Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

निजी अस्पतालको लुट,बिरामीसँगै सरकारसँग पनि भुक्तानीको माग दावी

अस्पतालको लुटको एउटा नमूना !


काठमाडौं ।  सरकारले पटक पटक ताकेता गर्दा समेत उपचार सेवा र शुल्क बारेको बिवरण सार्वजनिक गर्न अटेरी गरिरहेका निजी अस्पताल कोरोना संक्रमितको उपचारका नाममा दोहोरो लुट मच्चाइरहेको रहश्य बाहिरिएको छ । एउटै बिरामीसँग लाखौं असुलेपछि पनि निःशुल्क उपचार गरेको दाबीसहित स्वास्थ्य मन्त्रालयसँग भुक्तानी माग दाबी गर्ने निजी अस्पतालहरु नै दर्जनौँ छन् । कतिपयले शुल्क असुलेर उपचार गरेकाहरुको लिस्ट समेत पठाएर भुक्तानीको दाबी गरेका छन् । यतिमा मात्रै सिमित छैन निजी अस्पतालको मनोमानी जेनरल वार्डमा उपचार गरिएका बिरामीलाई आईसीयू र एचडीयूमा राखेको भन्दै बढी रकम दाबी गर्ने विवरण पेश गनेदेखी उपचार गरेको भन्दा दोब्बर दिन देखाउँदै दोब्बरभन्दा बढी रकम ’क्लेम’ गरिएपछि सरकारले छानविन समितिमार्फत अध्ययन नै अघि बढाएको छ ।

कोरोना संक्रमितको उपचारमा सरकारले निर्धारण गरेको भन्दा चर्को शुल्क अशुल्ने काठमाडौं थापाथलिको नर्भिक अस्पताल, ललितपुर सानेपाको स्टार अस्पताल, ललितपुर भैसेपाटीको नेपाल मेडिसिटी अस्पताल, ग्वार्कोको बी एण्ड बी अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज, जोरपार्टी अत्तरखेलको नेपाल मेडिकल कलेजको मनलाग्दी असुलीबाट बिरामी र आफन्तहरु आजित भएका छन् । महंगो शुल्क लिने र उल्टै सरकारसँग समेत सोधभर्नाका लागि उपचारको विवरण पठाउने अस्पतालहरुको सूची निक्कै लामो छ ।

सरकारसँग कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका बसुन्धाराको कान्तिपुर डेन्टल कलेज, नयाँ बजारको पिपुल्स डेन्टल कलेज, बनेपाको धुलिखेल अस्पताल, बालाजुको जनमैत्री अस्पताल सितापाइलाको मनमोहन मेमोरियल मेडिकल कलेज, बिराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज मात्रै नभएर किस्ट मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, देवदह मेडिकल कलेज, जानकी मेडिकल कलेज, खोप अस्पताल, मणिपाल शिक्षण अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, पद्मा अस्पताल लगायतका थुप्रै अस्पतालले बिरामी र सरकार दुबैसँग उपचार खर्च असुल्ने जुक्ति रचेका छन् । बिरामी र आफन्तसँग चर्को शुल्क असुलेका यी अस्पतालले स्वास्थ्य मन्त्रालयमा सोधभर्नाका लागि पठाएको विवरण नै शंकास्पद देखिएको छ ।

इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ३ की २३ वर्षीया अप्सरा गिरी कोरोना संक्रमित भएर २०७८ वैशाख २२ गते विराट नर्सिङ होम विराटनगरमा भर्ना भएकी थिइन् । वैशाख २२ गतेदेखि वैशाख २६ गतेसम्म आईसीयू वार्डमा राखेर उपचार गरिएकी उनलाई वैशाख २६ गते डिस्चार्ज गरियो । पाँच दिनसम्म आईसीयूमा गरिएको उपचार तथा औषधिबापत ३ लाख ५० हजार रुपैयाँ बुझाएकी उनी विराट टिचिङ अस्पतालको जेनरल वार्डमा ११ दिन बसिन, यो उपचारका क्रममा गरेबापत साढे २ लाख रुपैयाँ बुझाउनुपर्यो । दुवै अस्पतालमा जम्मा १६ दिन उपचार गरेबापत जम्मा ६ लाख रुपैयाँ औषधि तथा उपचारमा खर्च गरेकी उनको दाबी भुक्तानीमा वैशाख २१ गतेदेखि ३० दिनसम्म एचडीयू वार्डमा उपचाररत रहेको भनेर पठाइएको छ, अझ उपचार जारी रहेको भन्दै अर्को झुठो बिवरण पेश गरिएको छ ।

बिरामीबाट उपचार खर्चबापत पूरा पैसा लिएको यो अस्पतालले अस्पालमा रहेको भन्दा दोब्बर दिन देखाएर सरकारमाथी नै ठगि गर्न खोजेको देखिन्छ । भरतपुरस्थित चितवन मेडिकल कलेजले वैशाख महिनासम्म कोरोनाका बिरामीको निःशुल्क उपचार गरेको भन्दै भुक्तानी मागदाबी सहित कुल ४ सय २४ जना बिरामीको तथ्यांक स्वास्थ्य मन्त्रालयमा पठाएको छ । जेनरल वार्डमा १ दिन, एचडीयू वार्डमा कुल ७८२ दिन, आईसीयूमा २ हजार २०७ दिन, भेन्टिलेटरमा ८ सय ८५ दिन गरी कुल ३ हजार ८ सय ७५ दिन विभिन्न बिरामीको उपचार गरेको भन्दै दाबी गरिएको ३ करोड ८५ लाख ८२ हजार ५ सय रुपैयाँ भुक्तानीमा समेत मन्त्रालयले शंका गरेको छ । यो अस्पतालमा एउटा परिवारले नै चारजनाको उपचार तथा औषधिका लागि भन्दै १६ लाख रुपैयाँ अस्पताललाई तिरेको भएपनि सो को सोधभर्नाको दाबी मन्त्रालयमा गरिएको छ । यहाँ यस्ता थुप्रै बिरामीको उपचाररत दिन र सेवाको दिन बढाएर बढी अशुल्न खोजिएको छ ।

