Techie IT
  • २९ असोज २०८१, मंगलबार
KhojPatrika

बैङ्कमा थुप्रियो पौने २ खर्ब रुपैयाँ, ब्याजदर घटाउने प्रतिस्पर्धामा बैंक


काठमाडौं । कोरोना भाइरसको महामारिका कारण नेपालका बैङ्कहरुमा रुपैयाँ थुप्रिएको छ । यतिबेला बैंकमा २ खर्ब रुपैयाँ भन्दा धेरै पैसा थुप्रिएको हो । कोरोना भाइरस कारण गरिएको लकडाउन र यसले समग्र अर्थतन्त्रमा परेको असरका कारण बैङ्कहरुमा तरलता अधिक देखिएको हो । तरलता बढ्दा बैङ्किङ क्षेत्र समस्या आउने त्रासमा छ भने उद्योगी व्यवसायीहरु तरलता अझै सहज भएर बैङ्कको कर्जाको ब्याजदर ओर्लिनुपर्ने पक्षमा देखिन्छन् । केही वर्ष अघिसम्म तरलता अभाव झेलिरहेका बैङ्कहरु यतिबेला लगानी गर्न आतुर छन् । तर, लगानी हुन नसकेर ठूलो रकम बैङ्कमा थुप्रिएको छ । अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ खिचेको छ । सात दिनमा परिपक्व हुने गरी केन्द्रीय बैङ्कले रिभर्स रिपो जारी गर्न लागेको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैङ्कले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । बजारमा तरलता अपुग भएको बेला राष्ट्र बैङ्कले रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ । बोलकबोलमा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आहृवान रकमसम्म बाँडफाँट गरिन्छ । रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरि तरलता खिचिएको हुन्छ । बैङ्कहरुले कहिले कर्जा दिन नपाएर समस्या झेल्नुपर्छ त कहिले भएको पैसा लगानी नभएर तनाव लिनुपर्छ । यसपाली बैङ्कलाई भएको पैसा ऋण लगाउन नपाएर समस्या भएको मात्रै छैन अधिक तरलताले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने देखिएको छ ।

तरलताकै कारण बैङ्कहरुले निक्षेपको व्याजदर घटाउदा बचतकर्ता प्रभावित हुने तथा कर्जाको व्याजदर घटेपनि लगानीयोग्य वातावरणको अभावमा अनुत्पादक क्षेत्रतर्फ लगानी प्रवाहित हुने डर रहन्छ । यता, व्यवसायीहरु भने बैङ्कमा तरलता बढेपछि उत्साहित देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले अहिले बैंकिङ प्रणालीमा १ खर्ब ८५ अर्ब रुपैयाँ तरलता रहेको जनाएको छ । शुक्रबार मात्र नेपाल राष्ट्र बैङ्कले २० अर्ब तरलता बजारबाट प्रशोचन गरेको छ । । यसअघि पनि राष्ट्र बैङ्कले साउन ८ गते २० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । बैङ्कहरुलाई लगानी गर्न बाध्यात्मक अवस्था सिर्जना गर्नका लागि तरलता नतान्ने भनेको केन्द्रीय बैङ्कले अन्ततः २ पटक गरेर ४० अर्ब तरलता तानिसकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैङ्कलेसेयर धितोमा एकल अंकको ब्याजदरमा ऋण दिने भएको छ । बैङ्कले नयाँ ब्याजदर सार्वजनिक गर्दै सेयर धितो ऋण ९.९९ प्रतिशतब्याजदरमा दिने भएको छ । यस्तै सुनचाँदी धितो, एसएमई र घर कर्जाको पनि ९.९९ प्रतिशत ब्याजदर तोकिएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको साउन ७ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको कर्जाको ब्याजदरमा सबैभन्दा धेरै ९.३२ प्रतिशत ब्याजदर लाग्नेछ । जेठ मसान्तसम्म बैङ्कको आधार दर ६.०७ प्रतिशत रहेको छ । यसमा अधिकतम ३.२५ प्रतिशत प्रिमियम थपेर बैङ्कले कर्जा दिएको छ । बैङ्कबाट ओभरड्राफ्ट, धितो कर्जा, औद्योगिक, व्यापारिक, हाउजिङ, रियल स्टेट, सुन, थोक, प्रत्यक्ष, कृषि, करार कर्जा, गाडी, शैक्षिक, सेयर धितो, मोर्टगेज कर्जा लिँदा ९.३२ प्रतिशत ब्याज लाग्ने छ । यता, न्यूनतम ०.५ प्रतिशत प्रिमियम थपमा पनि कर्जादिइएको छ । नबिल बैङ्कले ३६ औं वार्षिकोत्सव अवसर पारेर घर कर्जा, ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा विशेष छुट अफर ल्याएको जनाएको छ । बैङ्कले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । यसअन्तर्गत घर कर्जामा ७.९९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ ।

ग्लोबल आइएमई बैङ्कले आकर्षक ब्याजदरमा कर्जाप्रवाह गर्ने योजना ल्याएको छ । ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जालिन पाउनेछन् । यस कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहने बैङ्कले जनाएको छ । यसैगरी बैङ्कले ८.९९ प्रतिशत ब्यादरमा गाडी कर्जा र ९.४९ प्रतिशत ब्याजदरमा शेयरको धितो कर्जा प्रवाह गर्नेछ । एभरेष्ट बैङ्कले साउन ६ गतदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तसम्ममा बैङ्कको आधार दर ८.५ प्रतिशत रहेको छ । यसैमा प्रिमियम थप गरेर बैङ्कले कर्जाप्रवाह गर्दै आएको छ । बैङ्कले न्यूनतम १.२५ प्रतिशत देखि अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा दिएको छ । कर्पोरेट, साना मझौला कर्जार अन्यमा रेटिङमा न्यूनतम १.२५ प्रतिशत प्रिमियम थप गरेर अर्थात ९.३० प्रतिशत ब्याजदरमा कर्जा दिएको छ । अधिकतम १३.५ प्रतिशतसम्म ब्याज लिएको बैङ्कले जनाएको छ ।

एनसीसी बैङ्कले चैत मसान्तको आधारदर १०.३६ प्रतिशत लाई आधार मानेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यसमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर तय गरिएको छ । जस अनुसार बैङ्कबाट ऋण लिँदा १५.३६ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैङ्कबाट सेयर धितोकर्जा, होम लोन, शैक्षिक धितो कर्जा लगायत अन्य कर्जालिँदा १५.३६ प्रतिशत ब्याज लाग्नेछ ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #पौने २ खर्ब रुपैयाँ

तपाईको कमेन्ट लेख्नुहोस्