार्यदल ब्युँतिएर सक्रिय बनेसँगै बुधबार साँझ मेरियट होटलमा भएको अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच वार्ताले ती दुई बीचको संवादहिनता पनि तोडेको छ । तर, दुबै पक्षका अडानले एकतालाई निष्कर्षमा पु¥याउन सकि रहेको छैन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गर्ने फैसलापछि उत्पन्न हुने जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सरकारको निरन्तरताका लागि विनासर्त नेपालको ठोस प्रतिबद्धता खोजिरहेका छन् ।
नेता नेपालले भने विगतमा भन्दै आएको एक व्यक्ति एक पद, ओलीका राजनीतिक कदमको समीक्षादेखि पार्टीभित्रको भावी समीकरणसम्मका विषयमा प्रतिबद्धता खोजिरहेका छन् । पार्टीका सबै संरचनामा आफ्नो विचार समूहको शक्ति सन्तुलनको विषय उठाएका नेपाल र सर्तरहित एकतामा जोड दिएका ओली बिचको पावर सेयरिङको बिषय सहमतिका लागि पेचिलो बन्दैआएको छ । ओली–नेपाल कार्यदल तहबाट सबै विषय टुंगिएर आओस् भन्ने सहमतिमा पुगेपनि बिवादको समाधान कसरी अनि कहिले हुन्छ चासोका साथ हेरिएको छ । निरन्तर छलफलमा रहेका नेताहरु छिट्टै सहमति जुट्ने दाबी गरिरहेका छन् । असार १८ मा एकलौटी रुपमा केन्द्रीय कमिटीको बैठक राखेर तीनदिनभित्र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिनुभएका अध्यक्ष ओलीले १९ गते फैसला आउँदासम्म हस्ताक्षर कायमै राख्नेहरु एमाले रहन्नन्सम्म भन्न भ्याउनुभयो ।
आइतबार सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवासमा पुगेर संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव राखेका थिए । कार्यदलमार्फत सहमति र संयुक्त वक्तव्यको मस्यौदा ल्याउनुपर्ने नेपाकै चाहाना बमोजिम कार्यदल ब्युतिएको थियो । सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ २०७५ मा फर्किंदा पार्टी र जनवर्गीय संगठनहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लगभग सहमति भएको बताइएको छ । पार्टी केन्द्रीय कमिटीको संख्या, एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको व्यवस्थापन र अदालतको मुद्दामा मध्यमार्गी सहमति जुटेको बताइएको छ । कार्यदलस्तरमा वरिष्ठ नेता नेपाललाई अध्यक्ष वा प्रधानमन्त्री मध्ये एउटा जिम्मेवारी, संसद पुनस्थापना भएपछिको सरकारमा एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री नेपाल समूहबाट र आगामी महाधिवेशनपछिको नेतृत्व नेपाललाई लगायतका विषयमा छलफल भएपनि निष्कर्ष निस्किएको छैन ।
अहिले पनि दोश्रो तहका र युवा नेताहरु एमालेको बिभाजनले कसैको फाइदा नहुने भन्दै बिवाद समाधानको प्रयासमा जुटिरहेका छन् । ओली र नेपालबीच कायम रहेको अहिलेसम्मको असहमति कार्यदल मार्फत तोडिन्छ वा एमाले बिवाद थप बल्झिन्छ, सबैले चासोका साथ प्रतिक्षा गरिरहेका छन् । अर्कोतिर ओली र नेपालको बाध्यात्मक मिलापमार्फत पदिय भागबण्डा कसरी होला ?अनि एकता दिर्घकालिन होला नहोला भनेर समेत चियोचर्चा भैरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एकताको प्रयास, #नेकपा एमालेका दुई खेमा
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्