Techie IT
  • २९ पुस २०८१, सोमबार
KhojPatrika

ठेकेदारले ल्याएनन् मल, बंगलादेशसँग पैचो माग्दै सरकार


काठमाडौं । कात्तिकदेखि पुससम्म युरिया र डीएपी गरेर एक लाख २० हजार मेटिक टन मल आवश्यक हुने आँकलन गरेको सरकार आफूले ठेक्का लगाएका ठेकेदारले मल नल्याएपछि बंगलादेशसँग पैँचो मागेर अभाव टार्न अग्रशर देखिएको छ । तर किसानहरु भने तस्करी र बिचौलियासँगको राजनीतिक साँठगाँठमा सधै मलखाद अभाव झेल्नुपरेको गुनासो गरिरहेका छन् । तत्कालका लागि बंगलादेशबाट ५० हजार मेट्रिक टन मल पैचो ल्याउने र बाँकी पनि जोहो गर्दै जानेगरी प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच युरिया मल माग्दै टेलिफोन भयो । हसिना मल पठाउन तयार रहेपनि कहिले आउने अझै एकिन भएको छैन ।

देशको तराईदेखी पहाडसम्मै मलखादको अभाव देखिदा कतिपय किसान ७५० मा पाइने मललाई २५ सयसम्म तिरेर किन्न बाध्य छन् । तर देशैभरका अधिकांश किसानहरु मल अभावमा धान लगायतका तरकारी बाली कसरी हुर्काउने फलाउने भन्ने चिन्तामा छन् । विगतदेखीकै मल अभाव र निरन्तर किसानले पाउँदै आएको सास्ती बारे सरकार बेखरब हुने कुरै थिएन् । यसैले मुख्य बालीका रुपमा लगाईने धान रोपाई अघि नै मलखादको जोहो गर्न भन्दै कृषि सामग्री कम्पनीले २५ हजार मेट्रिक टन युरियाका लागि २८ पुसमा र थप २५ हजार टनका लागि ४ माघमा टेण्डर आह्वान गर्यो । तर निर्माण क्षेत्रमा धेरै आयोजना अलपत्र पारेको शारदा अधिकारीको शैलुङ कन्ट्रक्सनले प्रतिटन ३२०.२५ डलरमा रासायनिक मल आयात गर्ने र अर्को कम्पनीका तर्फबाट ३०९.९० डलर प्रतिटनमा मल ल्याउने गरी ठेक्का लगाइएपनि दुबै कम्पनीले अहिलेसम्म आयात गर्न नसक्दा किसानहरु अभावमा खेतीबाली गर्न बाध्य छन् । ठेकेदार र कृषि सामग्री कम्पनीबीच निक्कै ढिला गरेर सम्झौता भएकै कारण धानखेतीका लागि जेठमा मल आयात हुन सकेन ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय र कृषि सामग्री कम्पनी लिमिटेडले समेत लकडाउनलाई कारण देखाएर मल आयातमा ढिलाइ हुने बताइरहेका थिए । कृषि सामग्री लिमिटेडको ठेक्कामार्फत तत्काल मल आउने अवस्था नदेखेपछि कृषिमन्त्रालयले अहिले पौचोमा मल ल्याएर किसानको अभाव टार्ने अनि सम्झौता अनुसार मल नल्याएका नेपाली ठेकेदारलाई क्षतिपूर्ति र भविष्यमासमेत अयोग्य हुनेगरी कारबाहीको तयारी थालेको छ ।

अनौठो त के छ भने पहिलो टेन्डरको मल ल्याउन नसकेको शैलुङलाई चालू आर्थिक वर्ष ०७७/७८ का लागि पनि २० हजार टन युरिया र ३० हजार टन डिएपी आयातका लागि छनोट गरिसकिएको छ । मल ल्याउन कृषि सामग्रीसँगै जिम्मा पाएको साल्ट टे«डिङले आफ्नो कोटाको २२ हजार पाँच सय टन युरिया टेन्डर गरेर गत जेठ पहिलो साता नै भारत ल्याएपनि लकडाउन र भारतसँग बढ्दै गएको कटुताका कारण रोकिएकोमा भदौ ८ बाट नेपाल भित्रिन थालेको छ । किसानहरु बर्षौदेखीको बिउबिजन र मलको समस्या राजनीतिकर्मी अनि बिचौलीयाकै साँठगाँठका कारण सरकारले समाधान गर्न नचाहेको आरोप लगाइरहेका छन् ।


क्याटेगोरी : अर्थ, खेती किसानी, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #युरिया र डीएपी, #रासायनिक मल

तपाईको कमेन्ट लेख्नुहोस्