औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड बालाजुमा अध्यक्ष र महाप्रवन्धकको राजनीतिक जुहारी
तीन पटक सर्बोच्च पुगे महाप्रवन्धक सिटौला,उनकै पक्षमा फैसला

काठमाडौं । नेपालमा राजनीतिक दवाव, प्रभावले धेरै कलकारखाना तथा उद्योगहरु बन्द भए । कार्यकर्ता भर्ति केन्द्र मात्रै होइन आन्दोलन, जुलुस तथा झडपकै कारण राम्रो सञ्चालन भइरहेका उद्योग समेत धरासायी बने । सरकारको नेतृत्व गर्नेहरुले उद्योग तथा कलकारखाना सञ्चालन गरे देशमै रोजगारी सञ्चालन गर्न सकिन्छ आर्थिक स्रोत जुटाउन समेत सहज हुन्छ भन्ने कहिल्यै बहस, छलफल गरेनन् । बरु राजनीति गर्ने थलो उद्योगलाई बनाउदा धेरै उद्योग तथा कलकारखाना बन्द नै भइदिए । त्यसलाई सुचारु गर्न पनि सरकारमा बस्नेहरुले कहिल्यै ध्यान दिएनन् । राजनीतिक दलले उद्योगमा आफनो मान्छे भर्ती गर्दाको परिणाम उद्योग नै तहस नहस भइरहेका छन् । यसको पछिल्लो उदाहरण हो काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड । कहिले अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रवन्धक सुवास सिटौलाबीच कार्यकक्षमै कुटाकुट चल्छ त कहिले बर्खास्ती र पुर्नबहालीको श्रृखला चलिरहेकै छ ।
बिगतदेखि नै चल्दै आएको अध्यक्ष बस्नेत र महाप्रवन्धक सिटौलाको द्धन्द्धले कर्मचारी पनि बिभाजित छन् । जसरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच टकराव भइरहेको छ । उस्तै दुई पार्टीबाट जिम्मेवारी पाएका अध्यक्ष बस्नेत र महाप्रवन्धक सिटौलाबीच पनि त भन्दा म के कम भन्दै पौठेजोरी चलिरहेकै छ । बस्नेत एमाले र सिटौला माओवादी समर्थक हुन् । दुई पार्टीका समर्थक भएरै एकले अर्कोलाई हटाउने र खेदो खन्ने काम अझै रोकिएको छैन् । विवाद बढ्दा एकले अर्कोमाथि राजनीतिक दम्भ देखाएर हटाउनेसम्मका काम भइरहेका छन् । २०७५ माघ २५ गते चार वर्षे कार्यकालका लागि नियुक्त भएका सिटौलालाई गएको माघ ११ गते मन्त्रीपरिषदको निर्णयबाट अवकाश दिइएको थियो ।
सिटौलाले त्यस विरुद्ध दिएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले गएको माघ २२ गते अन्तरिम आदेश जारी गरि अवकाशको निर्णय कार्यान्वयन नगर्न भनेको थियो । तर, गएको वैशाख २३ गते मन्त्रीपरिषदले कार्यसम्पादन मूल्यांकनका आधारमा स्तर न्यून देखिएको भन्दै सिटौलालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध सिटौलाले पुनः अदालतको ढोका ढकढक्याएका थिए । उनलाई पदमुक्त गर्नु पूर्व सुनुवाईको अवसर नदिइएको र अवकाश दिने निर्णय गर्दा सार्वजनिक संस्थान निर्देशन बोर्ड (गठन तथा कार्यसञ्चालन) आदेश, २०६९ को दफा ६ को (ङ) र दफा १६ को उपदफा (२) मा रहेको प्रावधानको त्रुटिपूर्ण रुपमा प्रयोग भएको देखिएको भन्दै सर्वोच्च अदालतले सिटौलाको पद कायम रहेको फैसला गरिदियो ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म मन्त्रिपरिषदको वैशाख २३ को निर्णय र अर्थ मन्त्रालयबाट पदमुक्त गर्ने सम्बन्धमा वैशाख २९ गते देखिएको पत्र कार्यान्वयन नगर्न नगराउन असार ८ गते आदेश दिएको हो । सोही अनुसार सिटौलाले आइतबार लिमिटेडमा अदालतको आदेश बुझाउँदै पुनः पद बहाल गरे । आइतबार पुनः कार्यालय पुगेका सिटौलाले आफूले कानूनी राज्यमा विश्वास गर्ने र त्यस अनुसार काम गर्न जस्तै अवरोध आए पनि नछोड्ने बताएका छन् । सिटौला सर्बोच्चको पत्र बोकेर कार्यालय पुग्दा अध्यक्ष बस्नेत भने पहिले नै कुलेलाम ठोकिसकेका थिए । उनीको समर्थनमा रहेका कर्मचारी सिटौलालाई हाजिर गर्न नदिने योजना बनाइरहेका थिए । तर, सञ्चारकर्मीको उपस्थिति देखेपछि पुर्वयोजना गरिएका कार्यक्रम नै स्थगित गर्नुपर्यो ।
सिटौला सर्बोच्च पुगेको यो पहिलो पटक पनि होइन । सर्वोच्च अदालतले नै २०७४ असार २५ गते सिटौलालाई चार वर्षे कार्यकालका लागि नियुक्त गर्न विपक्षीको नाममा परमादेश दियो । त्यसपछि २०७५ माघ २५ मा सरकार सिटौलालाई महाप्रबन्धकमा नियुक्त गर्न बाध्य भएको थियो । फेरि २०७६ असोज २७ गते ६५ बर्षको उमेरहद सकिएको भन्दै अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गर्दै अवकाश पत्र थमाइदिएपछि दुबैको विवादले उग्र रुप लियो । अध्यक्ष बस्नेतले सिटौलाको कार्यकक्ष नै ताला लगाइदिएका थिए । सो विवाद तत्कालिन उद्योग मन्त्री लेखराज भट्टले मन्त्रालयमै बोलाएर सहमति गराएका थिए ।
अध्यक्ष बस्नेतको यो दोस्रो कार्यकाल हो । अदालतको आदेशमा महाप्रवन्धक बनेका सिटौला हुन् वा दोस्रो पटक अध्यक्ष बनेका बस्नेत । बस्नेतले लिमिटेडमा ब्यापक अनियमितता गरेको सिटौलाको आरोप छ । अहिलेपनि दुबैले कर्मचारी बिभाजित गराएर अहिले पनि औद्योगिक क्षेत्रलाई हासिमजाक बनाइरहेका छन् । दर्जनौं उद्योग तथा कलकारखानामा राजनीति घुसाएर तहस नहस बनाएका राजनीतिक नेतृत्वकै कारण उद्योगहरु अहिले पनि राजनीतिक अखडा बनिरहेका छन् । भाषणमा धरासायी बनेका उद्योग कलकारखानालाई उकास्दै स्वदेशमै रोजगारको अवसर बढाउने दाबी गर्ने शासक र नेताहरु अवसर पाउनासाथ आफू निकटका नेता र कार्यकर्ता भर्ती गर्न किन गरिहन्छन् तछाड मछाड ? जताततै राजनीति घुसाएर फोहोरी खेल खेल्न पल्केका नेताहरुलाई जनजनले प्रश्न गरिरहेका छन् । बालाजु उद्योगिक क्षेत्रमा राजनीति पक्षधरताका आधारमा चल्दै आएको रस्साकस्सी रोकेर औद्योगिक क्षेत्रलाई गतिशिल बनाउन सरकार र सरोकारवालाले ध्यान दिने की ?
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष बस्नेत र महाप्रवन्धक सिटौला, #औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्