काठमाडौं उपत्यकामा ट्राफिक ब्यवस्थापनमा आलटाल, सडकमै पार्किङको व्यापार
काठमाडौं । उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन दैनिक थपिने तर, भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् भयावह बन्दैछ । सडक कोरिडोरको विकास र सडक विस्तारबाट जामलाई केही कम गर्ने प्रयास भएपनि सडक निर्वाध सवारी साधन गुडाउन भन्दा पार्किङका रुपमा दुरुपयोग गर्ने क्रम बढिरहेको छ । यस्तो लाग्छ मानौं, ट्राफिक जाम शहरवासीको दैनिक जीवनको अभिन्न हिस्सा नै बनिसकेको छ । हुँदा हुँदा त अहिले आएर जेसुकै कारणले कतै समयमा पुग्न सकिएनभने पनि बहाना चाहिँ ‘ट्राफिक जाम’भन्ने थेगा जस्तै बनिसकेको छ ।
हुन त, ट्राफिक प्रहरीले तयार पारेको उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजनाले नै करिडोर क्षेत्रका सडक र अन्य सडक निर्माणको ढिलासुस्ती, सडक छेउमा मापदण्ड विपरीत रहेका ग्यारेज, पेट्रोल पम्प, वर्कशप, उचित पार्किङ स्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नु लगायत कारणले समस्या बल्झिरहेको देखाएको छ । यतिमात्रै होइन्, महानगरीय ट्राफिक प्रहरी महाशाखाका निवर्तमान प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको संयोजकत्वमा गठित कार्यदलले समय सापेक्ष कानूनको सुधार हुन नसक्नु, दक्ष चालकको अभाव, सम्बद्ध निकायबीच प्रभावकारी समन्वय र सहकार्यको अभाव हुनु लगायतले पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको औल्याएको छ । तर, ट्राफिक महाशाखाका प्रमुख फेरिएसँगै लागू हुने विभिन्न अभियानले समेत उपत्यकाको जाम व्यवस्थापन गर्न सकेका छैनन ।
सवारी व्यवस्थापनमा प्रविधिको प्रयोग बढ्न सकेको छैन भने सडकहरु पनि अव्यवस्थित र साँघुरा छन् । अर्कोतर्फ ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिले पनि चुनौति बढिरहेको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरु प्रहरीलाई दोष दिन्छन् । ट्राफिक प्रहरी महाशाखामा जति पटक नेतृत्व परिवर्तन भए पनि समस्या समाधान नभएको तर अनावश्यक दुःख दिन गरिएको सवारी चालकहरु बताउँछन् । अहिले त उपत्यकाका अधिकांश सडकमा ट्राफिकसँगै ट्राफिक लाइट जडान गरिएका छन् । यसले सडकमा हुने मनलाग्दी आवागमन रोक पनि जाम व्यवस्थापन गर्न सकेको छैन । बरु सडक प्रयोकर्ताहरु ट्राफिक लाईट राखेर जाम हट्नुको साटो बढेको गुनासो गरिरहेका छन् । निश्चित समय तोकेर राखिएको लाईटले ट्राफिकको खटाईमात्रै कम गरेको छ ।
सडकको कुन दिशाबाट कति गाडी आउँछन, चाप कत्तिको हुन्छ, त्यसको आधारमा सवारी साधनको आवत–जावत मिलाउने गरी जामलाई सेन्सर गरेर त्यहीअनुसार ट्राफिक लाईट चल्ने व्यवस्था नहुँदासम्म उपत्यकाको जाम व्यवस्थापन असम्भव जस्तै देखिएको छ । हुन त, काठमाडौं उपत्यकाका सडकमा केही केहीभने सुधार देखिएका छन् । प्रधानमन्त्रीको निर्देशन र सडक विभागको ताकेतासँगै खाल्डाखुल्डी पुरिएका छन् । धुलाम्मे हुने काठमाडौँका सडक केहीनिश्चित ठाउँमा बाहेक चिल्ला सुकिला बनेका छन् । मुख्य सडक क्षेत्र चिल्ला र सडक सङ्केतयुक्त बनेपनि उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बन्ने अवस्था छैन । सवारीको अत्याधिक चाप, साँघुरा सडक, चोक गल्लीको उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा अवरोध सिर्जना हुँदै आएको छ ।
