नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक काठमाडौँमा

काठमाडौं ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधबारबाट काठमाडौँमा सुरु हुँदै छ । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो। यो बैठक दुई दिन चल्ने छ । त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरावलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौँ बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौं बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्वकासाथ लिएका छन्। अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल आए लगत्तै बैठक आरम्भ हुने छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै आयोगको बैठक शुभारम्भ हुने मन्त्रालयले बताएको छ । बैठक सञ्चालका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी कार्य्विभाजन गरिएको छ । बैठकका कार्यसूचीमध्ये पहिलोमा राजनीतिक र सीमा सुरक्षा, दोस्रो सञ्चार सञ्जाल र आर्थिक समृद्धि, तेस्रो व्यापार र पारवहन, चौथोमा ऊर्जा र जलस्रोत तथा संस्कृति र विविध विषय रहने छ। यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत् योजनालगायतका एक दर्जनभन्दा बढी नवीन विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ । नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकको सुरुआत सन् १९ सय ८७ देखि सुरु भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #nepal india
तपाईको कमेन्ट लेख्नुहोस्