Techie IT
  • २२ कात्तिक २०८१, बिहीबार
KhojPatrika

किन बढिरहेछ एसिड आतंक ? पाँच बर्षमा ५ बटै घटना


पछिल्लो ५ वर्षमा ५ वटा एसिड प्रहारका घटना सार्वजनिक भएको छ । ति सबै घटनामा महिला पीडित छन् । एसिड आक्रमणबाट एक जनाको त मृत्यु नै भएको छ । एसिड प्रहार गर्ने सबै पुरुष छन् । एसिड प्रहार गर्नुको कारण प्रेम सम्बन्धमा खटपट नै हो । पुरुषले एसिड प्रहार गर्ने अनि महिला पीडित हुनुपर्ने । त्यति मात्रै होइन, आजिवन कूरुप भएर बस्नुपर्ने । एउटा सुनौलो भविष्यको सपना बोकेर विद्यालयतर्फ लम्बिरहेकी वीरगन्ज २ छपकैयाकी १५ वर्षीय मुस्कान खातुनमाथि शुक्रबार विहानै एसिड आक्रमण भयो । एसिडले शरीरका विभिन्न भाग डढेपछि मुस्कानको मुस्कान खोसिएको छ यतिबेला । यो अन्जान र टाढाको मान्छेबाट भएको कुकर्म होइन । प्रहरीको प्रारम्भिक अनुसन्धानले एकतर्फी प्रेमका कारण छिमेकी युवकले उनीमाथि एसिड हानिएको देखाएको छ । एसिड आक्रमणबाट यस्ता धेरै मुस्कानहरुको खुसी लुटिएको छ । अधिकांश घटना प्रेममा खटपट, एकतर्फी प्रेम वा पारिवारिक बेमेल हुने गरेका छन् । २०७१ फागुन ११ गते एसएलसीको तयारीको लागि ट्युसन पढ्न गएका दुई किशोरीमाथि काठमाडौंको वसन्तपुरमा एसिड प्रहार भयो । संगिता र सिमामाथि एसिड प्रहार गर्ने जीवन विक अहिले जेलमा छन् । रौतहटको चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि २०७५ भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । कारण थियो, प्रेम प्रस्ताव अस्वीकार गरेको । ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेका थिए । गम्भीर घाइते दासको उपचारको क्रममा मृत्यु भयो । नवलपरासीको कावासोतीमा फेरि २७ वर्षीया युवतीमाथि एसिड र छुरा प्रहार भयो । आफ्नै छिमेकी विमल श्रीपालीको एसिड र छुरा आक्रमणमा परेकी कावासोती नगरपालिका ९ डण्डा बजारकी वसन्तीको शरीरको २५ प्रतिशत भाग जलेको थियो । गत जेठ १ गते काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड आक्रमण भयो । आक्रमणमा परेकी युवति जेनी खड्कालाई आफ्नै श्रीमान् विष्णु भुजेलले एसिड खन्याएका थिए । एसिड आक्रमण दण्डनीय छ । कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । जरिवानाको रकम पीडितलाई दिइने पनि अपराध संहितामा उल्लेख छ । एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा पनि लाग्छ । कानुन बनेको छ तर मानिसको मनोबृतिमा सुधारका लागि कानुनमात्रै पर्याप्त भएको छैन ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, स्वास्थ्य
ट्याग : #asid aakraman

तपाईको कमेन्ट लेख्नुहोस्