Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

बिपीको बिचारमा बिचलित कांग्रेस


भदौ २४, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिशेश्वरप्रसाद कोइरालाको १ सय ७ औं जन्मजयन्ती । प्रजातान्त्रिक समाजबादका प्रणेता कोइरालाप्रति सर्वप्रथम कार्यक्रम जनताको इजलासको तर्फबाट हार्दिक श्रद्धासुमन । साम्यवादमा प्रजातन्त्र जोडियो भने त्यो समाजवाद हुन्छ अनि समाजवादबाट प्रजातन्त्रलाई अलग पारियो भने त्यो साम्यवाद हुन्छ । यी र यस्तै प्रेरक र उत्प्रेरणात्मक भनाईहरुलाई आत्मसाथ गर्दै नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजबादको उदय गर्ने ब्यक्तीत्व हु्न स्वर्गीय बिपी कोइराला ।

क्यान्सरका कारण २०३९ साल साउन ६ गते देहत्याग गरेका कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसका संस्थापक नेता । उनकै प्रजातान्त्रिक समाजबादमा देशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस कछुवा गतिमा अघि बढिरहेको छ । यी नै महानायकलाई नेपालका कांग्रेसजनले केवल स्मृति दिवस, जन्मजयन्ती र उनले नै अघि सारेको मेलमिलाप दिवसमा औपचारिक रुपमा सम्झने बाहेक खासै अरु केही गरेको देखिदैन । हुनन् कांग्रेस बृत्तमा नै प्रजातान्त्रिक समाजबादको ब्याख्या र परिभाषा आ–आफ्नै ढंगको छ ।

मुलक कोभिड १९ ले ग्रसित भइरहदा आफ्ना संस्थापक नेताको जन्मजयन्ती कांग्रेसले जुम एफ मार्फत भाषण छाट्दै मनाइरहेको छ । सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने सिद्धान्त सहित मेलमिलापको नीति ल्याई कांग्रेसलाई बलियो प्रजातान्त्रिक शक्ति बनाएका कोइरालालाई सम्झदै गर्दा कांग्रेस आफै गुट उपगुट र आरोप प्रत्यारोपको राजनीतिमा चुर्लुम्म डुबिरहेको छ । तत्कालिन राणा, राजासँग पौंठेजोडी खेलेर संगठन निर्माण गरेका कोइरालाको आत्माले आफनै पार्टीभित्रको भाडभैलो देखिरहदा कति पोलेको होला । त्यो हालका कांग्रेस नेता कार्यकर्ताले भुलेका छन् ।

भाषण गर्दा बिपीको समाजबादको ब्याख्या उपब्याख्या गर्दै नथाक्ने कांग्रेस कार्यकर्ता र नेताहरु बीपीको बिचारबाट भने बिचलित भएका हुन् की भन्ने उनीहरुका गतिबिधिले देखाइरहेको छ । १४ औं महाधिबेशनको संघारमा रहेको प्रमुख प्रतिपक्ष दल कांग्रेसले बीपीको प्रतिपादित प्रजातान्त्रिक समाजबादलाई अबलम्बन गर्न नसक्दा जुट फुट अनि गुट उपगुटको सिकार बनिरहेको छ । पार्टी भनेको सिद्धान्त, बिचार, कार्यकर्ताको आचरण अनि नेता कार्यकर्ताको ब्यवहारले चल्ने हो । तर, पद, सत्ता, शक्ति र अविबेकीपूर्ण निर्णयका कारण पार्टीभित्रको विवाद समय–समयमा छताछुल्ल भई पोखिनुले पनि बिपीको सिद्धान्तमा कांग्रेस पार्टी अडिग नरहनुको परिणाम हो ।

हुनत् स्थापनाकालदेखि परिवारबाद हालिमुहाली भएको कांग्रेसले मुलकुमा प्रजातन्त्रको स्थापना भएसँगै सबैभन्दा बढी सत्ताको स्वाद चाखेकै हो । बिबादित निर्णयहरु गरेकै हो । भ्रष्टचारमा चुर्लुम्म डुबेकै हो । नातागोता र आफन्तलाई सत्ता र शक्तिको दुरुपयोग गर्दै नियुक्ति गरेकै हो । यी र यस्ता कारणहरुले नै ३० बर्षको अवधिमै मुलुकको सबैभन्दा ठूलो दल प्रतिपक्ष दलमा खुम्चिन बाध्य हुनु पर्यो । तर, प्रतिपक्षले निभाउनुपर्ने भूमिकामा पनि चुकिरहँदा कांग्रेसका संस्थापक कोइरालाको जन्मजयन्तीमा पार्टीले अंगिकार गरेको प्रजातान्त्रिक समाजबादको पथमा पार्टीलाई डोर्याउने की, तैचुप मैचुप भनी पार्टीका सिद्धान्तहरुलाई तिलाञ्जली दिइरहने हो यसको जवाफ कांग्रेसले आगामी महाधिबेशन मार्फत दिर्नैपर्छ । होइन भने औपचारिक रुपमा मनाइने कार्यक्रमले दिबंगत कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुनै सक्दैन ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #कांग्रेस, #बिशेश्वरप्रसाद कोइराला

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं