Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

बैशाख २७ मा ओलीको परिक्षा, फेल भए देउवाको नयाँ दाउ


काठमाडौं । नागरिक रोग र भोगको त्रासमा बाँचिरहदा नेताहरु भने सत्ता जोगाउने र गिराउने खेलमा ब्यस्त छन् । आफैले संसद विघटन गरेको कदम असंबैधानिक ठहर हुँदा समेत नैतिक रुपमा स्वीकार गर्न नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी बचाउन आगामी २७ गते संसदमा बिश्वासको मत लिदैछन् । संसदको बिशेष अधिबेशन आह्वान भएसँगै फेरि पनि सांसदको जोडघटाउसँगै तानातानको हानथाप सुरु भएको छ ।

प्रधानमन्त्री बनेको ३ बर्ष २ महिनापछि केपी शर्मा ओली अकस्मात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढालिकण्ठ पुगे । त्यो पनि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र दर्ता गराएको दिन । आफू अल्पमतमा परेका प्रधानमन्त्री ओलीले बिपक्षी गठबन्धनको नेतृत्व गर्न तयार भएका देउवासँग सत्ता सहकार्यको प्रस्ताव राखे । तर, देउवाबाट प्रस्ताव अस्वीकार भएपछि ओली अन्य दलसँग समेत सहकार्यका लागि छलफल गर्ने योजना बनाएका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी दलबाट समर्थन पाए बहुमत पुग्ने अपेक्षा गरेका थिए । तर, जसपामै हस्ताक्षर अभियान रोकिनु ओलीलाई अर्को धक्का लागेको छ । जसपाभित्रै ओलीको विपक्षमा उभिनुपर्ने धार क्रियाशील छ, जसको नेतृत्व डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवले गरेका छन् । ओलीको पक्षमा रहेका महन्त ठाकुर र राजेन्द्र महतोबीच पनि फाटो आइसकेको छ । माओवादी केन्द्र र कांग्रेसले प्रधानमन्त्री ओलीले लिने विश्वासको मत बिफल बनाउने निर्णय गरिसकेका छन् ।

बैशाख २७ गते अगावै राजीनामा दिने मनस्थितिमा पुगेका माधव झलनाथ पक्षकै कारण ओली थप संकटमा परेका छन् । आफनै पार्टी एक जुट बनाउन नसकेको प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदबाट विश्वासको मत लिँदैछन् । संसदमा १२१ सिट संख्या रहेको एमालेमा खनाल–नेपाल पक्षसँग ३७ सांसद छन् । तीमध्ये २१ जना प्रत्यक्ष निर्वाचित छन् । यो संख्या मतदानमा महत्वपूर्ण हुने देखिन्छ । जसपाका आधा सांसदले ओलीलाई साथ दिए पनि माधव पक्षका सांसदहरुले फ्लोर क्रस गर्न सक्ने सम्भावना बुझेका ओलीले आफूले विश्वासको मत नपाए नयाँ सरकार गठन गर्नसमेत नहुने बहानामा पुनः संसद विघटन गर्ने दाउ छ ।

कांग्रेसको ६१, माओवादी केन्द्रको ४९ ले मात्रै नयाँ सरकार बनाउन अंकगणित पुग्दैन । बिपक्षीलाई सरकार बनाउन पनि जनता समाजवादी वा एमालेकै नेपाल खनाल समूहका सांसदहरुले साथ दिनुपर्ने हुन्छ । जसपाका भट्टराई र यादव पक्षले साथ दिने आश्वासन दिएपनि यो संख्या मात्रैले बहुमत पुग्दैन । अहिलेसम्मको अवस्था हेर्दा २७ गते न ओलीले बहुमत पुर्याउन सक्छन् न त बिपक्षीले नै संख्या पुर्याउन सक्छन् । जसका कारण २७ गतेपछि झनै राजनीति जटिलतातर्फ धकेलिने देखिन्छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संसदमा ओली र देउवा

तपाईको कमेन्ट लेख्नुहोस्