Techie IT
  • ६ कात्तिक २०७८, शनिबार
KhojPatrika

आन्दोलनको उपलब्धि कति ? जनताका मुद्धा भन्दा राजनीतिक स्वार्थका मुद्धा बढी


काठमाडौं । व्यवस्ता फेरिए, नेता फेरिए, कुर्सी र पदमा हरेक नेताबीच उस्तै हानाथाप । अनि आन्दोलन तथा जनमतबाट सत्तामा नेतालाई स्थापित गराउने जनताका कथा व्यथा र सास्ती उस्तै । राजनीतिक उद्देश्य प्राप्तिका लागि गरिने सडक प्रदर्शनको शिकार निर्दोष जनतालाई कहिलेसम्म ? प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछिको पछिल्लो एक महिना देशभर आन्दोलन भइरहेका छन् । सडकमा गरिखाने वर्गलाई सास्ती दिएर चलेको संसद पुनस्थापना भर्सेज निर्वाचनको जुहारी अझै मथ्थर हुने देखिएको छैन ।

देश र जनताका लागि भन्दै भैरहेका आन्दोलनमा शिर्ष नेताहरुका भाषण सुन्दा लाग्छ, यी कुनै पनि आन्दोलन देश र जनताको चाहाना भावना पुरा गराउनका लागि नभई एकअर्काबिरुद्धका गाली र आलोचनाबाट प्रतिशोध ओकल्नका लागि हुन । सामान्य जनतालाई देशमा शान्ति, स्थिरता, विकास र स्वतन्त्रताको अपेक्षा हुनु स्वभाविक हो । राजनीति दल र तिनका नेताहरुको निहीत सत्ता स्वार्थ पुरा गर्न कुनै व्यवस्था वा वादसँग सम्वन्ध नराख्ने जनतालाई प्रयोग गर्ने फोहोरी खेल रोक्न दुई चार सय पैसा र एक दुई छाक भातको प्रलोभनमा पार्ने तमाम प्रयत्न भइरहेका छन् ।

संविधानको भाग ३, धारा १७ ले व्यक्तिलाई बिनाहातहतियार शान्तिपूर्वक भेला हुन पाउने, आफ्नो हकअधिकार रक्षाका लागि आन्दोलित हुन पाउने अधिकार कुण्ठित गरेको छैन । तर, आफ्नो हकअधिकारको उपयोग गर्दैगर्दा अरूको हकअधिकारमा भने खलल पु¥याउन पाइँदैन । यो कुरालाई अहिलेका राजनीतिक दलहरूले पटक्कै ख्याल गरेको पाइँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको कदम उठाए । यसले स्थायित्वको दिशामा अघि बढिरहेको राजनीति तरङ्गित हुन पुग्यो । सबैभन्दा बढी सडक अशान्त छ । काठमाडौंलगायत मुख्य सहर अशान्त छन् ।

औपचारिक सेवा क्षेत्रमा रहेकाहरूको रोजीरोटीमा खासै असर पुगेको छैन । तर, कमजोर आय भएका, दैनिक ज्याला, मजदुरी, श्रमबाट छाक टार्नेहरू सङ्कटमा छन् । आफ्नो कदमको प्रतिरक्षा गर्न र विरोध गर्न मुख्यतः नेकपाको दुई समूह र अरू विपक्षी, प्रतिस्पर्धी पार्टीहरू सडकमा आउँदा नागरिकले अनाहकमा सास्ती बेहोर्नु परिराखेको छ । दैनिकजसो हुने विरोध प्रदर्शन र आमहड्तालसम्मका गतिविधिले नागरिक प्रताडित हुँदै गएका छन् । उनीहरू प्रतिवाद गर्न सक्ने अवस्थामा पनि देखिँदैनन् । किनकि यहाँ सबैको स्वर ठूला छन् । जनताको स्वर सुनिदैन ।

कोरोना भाइरसका कारण भएको लकडाउनका बेला पर्नुसम्म मारमा परेका थिए सर्वसाधारण । बन्द हडतालले कतिखेर प्रदर्शनकारी आएर अवज्ञा गरेको भन्दै उठाउँन बेर छैन । डरैडरमा चलेको दैनिकी धैरै पीडादायी छ । तर, जनतालाई कुन दलको कार्यक्रम हो किन आएको हो पत्तै हुदैन । आखिर उनीहरुको के दोष ? कहिले प्रचण्ड माधव समूहको बिरोध सभा कहिले कांग्रेसको आन्दोलन त कहिले केपी ओलीकै शक्ति प्रर्दशन । यहि शक्ति प्रर्दशनको होडबाजीले जनताको चुल्हो बल्न समेत कठिन छ । प्रचण्ड–नेपाल समूहले नै बुधबार अर्को सभा गरे । ओलीलाई गर्नुसम्मको गाली गरे । प्रचण्ड–नेपालको आमहड्तालदेखि बिरोध सभाले सरकारले घुँडा टेक्ला, नटेक्ला तर कमजोर आय भएकाहरूलाई भने सधैको यो सभा र बिरोधले पक्कै थला पारिरहनेछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आन्दोलनको उपलब्धि

तपाईको कमेन्ट लेख्नुहोस्