घाटामा रहेको नेपाल एयरलाइन्स सिध्याउने सरकारकै डिजाइन

काठमाडौं । घाटामा रहेको नेपाल एयरलाइन्स सिध्याउने खेलमा सरकार आफै लागेको आरोप लागेको छ । संस्थानमा एकपछि अर्को विवादित निर्णय गर्दे आएको सरकारले फेरि सञ्चालक समितिमा निजी कम्पनीका एक ब्यक्तीलाई नियुक्त गरेपछि एयरलाइन्स सिध्याउने खेलमा लागेको आरोप लागेको हो । अव्यवस्था र ऋणले थला परेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सरकारले यती समूहका व्यक्तिलाई नियुक्त गरेसंगै फेरी सरकार आलोचनाको शिकार हुन पुगेको छ । आन्तरिक रूपमा यती एयर र अन्तर्राष्ट्रिय उडानमा हिमालय एयरको रूपमा प्रतिस्पर्धा गरिरहेको कम्पनीकै प्रतिनिधिलाई नै निगमको बोर्डमा नियुक्त गर्नुले कतै निगमनै धरासायी बनाउने उदेश्यमा सरकार गएको त हैन भन्ने प्रश्न समेत अहिले चौतर्फी रुपमा उठेको छ ।
निगमको सञ्चालक समितिमा नियुक्त फुर्वाग्याल्जेन शेर्पा यती समूहबाट सञ्चालित हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरका अध्यक्ष समेत रहेका छन् । शेर्पासँगै सरकारले अर्का व्यवसायी डिमप्रकाश पौडेललाई बोर्डमा लगेको छ । ऋणमा डुब्दै आएको संस्थालाई उद्धार गर्नेभन्दा पनि निगमलाई कसरी कमजोर बनाउने भन्ने षड्यन्त्र हुँदै आएकोमा निगमभित्रै चर्चा चलेको छ । एउटै क्षेत्रको प्रतिस्पर्धी कम्पनीको सञ्चालकलाई सार्वजनिक संस्थानको सञ्चालक समितिमा राख्नु विद्यमान अबस्थामा उचित नभएको निगमकै कर्मचारीहरुले बताएपनि उनीहरु खुलेर भने बोल्न चाहादैन् ।
सरकारको लगानीमा चलेको निगम डुबाउने नयाँ खेल नै भएको अनुमान समेत गरिएको छ । यसअघि पनि यही सरकारले अल्टिच्युट एयरकै प्रबन्ध–निर्देशक निमानुरु शेर्पालाई बोर्डमा नियुक्त गरेको थियो । यती समूहको आन्तरिकतर्फ यती एयरलाइन्स, तारा एयर र अन्तर्राष्ट्रिय तर्फ हिमालय एयरलाइन्स सञ्चालनमा रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रीस्तरीय निर्णय गराएर दुई जनालाई निगम सञ्चालक बोर्ड सदस्यमा नियुक्ति गरेका थिए । पर्यटनमन्त्री योगेश भट्टराईले भने हामीले नियमसम्मत नियुक्ति गरेको बताउदै आएका छन् । निगमको विद्यमान ऐनमा निजी क्षेत्रको व्यक्ति भनिए पनि एयरलाइन्स सञ्चालकहरूका तर्फबाट प्रतिनिधि राख्ने व्यवस्था छैन ।
नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ मा निगम सञ्चालक समिति गठनसम्बन्धी व्यवस्था विपरित सो नियुक्ती गरेको पाईएको छ । ऐन अनुसार सरकारले आवश्यक देखेमा सञ्चालकमा वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्यातिप्राप्त वा उड्डयन तथा पर्यटन प्रवद्र्धनसम्बन्धी क्षेत्रमा अनुभव प्राप्त गैरसरकारी व्यक्तिलाई नियुक्त गर्न सक्ने भन्ने उल्लेख छ । तर, अनुभवी व्यक्ति भनिएकोमा सरकारले प्रतिस्पर्धी कम्पनीका सञ्चालकलाई नै सीधै ल्याएको सञ्चालक समितिमा नियुक्त गर्न पाउने व्यवस्था रहेको छैन । तत्कालीन पर्यटनमन्त्री कृपाशुर शेर्पाले निगम सञ्चालक समितिमा रहेका अशोक पोखरेल, अमर माली र टंकनाथ आचार्यलाई हटाएर यती समूहकै लगानीमा सञ्चालनमा रहेको अल्टिच्युड एयरका प्रबन्ध–निर्देशक निमानुरु शेर्पालाई नियुक्त गरेका थिए । तर, पोखरेल, माली र आचार्य सर्वोच्च अदालत गएपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन । पछि तीनैजनाको समय सकिएपछि यती समूहकै लबिङमा निमानुरु शेर्पाले सञ्चालक समितिमा नियुक्ति पाएका थिए । अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग चार र हिमालयसँग तीन जहाज रहेको छ । हिमालयले निगमसँग प्रतिस्पर्धा गर्दै १० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । यता अन्तरिक उडानमा निगमका ८ वटा जहाज भए पनि कुनै पनि जहाज ठीक हालतमा नभएकाले समयमा उडान भर्न सकेको छैन ।
निगमले चिनियाँ जहाजमध्ये वाई १२ ई जहाज पहाडी क्षेत्रमा उडान गर्ने गरी ल्याइएको भए पनि यतीकै एजेन्टहरू निगम सञ्चालक समितिमा बसेर उडान ठप्प बनाइ दिएको छ । नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा समेत पटक–पटक यती समूहका एजेन्ट नियुक्त हुदै आएका छन् । सरकारले विद्यमान ऐन नै संशोधन गराएर निजी क्षेत्रको प्रतिनिधि हटाउने निर्णय गरेपछि प्राधिकरणको सञ्चालक समितिका सदस्य रहेका हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले तत्कालिन समयमा राजीनामा दिएका थिए । सरकार किन यति कम्पनीका ब्यक्तीहरुलाई निरन्तर संरक्षण र नियुक्ती दिइरहेको छ भन्ने सबैलाई आश्चार्यमा परेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेपाल एयरलाइन्स
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्