बजेटको आकार घट्यो, आगामी वर्ष १४ खर्ब, ७४ अर्ब ६४ करोडको बजेट

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७\७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६\७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए । आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए । सरकाले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ५८ अर्ब बजेट घटाएको छ । विदेशी मुद्रा सञ्चिती ११ खर्ब ५६ अर्ब पुगेको छ । त्यसैगरी निर्यात १२ दशमलव ९ प्रतिशतले बढेको र आयात घटेको छ । चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको अर्थमन्त्रीले बताए । बिमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट बढेर ७० लाख पुगेको बताए । सामाजिक र आर्थिक क्षेत्रको प्रगति उत्साहजनक रहेको बताउँदै खतिवडाले विद्यालयमा भर्नादर बढेको बताए । कुल ग्राहस्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी रहेको उनले बताए ।
सरकारले काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाउने भएको छ । त्यस्तै सबै प्रदेशमा दुई सय शैय्याको अस्पताल बनाइने छ । स्वास्थ्य सेवामा खटिका स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न प्रोत्साहन भत्ता दिने घोषणा समेत सरकारले गरेको छ । स्वास्थ्यकर्मीलाई पाँच लाखको निशुल्क स्वास्थ्य बिमा गरिनेछ । हरेक प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाउने घोषणा गर्दै सरकारले प्रत्येक स्थानीय तहमा १५ बेडसम्मको अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेको छ । कोरोना भाइरसलगायत संक्रामक रोग र अरु रोगसँग लड्दै जनजीवन सामान्य अवस्थामा पुर्याउने उद्देश्य सरकारले राखेको छ ।
स्वास्थ्य जोखिमबाट सुरक्षित राख्न स्वास्थ्य क्षेत्रको दायर विस्तार गर्ने, जनशक्ति विस्तार गर्ने, संक्रमण रोकथाम नियन्त्रणका लागि चालिएको कदम बढाउने उद्देश्य सरकारको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बजेट ९० अर्ब ६९ करोड छ्ट्टाएको छ । सरकारले ज्येष्ठ नागरिकलाई दिइदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर रहने जानकारी दिएको छ । सामाजिक सुरक्षाका लागि ६७ अर्ब ५० करोड रुपैया विनियोजन भएको छ । कोरोनाबाट अर्थतन्त्र आहात बने पनि सामाजिक सुरक्षा भत्तामा कटौती गरिएको छैन् । वृद्ध, अशक्त, एकल महिला लगायतले सामाजिक भत्ता पाउनेछन् । ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको उपचार खर्च सरकारले व्यहोर्ने छ । त्यस्तै ४ लाख विपन्न परिवारले निशुल्क रुपमा स्वास्थ्य बिमा गराउनेगरी बजेटको व्यवस्था गरेको छ । गरिब परिचयपत्र वितरण आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने बजेटमा उल्लेख गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्दै यस कार्यक्रमबाट दुई लाख रोजगारी सिर्जना गर्ने उल्लेख छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गरिएको कारण दैनिक जनजीवनमा परेको प्रतिकूल प्रभावलाई सहज तुल्याउन सरकारले ल्याएको तत्काल राहत कार्यक्रमलाई संक्रमण जोखिम रहँदासम्म निरन्तरता दिइने छ । घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको छ ।
गत आर्थिक वर्ष बाली तथा पशुपन्छी विमा कार्यक्रम अन्तर्गत लाग्ने विमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो। आगामी आर्थिक वर्षमा यसको दायरा थप गरिएको छ । कृषि अनुदान पुनरावलोकन गरी संघ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने व्यवस्था छ । उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको छ । त्यस्तै सरकारले फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख, सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट छुट्याएको छ । ३ सय स्थानीय तहमा भूमी बैंक स्थापना गरिनेछ । भूमी बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट विनियोजन गरिएको छ । सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने जनाएको छ । यस आयोजनालाई सरकारले आगामी आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै सुनकोशी मरिन सिँचाइ आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो क्षेत्रमा चालु आर्थिक वर्षका लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरिएको थियो । त्यस्तै राष्ट्रपति शैक्षिक कार्यक्रममा ६ अर्ब विनियोजन गरिएको छ । कोरोनाबाट प्रभावित पढाइलाई भर्चुअल, अनलाइन, रेडियो टेलिभिजन कक्षा सञ्चालन गरेर अघि बढाइने छ । १ हजार ८ सय भवन र ३८ आंगिक क्याम्पस भवन स्थापना गर्न बजेट विनियोजन गरिएको छ । बजेटमा छात्रवृतिलाई एकीकृत रुपमा लैजाने र यसबाट २६ लाख छात्रछात्रा लाभान्वित हुने गरी २ अर्ब ७० करोड विनियोजन गरिएको छ । देशभर दिवा खाजा कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि ७ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको छ। यसबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन् । निःशुल्क पाठ्यक्रमका लागि २ अर्ब ७६ करोड पनि विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बजेट सार्वजनिक
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्