Techie IT
  • १८ मंसीर २०८१, मंगलबार
KhojPatrika

कोरोना नियन्त्रणमा नेपाली सेना खट्ने, यस्तो छ तयारी


काठमाडौं । कोरोना संक्रमणले उग्र रुप लिन थालेपछि नियन्त्रणका लागि नेपाली सेना तयारीमा जुट्न थालेको छ । सरकारले महामारी नियन्त्रणको अभिभारा सेनालाई दिन सक्ने संकेत गरेपछि सेनाले आफनो तयारी सुरु गरेको हो । उसले बिभिन्न स्थानमा आइसुलेसन बेड निर्माण गर्नुका साथै अवकाश प्राप्त स्वास्थकर्मी सैनिकलाई हाईहर्लटमा रहन निर्देशन समेत दिएको छ । कोरोना संक्रमण र मृत्युदर समेत बढ्न थालेपछि यतिबेला सरकारी तथा निजी अस्पतालमा बेडै पाउन मुस्किल छ ।

अस्पतालमा भएका आइसुलेस र भेण्टिलेटर मात्रै होइन सामान्य बेड समेत नपाएर भौतारिनुपर्ने अवस्था आइसकेको छ । केहीदिन अघिको कार्यक्रममा रक्षा मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संकट पर्दा सेनाले अहम भूमिका खेलेको भन्दै कोरोना नियन्त्रणका लागि पनि अग्रसर गराउने संकेत गरेका थिए । तर, अहिलेसम्म सरकारले त्यस्तो कुनै निर्णय नगरेपनि सेना भने कोरोना नियन्त्रणका लागि आफनो तयारीमा जुटेको छ ।

सरकारले महामारी नियन्त्रणको अभिभारा सेनालाई दिन सक्ने संकेत पाएपछि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा प्रिन्सिपल स्टाफ अफिसर्स बैठक नै बसेको थियो । त्यही बैठकले ०७२ यता अवकाश पाएका भूतपूर्व स्वास्थ्यकर्मी सैनिकलाई महामारी नियन्त्रणमा खटाउने निर्णय गरेको थियो । निर्णयलगत्तै बुधबार बिज्ञप्ती जारी गर्दै सेनाले भूतपूर्व सैनिक स्वास्थ्यकर्मीलाई अलर्ट रहन निर्देशन दिएको छ ।

सेनाले ०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन रिकल टु ड्युटी निर्देशन जारी गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ । हाल सेनासँग बहालवाला स्वास्थ्यकर्मी सैनिक दुई हजार तीन सय छन् । जसमा अधिकांश नर्स र केही विभिन्न विधाका चिकित्सक रहेका छन् । अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिक सेनाबाट परिचालित बहालवाला स्वास्थ्यकर्मी सैनिकसँगै खटाउने योजना बनाएपछि सेनाले मातहतका पृतना, गण र गुल्ममार्फत विशेष युटिन बनाउने तयारी गरेको छ ।

कोरोना महामारी बढ्दै जाँदा अहिले देशमा स्वास्थ्य संकटकाल लगाउने विषय बहसमा छ । संकटकालमा सेना परिचालन हुन सक्ने प्रावधान छ । यसका लागि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्नुपर्ने हुन्छ । राष्ट्रिय विपत्तिमा भने सेना बैठकअघि नै पनि परिचालन हुन सक्छ । भूकम्प तथा बाढीपहिरो जाँदा सेना यसरी नै परिचालन हुँदै आएको छ । यतिबेला सेनाले त्रिचन्द्र महांकाल अस्पतालमा ८० बेडको आइसोलेसन सेन्टर, छाउनीनजिकै तथा बालाजुस्थित राधास्वामी सत्संग आश्रम, मातातीर्थ, खरिपाटी भक्तपुरलगायत ठाउँमा आइसोलेसन सेन्टर स्थापना गर्नेबारे अध्ययन थालेको छ ।

सूर्यविनायकमा सेनाको आइसोलेसन सेन्टर सञ्चालित छ । सैनिक र गैरसैनिक दुवैका लागि आइसोलेसन सेन्टरको सुविधा उपलब्ध गराउने गरी काम गरिरहेको सेनाले जनाएको छ । त्यस्तै, अक्सिजन अभावले कोरोनाको उपचार प्रभावित भइरहेका वेला सेनाले भने अक्सिजनमा आत्मनिर्भर रहेको जनाएको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा छ । २०६९ कार्तिक १६ गने स्थापना गरिएको प्लान्टबाट प्रतिघन्टा चार सय लिटर अक्सिजन उत्पादन हुँदै आएको पनि सेनाले जनाएको छ । एक बर्षदेखि सेनाले कोरोनाबाट मृत्यु भएका ब्यक्तीहरुको शव ब्यवस्थापन गरिरहेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #नेपाली सेना खट्ने

तपाईको कमेन्ट लेख्नुहोस्