यातायातमा जोरबिजोर प्रणाली लागू हुँदापनि सवारी जाम नरोकिएपछि गृह मन्त्रालयले एकीकृत कार्यायोजना बनाएर लागू गर्ने प्रक्रिया अघि बढाएको थियो । ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना २०७७’ तयार भएपनि तत्कालीन र दीर्घकालीन गर्नुपर्ने कामलाई पुरा नगर्दासम्म समस्या समाधान हुने देखिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय तहका साथै सडक सम्बद्ध निकायको समन्वय पनि उत्तिकै आवश्यक देखिएको छ । सडक जाममा सबैभन्दा ठूलो समस्या भनेकै सडकमा हुने अनधिकृत पार्किङ हुन् । सशुल्क र निःशुल्क पार्किङको पुनरावलोकन गरी कार्यान्वयन गर्नुपर्ने, करिडोर क्षेत्रमा पनि उचित स्थानमा पार्किङको व्यवस्थापनका साथै सडक छेउका खाली जमिनमा स्मार्ट पार्किङको व्यवस्थापन गर्नुपर्ने भनिएपनि सडकको आवागमन अवरुद्ध गरेर पार्किङ भइरहेका छन् । बढी जाम र भीडभाड हुने तीनकुने, जडीबुटी, कोटेश्वर, बबरमहल, सिंहदरबार क्षेत्रमा आवश्यकता अनुसार अण्डरपास र ‘फ्लाइओभर’ सडक निर्माण गर्नुपर्ने भनिएपनि अपवादबाहेक अहिलेसम्म अध्ययनको काम समेत सुरु हुन सकेको छैन ।
पशुपतिक्याम्पस, मित्रपार्क, रातोपुल, गौशालालगायत क्षेत्रमा तथा वाग्मती, धोवीखोला, मनोहरा, हनुमन्ते करिडोरका पुलपुलेसा, सडक व्यवस्थापनमा जोड दिइए पनि व्यवस्थापन पक्ष अत्यन्तै कमजोर देखिएको छ । कतिपक्ष सडक क्षेत्रमा क्षमताभन्दा बढी सार्वजनिक सवारी साधनलाई रुट इजाजत वितरण गरिदा समेत जामले निरन्तरता पाउँदै आएको छ । सडक सरोकारका विज्ञका अनुसार सडक बत्तीसँगै जिपिएस सहितको सवारी साधान ट्रयाकिङ प्रणालीविकास नहुँदासम्म उपत्यकाको सडक व्यवस्थापन सम्भव देखिदैन । अझविना सडक पूर्वाधारको क्षमताको अध्ययन बिनै सार्वजनिक गाडी र निजी गाडी थप्दै जाँदा काठमाडौंको सडकले धान्न नसक्ने जाम बढेको छ ।
२०४८ सालमा जम्मा ४८ हजार ६ सय ४२ वटा गाडी दर्ता भएको काठमाडौं उपत्यकामा अहिले यस्ता सवारी साधनको संख्या १२ लाख नाघ्न लागेको छ । काठमाडौं उपत्यकाले धान्न सक्ने जनसंख्या, त्यसको लागि चाहिने सवारी संख्या, सवारीको चापलाई कम गराउने उपाय र विधिहरुको बारेमा अध्ययन गर्न निक्कै ढिला हुँदै कहिल्यै समाधान नहुनेगरि जामले विस्तार पाएको कतिपयले चिन्ता गर्न थालेका छन् । काठमाडौं उपत्यकाका खोला कोरिडोर तथा भित्रिमुख्य सडक समेत गरेर करिब २ हजार किलोमिटर सडकको पँहुचविस्तार भएको छ । तर, यो सडकमा क्षमताभन्दा झण्डै दोब्बर हुनेगरि १२ लाख हाराहारि सवारी साधन गुडिरहेका छन् ।
चोक चोकमा ट्राफिक लाइट राखेर केहीमिनेट रोक्ने पठाउने गरेर मात्रै उपत्यकामा जाम हट्ने देखिदैन । यसका लागि बैकल्पिक सडकको व्यवस्थापन उपलब्ध सडकमा पार्किङ व्यापार लगायतका नाममा भइरहेको अधिग्रहण रोक्न र व्यवस्थित गर्न सक्ने हो भने पनि तत्काललाई जामबाट केही राहतदिन सकिन्छ । यतातर्फ सडक संबद्ध निकाय र ट्राफिक प्रहरीको ध्यान पुग्न जरुरी छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ट्राफिक व्यवस्थापन, #सवारी साधनका चाप
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्