वैशाख १५ गते महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ६ की एक महिला धुलिखेल अस्पताल काभ्रेमा भर्ना भएकोमा १९ गते साँझ निधन भएकोमा उनीहरुका परिवारले ७५ हजार तिरेका छन् । धुलिखेल अस्पताल ल्याउनुअघि जनकपुरस्थित काव्या अस्पतालमा ९ दिनसम्म उपचार गराएर साढे ३ लाख रुपैयाँ अस्पताललाई बुझाइएका छन् । तर जम्मा ५ दिन उपचार गराएको धुलिखेल अस्पतालले ३७ दिनसम्म निःशुल्क गरेको दाबीसहित स्वास्थ्य मन्त्रालयसँग रकम माग गरेको छ ।

यी प्रतिनिधि पात्र मात्रै होइन, गोरखाको सिरानचोक गाउँपालिका –४ की ४८ वर्षीया गीता पोखरेल २०७८ जेठ १४ गते कोरोना संक्रमित भएर उपचारका लागि मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाडौंमा भर्ना भएकोमा उपचारकै क्रममा असार ३ गते मृत्यु भएको थियो । कुल २१ दिन मात्र उपचार गरिएकोमा बिल दिँदा २४ दिनको खर्च देखाएर ३ दिनको डिस्काउन्ट गरियो । आफन्तले उपचार खर्च वापत ४ लाख ४८ हजार ७९० रुपैयाँ तिरे । थप १ लाख ४२ हजार ३७७ रुपैयाँ एन्टीबायोटिक्स सहितका औषधिबापत भुक्तानी दिएका पोखरेलका श्रीमान बिरामी र सरकार दुबैसँग उपचारको भुक्तानी लिएर मनमोहन अस्पतालले ठगि गरेको बताइरहेका छन् । निःशुल्क उपचार गर्छु र उपचार खर्च सरकारबाट लिन्छु भनी सम्झौता गरेको अस्पतालले आईसीयू बेड, अक्सिजन, चिकित्सक तथा नर्सिङ शुल्क, औषधि र अन्य खर्चबापत ठूलो रकम लिएर ठगी गरेको अनि उल्टै सरकारसँग भुक्तानी दाबी गरेको थाहा पाएपछि अहिले स्वास्थ्य मन्त्रालयमा उजुरी परेको छ ।

यी प्रतिनिधि बिरामी र आफन्त मात्रै होइन कोरोनाको उपचारका क्रममा चर्को उपचार शुल्कले धेरै घरबार बिहिन भएका छन् । बिरामी र आफन्तसँग चर्को शुल्क लिएका अधिकांश अस्पतालले सरकारलाई समेत सोधभर्नाको निवेदन दिएर ठगि गर्न खोजेका छन् । सरकारसँग गरिएको सम्झौताअनुसार प्रतिदिनको ७ हजार ५ सयमा उपचार गर्नुपर्नेमा देशका विभिन्न अस्पतालले अर्बौं रुपैयाँ बढी असुलेका छन् । अस्पतालहरूको दाबीअनुसार भुक्तानी गर्नुअघि स्वास्थ्य मन्त्रालयको आर्थिक प्रशासनका एक कर्मचारीले क्रस चेकका लागि बिरामी वा तिनका आफन्तहरूलाई फोन सम्पर्क गर्दा अस्पतालहरूको लुटको पर्दाफास भएको थियो । अहिले निजी अस्पतालको मनोमानीमाथी छानविन समिति मार्फत सत्यतथ्यको खोजी भइरहेको छ ।

सरकारले साधारण आइसोलेसनको ३५०० रुपैयाँ, मध्यम खालको अवस्था भए ७ हजार रुपैयाँ र जटिल किसिमको बिरामीलाई १५ हजार रुपैयाँ प्रतिदिन प्रतिबेड शुल्क लिन पाउने सिमा निर्धारण गरेको थियो । उक्त रकममा एन्टीबायोटिक, अक्सिजन, बेड चार्ज, चिकित्सक, नर्सिङ चार्ज समेत समावेश गरिएको थियो । तर सरकारको निर्देशनमा अधिकांश निजी अस्पतालले अटेरि गरेका थिए । मन्त्रालयका सहप्रवक्ता समेत रहेका डा. समिरकुमार अधिकारीको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले बिरामीसँगै सरकारलाई समेत ठग्न तम्सिएका नीजि अस्पताललाई कारबाहीको दायरामा ल्याउँछ वा लुटलाई छुट मिल्छ, अहिले धेरैले चासोका साथ प्रतिक्षा गरिरहेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमित, #निजी अस्पतालको लुट

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं