आज गाईजात्रा मनाइदैं, हास्यकलाकारहरु बिसंगति बिरुद्ध प्रहार गर्दै

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइदै छ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन छ ।
नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ। राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ। प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ।
कलाकारहरु विकृतिका विरुद्ध प्रहार गर्दै
वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनितिक गतिविधिका नकारात्मक पक्षहरूलाई समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्गात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा शुरुवात गरिएको यो ब्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई छेड हान्ने चलनकारुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको ब्यङ्गप्रति रिसिबि र इख राख्न पाइदैन । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरु १० देखि १५ दिनसम्म चल्दछन् । व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो।
टिभी, रेडियो र पत्रपत्रिकासम्म यसअवधिभर गाईजात्रामय हुने गरेका छन् । आजको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । बिभिन्न मुखिण्डो र रङ्गीचङ्गी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा वितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरु ठाँउ र शहरमा पनि गाइजात्राको मनाइँदै आइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #गाईजात्रा, #चिरफार गर्ने चाड, #वर्षभरि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्