पक्राउ पर्लान् त उखु किसानको भुक्तानी नदिने उद्योगी
काठमाडौं । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । पैसा नपाएपछि आइतबारदेखि काठमाण्डौ आएर आन्दोलनमा उत्रिएका किसानहरुले दबाब दिएपछि बल्ल सरकारको आँखा खुलेको हो । सरकारले मिल संचालकलाई पक्राउ गर्ने निर्णय गरे पनि किसानले पैसा पाउने निश्चित भने भएको छैन । मंगलबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत उपस्थित थिए ।
यता आइतबारदेखि माइती घरमा उखुको मूल्य माग्दै किसानहरु प्रदर्शनरत छन् । गत सालको पुष महिनामा पनि उखु किसानहरु आफ्नो पसिनाको मुल्य नपाएपछी सरकारको गुहार माग्दै राजधानी आएर सडक आन्दोलन गरेका थिए । त्यसबेला जाडो र पिडा सहेपछि सरकारले पुष १८ गते उखु किसानसँग ५ बुदे सम्झौता गरेको थियो । तर सम्झौताबमोजिम पैसा नपाएपछि एक वर्षपछि किसानहरु फेरी सडकमै पुगेका छन् । मंसिर अन्तिमको जाडोमा सर्लाहीका ७४ वर्षीय राजेन्द्र मण्डव काठमाडौंको चिसो सिरेटोमा बस्न कहाँ सजिलो छ र ? छातीमा पम्प्लेट टाँसेर माइतीघर बस्नु उनको रहर पनि होइन । राजेन्द्रले राजतन्त्रदेखि गणतन्त्रसम्म देखे । गाउँ–गाउँमा सिंहदरबार पुग्छ भन्ने पनि सुने । तर उनको गाउँमा सिंहदरबार कहिल्यै पुगेन । बरु सिंहदरबारबाट शासन गर्ने शासकहरूले आफ्नो उखुको पैसा उठाइदिन्छन् कि भन्ने आशामा उनी सिंहदरबार नजिकैको माइतीघरमा आइपुगेका छन् ।
मिलबाट ३ लाख लिन बाँकी छ । त्यो पैसा पाए ऋणको ब्याज थपिन्थेन । यस्तै ३ बर्षदेखी भुक्तानी नपाएका अर्का राम स्वाथ राय पनि सरकारले गरेको सम्झौता पूरा नभपछि सडकमा आउँनु परेको बताए । सरकारले न्याय िदन्छ भन्ने आश गरेका किसान उल्टै आन्दोलनमा आउने किसान नभै विचौलिया हुन् भनेपछि उनको मन झन दुखेको छ । किसान संघर्ष समितिको अध्यक्षसमेत रहेका रायले पैसा नपाएसम्म घर नफर्किने बताएका छन् । सरकारले किसानसँग गरेको पटक–पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा भुक्तानी नगरेपछि राष्ट्रिय कृषक समुह महासंघ पनि रुष्ट छ ।
श्रम, पसिनाको मुल्य पाउनुपर्ने, माफियाको गुलियोमा सरकार भुलियो लगायतका प्ले कार्ड बोकेर किसानहरुले प्रदर्शन गरिरहेका छन् । १३ वटा चिनी मिलहरुमध्ये ६ वटाले भुक्तानी दिएका छैनन । सबैभन्दा बढी ३५ करोड रुपैयाँ बक्यौता रहेको रौतहटको श्रीराम सुगर मिल बन्द छ । त्यस्तै, सर्लाहीको अन्नपूर्ण सुगर मिलले ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सर्लाहीकै महालक्ष्मी सुगर मिलको ६ करोड बक्यौता छ । यो मिलले न्यूनतम समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ३६ रुपैयाँ कम भुक्तानी दिएर किसानलाई ठगेको छ । त्यस्तै, नवलपरासीको लुम्बिनी चिनी मिलले १० करोड भुक्तानी दिन बाँकी छ । नवलपरासीकै इन्दिरा सुगर मिलले ८ करोड र बागमती खाँडसरी मिलले ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उखु किसान
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्