Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

सुन तस्करीमा भिआईपीको कनेक्सन, सिआईवी प्रमुख नै अनुसन्धानको दायरामा !


काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिबेदनले पूर्वसभामुख कृष्णबहादुर महरासहितका ब्यक्तीहरुलाई मुद्धा चलाउन सिफारिस गरेको छ । पटक–पटक सुन तस्करीमा नाम जोडिएको आरोप लागेका महरालाई सिआईवीले भने बचाएको थियो । तर, आयोगले सिआईवीको प्रमुखसहित ४ प्रहरी अधिकृतलाई पनि विभागिय कारवाही गर्न सिफारिस गरेको छ । ६० किलो सुन र भेप प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले थप ७ जनालाई पूरक अभियोग लैजान सिफारिस गरेको हो । आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । ठमेलस्थित चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ । मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन प्रतिबेदन मार्फत सिफारिस गरिएको छ ।

अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । गुरुङ अहिले १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । उनको संलग्नता ६० किलोमा पनि देखिएको आयोगको जाँचबुझ निष्कर्ष छ । सुबु केसीलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । केसी पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साथी हुन् ।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्य सहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस पनि गरेको छ । त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागिय कारबाही गर्न आयोगले बुझाएको प्रतिबेदनमा उल्लेख छ ।

त्यस्तै, आयोगले सहसचिव झलकराम अधिकारीलाई पनि विभागीय कारबाहीको लागि सिफारिस गरेको छ । अधिकारी हाल नेपाल ट्रस्टको कार्यालयमा प्रवक्ताको भूमिकामा छन् । ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ । दावासँग अधिकारीले ह्वाट्स एपमा शङ्कास्पद कुराकानी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पनि खुलेको थियो । तर, राजनीतिक शक्तिकेन्द्रको दबाबमा सीआईबीले उनलाई सरकारी साक्षी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

भीमकान्त भण्डारीलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । विध ल्याबका सञ्चालक भण्डारीलाई यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘बयान कागज’ गराएर छाडेको थियो । त्यस्तै, आयोगले त्रुटिपूर्ण अभियोजन गरेको आरोपमा सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता बासुदेव शर्मा र जनक घिमिरेलाई कारबाहीको सिफारिस भएको छ ।

असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि बुझाएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पूर्वसभामुख कृष्णबहादुर, #सुन तस्करी

तपाईको कमेन्ट लेख्नुहोस्